अफ्रीकी फुटबल जगत्को एउटा दुर्लभ घटना

0
Shares

फुटबलको मैदानमा कतिपय घटनाहरु यस्ता हुन्छन्, जसले हलिउडको कुनै रोमाञ्चक र काल्पनिक सिनेमालाई पनि फिका बनाइदिन्छन् । त्यस्तै एउटा अविश्वसनीय, सनसनीपूर्ण र भावनाले ओतप्रोत घटनाको नायक हुन्, जाम्बियाका लिजेन्ड फुटबलर कालुशा ब्वाल्या । मैदानभित्र जादुमयी खुट्टाका धनी तर भाग्यको खेलमा कतिपय स्थानमा अभागी सावित भएका ब्वाल्याको जीवन एउटा यस्तो विरोधाभासपूर्ण यात्रा हो, जसले मानिसलाई स्तब्ध बनाउँछ । सन् १९८८ मा ‘अफ्रिकन फुटबलर अफ द इयर’ को प्रतिष्ठित उपाधि जित्ने दक्षिण अफ्रिकाकै एक मात्र खेलाडी ब्वाल्या जाम्बियाका सर्वकालीन महान् फुटबलर हुन् । उनको व्यक्तिगत खेल कौशल यति लोभलाग्दो थियो कि उनी मैदानमा उत्रिँदा विरोधी टोलीका रक्षकहरू सातो जान्थ्यो ।

तर, जाम्बियाका लागि सर्वाधिक गोलकर्ता बनेर इतिहास रचे पनि उनले खेलाडीका रूपमा कहिल्यै ‘अफ्रिका कप अफ नेसन्स’ (एफकोन) को सुनौलो ट्रफी चुम्न पाएनन् । सन् १९९४ को फाइनलमा उपाधि नजिक पुगेर पनि पराजित हुनुपर्दाको त्यो हृदयविदारक क्षण उनको खेलाडी जीवनको सबैभन्दा ठूलो पीडा बन्यो । तर, ब्वाल्याको जीवन केवल खेल र हारको साक्षी मात्र होइन, मृत्युलाई जितेर शून्यताबाट साम्राज्य खडा गरेको एउटा अद्भूत सनसनी पनि हो । सन् १९९३ को त्यो कालो दिन, जसले जाम्बियाली फुटबलको सम्पूर्ण अस्तित्व नै नामेट पारिदिएको थियो । जतिबेला राष्ट्रिय टोलीका सबै खेलाडी र अफिसर बोकेको विमान गेबोनमा दुर्घटनाग्रस्त भयो । त्यस घटनामा परेर जाम्बियाको सिङ्गो टोली सखाप भयो ।

तर, ब्वाल्या भने चमत्कारिक रूपमा बाँचे । उनी आफ्नो युरोपेली क्लबबाट सिधै खेलस्थलतर्फ उडेका कारण त्यो दुर्घटना भएको विमानमा सवार थिएनन् । आफ्नो टिमका सहकर्मीहरू गुमाउनुको त्यो असीमित पीडा छातीमा दबाएर उनले जाम्बियाली फुटबललाई पुनर्जीवन दिने कसम खाए । खेलाडीका रूपमा जुन सपना अपुरो रह्यो, त्यसलाई पूरा गर्न ब्वाल्याले फुटबल प्रशासकको नयाँ अवतार धारण गरे । अनि जाम्बिया फुटबल संघ (फाज) को अध्यक्षको कुर्सी सम्हाल्न आइपुगे । अनि सुरु भयो जाम्बिया फुटबल इतिहासकै सबैभन्दा रोमान्चक र भावनात्मक बदलाको अध्याय ।

सन् २०१२ मा ब्वाल्याको कुशल नेतृत्वमा जाम्बियाको राष्ट्रिय टोली ‘चिपोलोपोलो’ ले फुटबल इतिहासकै सबैभन्दा ठूलो उलटफेर गर्दै गेबोनको लिब्रेभिलमा एफकोनको ऐतिहासिक च्याम्पियनसिप जित्यो । यो केवल एउटा उपाधि मात्र थिएन, यो त सन् १९९३ मा आफ्ना दिवङ्गत साथीहरूले ज्यान गुमाएको देशमा रचिएको एउटा भव्य र भावुक श्रद्धाञ्जली थियो । खेलाडीका रूपमा असफल भएका ब्वाल्याले फुटबल संघको अध्यक्ष बनेर देशलाई इतिहासकै सबैभन्दा ठूलो गौरव दिलाए ।

यद्यपि, शक्तिको यो स्वर्णिम दौड सधैं एकनास रहेन र सन् २०१६ मा एक कडा चुनावी टक्करमा व्यापारी एन्ड्रयू कामान्गासँग १ सय ६३ का विरुद्ध १ सय ५६ मतको झिनो अन्तरले पराजित हुँदै उनले तेस्रो कार्यकालको अवसर गुमाए । उनको बहिर्गमनपछि पनि नयाँ नेतृत्वले उनलाई खलनायक बनाउन नसकिने भन्दै उनको सम्मान ग¥यो । आज उनी प्रशंसक र आलोचकहरूका बीच एक विवादास्पद तर निकै सम्मानित व्यक्तित्वका रूपमा उभिएका छन् । जसले खेलाडीका रूपमा अधुरो रहेको सपना र अध्यक्षका रूपमा पाएको अभूतपूर्व सफलताको यो विरोधाभासी वास्तविकता अफ्रिकी फुटबलकै सम्झनलायक इतिहास बनेर जीवित छ ।