करिब साठी वर्ष पुरानो स्कुलमा सात जना विद्यार्थी

564
Shares

उदयपुर ।

 उदयपुर जिल्लाको साविकको ताम्लिछा २ र हालको पनि लिम्चुङबुङ २ स्थित आम्बोटे आधारभूत विललय स्थापना भएको करिब ६० वर्ष पुग्न लागेको भएपनि सो विद्यालयमा अहिले ७ जना विद्यार्थी मात्र रहेको र यसरी विद्यार्थी घट्नुको कारणमा अभिभावकहरु सुविधा युक्त ठाउँमा बसाइसराई गर्नु रहेको छ ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिका– २ ताम्लिछामा रहेको आम्बोटे आधारभूत विद्यालय विद्यार्थी विहीन हुने अवस्थामा पुगेको छ । तीव्र बसाइँसराइका कारण गाउँ नै खाली हुन थालेपछि चालू शैक्षिक सत्रमा यस विद्यालयमा नयाँ विद्यार्थी दुईजना आएका छन् । यस अघिका पाँचसहित सात विद्यार्थी छन् । ०२६ मा स्थापना भएको यस ५७ वर्ष पुरानो विद्यालयमा शिक्षक विद्यार्थी कुरेर बस्न बाध्य छन् । विद्यालयका प्रधानाध्यापक सन्ताप राईका अनुसार हाल आधारभूत विद्यालय आम्बोटेमा बालविकास कक्षामा तीनजना तथा कक्षा ४ र ६ मा दुई–दुईजना विद्यार्थी अध्ययनरत छन् ।

०७५ अघिसम्म १२५ जनासम्म विद्यार्थी थिए । तर, अहिले यहाँको बस्ती नै बसाइँ सरेर अन्यत्र गएपछि विद्यालय विद्यार्थी विहीनजस्तै बनेको हो । विद्यालयमा प्रधानाध्यापक राईसँगै अर्की शिक्षिका युनिसा राई कार्यरत छिन् । दुवैजना स्थायी दरबन्दीका शिक्षक हुन् भने एकजना कार्यालय सहयोगी माया विक पनि कार्यरत छिन् ।

कच्ची संरचनाका चारवटा भवनमा झन्डै १० कोठा छन् । ‘अब यस विद्यालयमा अन्य विद्यालय गाभ्ने वा समायोजन गर्ने हो भने राम्रो हुन्छ । नभए म त स्थायी शिक्षक हुँ, सरकारले जहाँ पठाउँछ, त्यहीँ जान्छु । आधारभूत विद्यालय आम्बोटेको वरिपरिका विद्यालयलाई यहाँ समायोजन गर्दा भवन पनि राम्रो छ, अन्य विद्यालयको तुलनामा जग्गा पनि उपयुक्त छ,’ उनले भने ।

लिम्चुङबुङ गाउँपालिका– २ का वडाध्यक्ष जितेन राईले पनि उक्त विद्यालयमा विद्यार्थी संख्या घट्नुको मुख्य कारण बसाइँसराइ भएको बताए । ‘उक्त क्षेत्रबाट झन्डै सयभन्दा बढी घरपरिवार बसाइँ सरेर अन्यत्र गएपछि समस्या भएको हो । हाल त्यस क्षेत्रमा १० देखि १५ घर मात्र बाँकी छन् । अब विद्यालय समायोजन गर्नुको विकल्प छैन, तर भौगोलिक कठिनाइ देखिन्छ,’ उनले भने ।

उनका अनुसार उक्त आधारभूत विद्यालय आम्बोटेबाट माध्यमिक तह अध्ययन गर्न उकालो बाटो हुँदै करिब तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । ‘अब त्यस विद्यालयबाट कक्षा नौ पढ्न महेन्द्रदीप माध्यमिक विद्यालय ताम्लिछा आइपुग्नुपर्छ, जुन करिब तीन घण्टाको दूरीमा पर्छ,’ उनले भने ।