ललितपुर गुठी प्रमुख काफ्लेलाई मुख्यालय बोलाइयो

3.1k
Shares

– ललितपुरका सीडीयो, मन्त्रालय र गुठी संस्थान र सुरक्षा निकायसहितको बैठक सकियो
– चोर पत्ता नलागेसम्म निरन्तर दबाब जारी राख्ने अभियन्ताको अडान
– असार ३ गतेको जात्रा नरोक्न ललितपुरका सीडीयो घिमिरेको आग्रह

ललितपुर ।

रातो मच्छिन्द्रनाथको रथजात्राको क्रममा धमाको दायाँबायाँ राखिने धमाको दायाँतर्फको हिटीमंग हराएको विषयमा छानबिन गर्न गुठी संस्थान मुख्यालयले ललितपुरका शाखाका प्रमुख लक्षुणा काफ्लेलाई केन्द्रीय कार्यालय बोलाइएको छ । संस्थानले केही दिनअघि काफ्लेलाई केन्द्रीय कार्यालयमा बोलाएको हो ।
गुठी संस्थानका प्रवक्ता एवं मुख्य कानुन अधिकृत जनक पोखरेलले छानबिनको लागि संस्थानमा बोलाइएको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो – ‘उहाँलाई केन्द्रीय कार्यालयमा बोलाइएका छौं, हिटीमंग हराएको विषयमा छानबिन भइरहेको छ ।’

सरोकारवाला, अभियन्तालगायतले उक्त प्रकरणको छानबिन गर्न संस्थानको ललितपुर शाखा प्रमुख काफ्ले, स्टोरका कर्मचारी दीपक खवासलगायतलाई फिर्ता बोलाउनुपर्ने माग राखेका थिए । सोही मागअनुसार शाखा प्रमुख काफ्लेलाई मुख्यालयमा फिर्ता बोलाएको सम्पदा संरक्षण महाअभियानका अभियन्ता रवि कायस्थ (टम एन्ड जेरी)ले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कार्यालय प्रमुखमात्र होइन सबै कर्मचारीलाई फिर्ता बोलाएर छानबिन गर्नुपर्छ । हिटीमंग चोरी गर्ने पक्राउ नगरेसम्म हामी लगातार विरोध जारी राख्नेछौं ।’
हिटीमंग चोरी भएको विषयमा छलफल गर्न ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले हिजो सोमवार बैठक बोलाउनुभएको थियो ।

बैठकमा मन्त्रालयको तर्फबाट अभिषेक श्रेष्ठ, गुठी संस्थानका धु्रव घिमिरे, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटी, सम्पदा संरक्षण महाअभियानका अध्यक्ष सुनिल प्रजापति, यल नेवाः सामाजका महासचिव सञ्जय शर्मा राजोपाध्याप, सुशील श्रेष्ठ, रामवादेलगायतको अभियन्ताको उपस्थिति थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी घिमिरेले असार ३ गतेको रथयात्रा सुचारु गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभएको थियो । बैठकमा बोल्दै सीडीयो घिमिरेले चोरी भएको भनिएको मंगहिटी तत्काल खोजी गर्न सबै निकायलाई निर्देशन दिनुभयो । साथै उहाँले जात्रा सञ्चालन गर्ने विषयमा कुनै अवरोध नगर्न आग्रह गर्दै सरकारले सबै सुरक्षा संयन्त्र प्रयोग गरेर भए पनि खोजी जारी राख्ने बताउनुभयो ।

जात्रा सुरु गर्ने विषयमा आफूहरूको कुनै विमति नभएको तर हिटीमंग चोरी गर्नेमाथि छानबिन नगरेको विषयमा आफूहरूको आपत्ति रहेको जिकिर गर्दै अभियन्ता शाक्यले रथयात्राको अघिल्लो दिनसम्म चोर पत्ता नलागे कालो पट्टी बाँधेर आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

वैशाख ८ मा हराएको हितीमंग नभेटाएपछि ललितपुर प्रहरीको टाउको दुखाइ भएको छ । सरोकारवाला निकायले गुठीसंस्थानको कर्मचारीको कमजोरीको कारण हिटीमंग हराएको हुनसक्ने आशंका गरेका छन् । वैशाख ५ गते राथारोहण भएको थियो । त्यसको तीनदिनपछि ८ गते रथ तान्ने क्रममा खोजिनीति भयो खोजबिन गर्दा भेटिएको थिएन ।

अभियन्ता रविन्द्र महर्जनले हराएको हिटीमंग खोजी कार्यलाई तीव्रता दिनपर्ने, गुठी संस्थान ललितपुरमा कार्यालयमा कार्यरत सबै कर्मचारीलाई निलम्बन गरी विभागीय कारबाही गर्नुपर्ने, केन्द्रीय कार्यालयले छानबिन समिति गठन गरी उक्त छानबिन समितिले निष्पक्ष छानबिन गरी दोषिलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राख्नुभएको छ ।

उहाँले गुठी संस्थानको भण्डारमा भएका जात्रापर्वका विभिन्न सरसामान एवं गरगहनाको सूची बनाई चुस्त दुरुस्त अभिलेख राख्नुपर्ने र विभिन्न सरकारी निकायबीच समन्वय गरेर तस्बहालस्थित गुठी संस्थान कार्यालयको भवन निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभएको छ । रातो मच्छेन्द्रनाथको बारेमा निरन्तर खोज अनुसन्धान जारी राख्नुभएका अभियन्ता महर्जनले सरोकारवाला सबै निकायको सामूहिक माग भएको उल्लेख गर्नुभयो । उहाँले गुठीसंस्थान, यंवाल, बाराही, पानेजु, ज्यापु समाज, ललितपुर महानगरपालिकालगायत निकायले गम्भीरताका साथ खोजबिनमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

हराएको मंगहिटी खोजी गर्न आग्रह गर्दै पर्यटन मन्त्रालय, पुरातत्व विभाग, गुठी संस्थान, गृहमन्त्रालय, जिल्लाका सबै निकायमा मौखिक र लिखित जानकारी गराउँदासमेत केही पनि पत्ता लगाउन नसकिनु बिडम्बना भएको टिप्पणी गर्दै अभियन्ता महर्जनले भन्नुभयो– ‘अति भइसकेको छ, तत्काल चोर पत्ता लगाउने काम सरोकारवाला सरकारी निकायले गरोस् ।’

अभियन्ता सुनिल प्रजापतिले हिटीमंग तत्काल खोजी गर्न माग गर्दै भन्नुभयो– ‘महिनांै बितिसक्दा पनि सरोकारवाला सरकारी निकाय चुप लागेर बस्दा हामीलाई अचम्म लागेको छ । अब यो वा त्यो वहाना नगरी खोजीकार्यलाई तीव्रता दिनुपर्छ ।’

यलः नेवा समाजको महासचिव सञ्जय शर्मा राजोपाध्यायले यस्तो गम्भीर विषयलाई हल्का रूपमा नलिन आग्रह गर्दै चोर समात्न बिलम्ब गर्न नहुने बताउनुभयो ।