‘वाका वाका’ को गर्जनदेखि ‘दाइ दाइ’ को नयाँ क्रेजसम्म !

0
Shares

विश्व फुटबलको महाकुम्भ र संगीतको दुनियाँ जब एक ठाउँमा उभिन्छन्, तब त्यहाँ एउटा यस्तो तरंग बहन्छ जसले सारा संसारलाई आफ्नो लयमा नचाउँछ । सन् २०१० को त्यो ऐतिहासिक क्षण सायदै कसैले भुल्न सक्छ । जब पहिलोपटक अफ्रिकी भूमिमा विश्वकपको बिगुल फुकिएको थियो । जोहानेसबर्गको रंगशाला रंगीन जर्सी, बाजागाजा र भुभुजेलाको कानै खाने गर्जनले थर्किएको बेला स्टेजमा एउटा यस्तो सुन्दरीको प्रवेश भयो । जसको एउटै कम्मरको झट्का र जादुमयी आवाजले अर्बौँ मानिसको ढड्कन रोकिदियो । ती थिइन्, ल्याटिन पप क्वीन शाकिरा र उनको त्यो सदाबहार गीत थियो “वाका वाका (डिस टाइम फोर अफ्रिका)”। त्यो केवल खेलकुदको एउटा आधिकारिक गीत मात्र थिएन, बल्की फुटबल इतिहासकै सबैभन्दा ठूलो सांस्कृतिक भूकम्प थियो । जसको कम्पन आज १६ वर्षपछि पनि उत्तिकै ताजा महसुस हुन्छ ।

क्यामरुनको एउटा सैनिक मार्च गीत “त्सा मिना मिना जाङ्गालेवा” बाट प्रेरित यो गीतले केवल संगीतको रेकर्ड मात्र तोडेन, यसले संघर्ष, ऊर्जा र कहिल्यै हार नमानी अगाडि बढ्ने मानवीय दृढताको नयाँ परिभाषा लेख्यो । अफ्रिकी ताल र ल्याटिन पपको त्यो दुर्लभ फ्यूजन अनि शाकिराको सिग्नेचर डान्स स्टेप यति भाइरल भयो कि संसारको जुनसुकै कुनामा बस्ने मानिस पनि अनियन्त्रित भएर झुम्न थाल्यो । जब विशाल रंगशालामा हजारौँ झण्डाहरू फर्फराइरहेका हुन्थे र शाकिराको स्वर सुरु हुन्थ्यो, तब लाग्थ्यो पूरै ब्रह्माण्ड एउटै धुनमा नाचिरहेको छ । सन् २०१० को विश्वकप स्पेनले जितेको भए पनि आज धेरैका लागि त्यो विश्वकप दुईवटा कुराका लागि मात्र चिनिन्छ, एउटा स्पेनले उचालेको सुनौलो ट्रफी र अर्को शाकिराले मच्चाएको ‘वाका वाका’ को सनसनी !

समय बदलिएको छ, पुस्ता फेरिएको छ, तर फुटबलको दुनियाँमा शाकिराको त्यो अद्वितीय राज भने अझै सकिएको छैन । अहिले सन् २०२६ को विश्वकपले संसारलाई फेरि नयाँ उत्साहमा डुबाउँदै गर्दा पप ¥यापिडिटीकी तिनै भ्याम्पायर सुन्दरी शाकिरा पुनः विश्वकपको स्टेजमा एउटा नयाँ धमाकासहित फर्किएकी छन् । यसपटक उनले नाइजेरियाली सुपरस्टार बर्न ब्वाइसँग मिलेर नयाँ अफिसियल एन्थम “दाइ दाइ” पस्किएकी छन् । जसले रिलिज हुने बित्तिकै इन्टरनेट र सामाजिक सञ्जालमा तहल्का मच्चाउन सुरु गरिसकेको छ । फिफाका अनुसार यो गीत बहुसांस्कृतिक विश्व, असीमित ऊर्जा र विश्वव्यापी एकताको नयाँ उत्सव हो, जसको आम्दानीको एउटा ठूलो हिस्सा विपन्न बालबालिकाको शिक्षाका लागि अन्तर्राष्ट्रिय कोषमा जानेछ ।

“दाइ दाइ” सार्वजनिक भएसँगै अहिले विश्वभरका संगीत र फुटबल प्रेमीहरूबीच एउटा रोचक बहस र रोमाञ्चक युद्ध सुरु भएको छ । के यो नयाँ गीतले २०१० को त्यो ऐतिहासिक ‘वाका वाका’ को जादुमयी रेकर्ड र क्रेजलाई तोड्न सक्लान त ? सन् १९९८ मा रिकी मार्टिनको “कप अफ लाइफ” ले मच्चाएको हंगामा होस् वा शाकिराको यो नयाँ सिर्जना, विश्वकपका गीतहरू केवल संगीत मात्र नभएर एउटा पूरै युगको सनसनीपूर्ण स्मृति बन्ने गर्छन् । फरक समय र फरक रंगशाला भए पनि जब फुटबलले संसारलाई एक ठाउँमा ल्याउँछ, तब संगीत नै त्यसको साझा र शक्तिशाली भाषा बन्छ । इतिहासको यो सुनौलो पानामा शाकिरा फेरि एकपटक संगीतकी सबैभन्दा सुन्दरी र सफल कूटनीतिज्ञ बनेर अग्रपंक्तिमा उभिएकी छिन्, जसको नयाँ धुनमा झुम्न अहिले सारा संसार हतारिएको छ ।