हिमालय एयरलाइन्सको काठमाडौं-सेन्जेन सिधा उडान २१ गतेदेखि, सातामा दुईवटा


काठमाडौं।

हिमालय एयरलाइन्सले काठमाडौं- सेन्जेन – काठमाडौं सिधा उडान गर्ने भएको छ।कम्पनीले चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात सेन्जेनमा जेठ २१ गतेदेखि काठमाडौंबाट सिधा उडान गर्ने भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेन्जेनस्थित सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा साप्ताहिक रुपमा दुई वटा उडान गर्ने हिमालय एयरलाइन्सले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

कम्पनीका अनुसार काठमाडौंबाट सेन्जेनका लागि प्रत्येक मंगलबार र बिहीबार उडान हुनेछ । जहाज सेन्जेनबाट बुधबार र शुक्रबार काठमाडौं फर्किनेछ। यात्रुको मागका आधारमा उडान थप्ने कम्पनीले जनाएको छ ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ बजारको खोजी गर्ने क्रममा सेन्जेनमा उडान गर्न लागेको बताए ।‘हिमालय एयरलाइन्सले चीनमा नयाँ नयाँ गन्तव्य खोज्दै नियमित उडान सञ्चालन गर्दै आएको छ। नयाँ बजार खोज्न हाम्रो योगदान उल्लेखनीय छ । काठमाडौं-सेन्जेन – काठमाडौं रुटमा उडानले दुई राष्ट्रमा पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने हाम्रो विश्वास छ।’