लिखत किर्ते मुद्दामा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह पक्राउ


वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। उनलाई पर्साको ठोरी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले मेयर सिंह पक्राउ परेको पुष्टि गरेका छन्। प्रहरीका अनुसार मेयर सिंहविरुद्ध लिखत किर्ते गरेको आरोपमा पर्सा जिल्ला अदालतले यसअघि नै पक्राउ पुर्जी जारी गरेको थियो।

अदालतको आदेशअनुसार प्रहरीले खोजी गर्दै आएको अवस्थामा उनलाई ठोरीबाट नियन्त्रणमा लिइएको हो। यस प्रकरणमा मेयर सिंहसहित अन्य तीन जनाविरुद्ध स्थानीय लियाकत अलीले जाहेरी दिएका थिए। जाहेरीका आधारमा अनुसन्धान अघि बढेपछि अदालतबाट पक्राउ अनुमति जारी भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मेयर सिंहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि पर्सा ल्याइँदै गरिएको प्रहरी स्रोतले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। लिखत किर्तेसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेकाले अन्य आरोपितमाथिको कारबाही प्रक्रिया पनि अगाडि बढाइएको प्रहरीले जनाएको छ।