साइबर ठगीमा संलग्न १५ बंगलादेशी नागरिक पक्राउ


काठमाडौं ।

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

नेपालको कानुनविपरीत विदेशी नागरिकहरू संगठित रूपमा साइबर ठगी तथा ब्ल्याकमेलिङ गतिविधिमा संलग्न रहेको गोप्य सूचनाका आधारमा प्रहरीले गरेको अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पकनाजोलस्थित एक होटलको चौथो, पाँचौं र छैटौं तल्लामा कोठा भाडामा लिएर बसेका ती विदेशी नागरिकहरू अवैध गतिविधिमा संलग्न रहेको फेला परेको थियो ।
अनुसन्धानका क्रममा उनीहरूले विदेशी महिला मोडल तथा युवतीहरूको तस्बिर प्रयोग गरी नक्कली (फेक) फेसबुक अकाउन्ट सञ्चालन गर्ने, सामाजिक सञ्जालमार्फत विशेष गरी बंगलादेशी र भारतीय नागरिकहरूसँग मित्रता गाँस्ने, व्यक्तिगत तथा संवेदनशील सामग्री संकलन गर्ने र त्यसपछि ब्ल्याकमेल गरी रकम असुल्ने गरेको फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ गरेकामध्ये अधिकांशको उमेर १९ देखि ३० वर्षबीच रहेको जनाएको छ । उनीहरू सबै भिजिट भिसामा नेपाल प्रवेश गरेको र एउटा गिरोह नै बनाएर उक्त काम गरेको प्रहरीले दाबी गरेको छ । तर, नेपाल बसाइका क्रममा उनीहरूले भिसाको उद्देश्यविपरीत संगठित रूपमा साइबर अपराधजन्य गतिविधि सञ्चालन गरेको प्रहरीले दाबी गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू बंगलादेशका विभिन्न जिल्ला तथा प्रान्तका नागरिक हुन् । उनीहरू लामो समयदेखि काठमाडौंमा बसेर सामाजिक सञ्जालमार्फत लक्षित व्यक्तिहरूसँग सम्पर्क विस्तार गर्ने, भावनात्मक सम्बन्ध स्थापित गर्ने र पछि धम्की तथा दबाबमार्फत रकम माग्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पक्राउ परेका १५ जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ । उनीहरूमाथि अध्यागमन ऐनअन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पछिल्लो समय नेपाललाई ट्रान्जिट तथा सञ्चालन केन्द्र बनाएर विदेशी नागरिकहरू साइबर अपराध, अनलाइन ठगी, डिजिटल ब्ल्याकमेलिङ तथा संगठित अपराधमा संलग्न हुने क्रम बढ्दै गएको भन्दै निगरानी कडा पारिएको जनाएको छ ।

सुरक्षा अधिकारीहरूका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरी गरिने यस्ता ‘हनी ट्रयाप’ तथा साइबर ठगीका घटनाले अन्तरदेशीय अपराधको रूप लिन थालेकाले सम्बन्धित निकायबीच समन्वय गरेर अनुसन्धान अगाडि बढाइएको छ ।