नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ औँ वार्षिकोत्सवको अवसरमा चीनको हुनान प्रान्तमा २०२६ नेपाल एभरेष्ट फिल्म फेस्टिभल सम्पन्न गरिएको छ। गत अप्रिल १४ देखि १९ सम्म छाङ्शा र हेङयाङ सहरमा छाया र छविको संगम, हिमालको साझा शीर्षकमा सम्पन्न महोत्सवलाई चीनमा नेपाली फिल्मको पहिलो ठूलो स्तरको आधिकारिक प्रदर्शनका रूपमा हेरिएको छ।

महोत्सवमा सहभागी हुन एभरेष्ट फिल्म फेस्टिभलका अध्यक्ष करूण थापाको नेतृत्वमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी), फिल्मकर्मीहरू रामबाबु गुरुङ, दीपकराज गिरी, प्रदीप भट्टराई, रवीन्द्रसिंह बानियाँ, जनकदीप पराजुली, शंकर घिमिरेलगायतको प्रतिनिधिमण्डल चीन पुगेको थियो। टोलीले चिनियाँ फिल्मकर्र्मी, व्यवसायी र दर्शकसँग अन्तरक्रिया गर्दै दुई देशबीचको फिल्म तथा सांस्कृतिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेको थियो।
हुनान सियाओसियाङ फिल्म डिस्ट्रिब्युसन कम्पनी लिमिटेड र चुआङसियाङवान कल्चरल टेक्नोलोजी कम्पनीले संयुक्त रूपमा आयोजना गरेको महोत्सवमा नेपाली फिल्म कबड्डी ४, छक्का पञ्जा ५, महाजात्रा, एन्जिला, तेल भिसा र होस्टेल ३ प्रदर्शन गरिएका थिए। कमेडी, रोमान्स, खेलकुद, जीवनी, अपराध तथा युवा विषयवस्तु समेटिएका यी फिल्मले चिनियाँ दर्शकमाझ नेपाली समाज, संस्कृति र हिमाली जीवनशैलीलाई नजिकबाट चिनाउने अवसर प्रदान गरेको आयोजकको दाबी छ। महोत्सवका क्रममा प्रदर्शन गरिएका फिल्ममध्ये दुई नेपाली फिल्मलाई चिनिया सिनेमा हल वा ओटीटी प्लेटफर्ममार्फत बजार व्यवस्थापन गर्ने विषयमा समेत सकारात्मक छलफल भएको आयोजक करुण थापाले जानकारी गराएका छन्।
अप्रिल १४ मा छाङ्शामा सम्पन्न शुभारम्भ समारोह नेपाली नया वर्ष २०८३ मा परेकाले विशेष उत्साहपूर्ण बनेको थियो। कार्यक्रममा हुनान प्रान्तीय कमिटी, विदेश मामिला कार्यालय, सिसिपिटीका अधिकारी, सियाओसियाङ फिल्म ग्रुप तथा फिल्म उद्योगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। समारोहमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले नेपाल र चीनबीचको ऐतिहासिक मित्रतालाई फिल्ममार्फत थप सुदृढ बनाउने अवसरका रूपमा महोत्सवको चर्चा गरे।
उनले चिनिया फिल्म निर्मातालाई नेपालमा छायाकनका लागि पूर्ण सहयोग गर्ने जनाउदै फिल्म प्लस टुरिज्म अवधारणालाई अगाडि बढाउने बताए। आयोजक संस्था एभरेष्ट फिल्म फेस्टिभलका अध्यक्ष करूण थापाले महोत्सवले नेपाली फिल्मलाई चिनिया बजारमा प्रवेश गराउने ढोका खोलेको उल्लेख गर्दै भविष्यमा सहनिर्माण र नियमित सांस्कृतिक आदानप्रदानका लागि आधार तयार भएको बताए।
महोत्सवको अर्को आकर्षण एआई प्रविधिमा आधारित फिल्म निर्माणसम्बन्धी अन्तरक्रिया र सेमिनार रह्यो। नेपाली तथा चिनिया विज्ञबीच एआई फिल्म निर्माण, प्राविधिक सहकार्य र ज्ञान आदानप्रदानका विषयमा विस्तृत छलफल भएको थियो। त्यस्तै, हङकङ, मकाउ र ग्वाङ्डोङ बे–एरियाका फिल्म संघसंस्थाका प्रतिनिधिसग पनि नेपाली टोलीले अन्तरक्रिया गरेको थियो।


सहनिर्माणमा रुचि देखाएका चिनिया निर्माता तथा फिल्मकर्मीसग सम्भावित सहकार्यका विषयमा छलफल भएको आयोजकले जनाएको छ। आयोजक करुण थापाका अनुसार २०२६ नेपाल एभरेष्ट फिल्म फेस्टिभलले चिनिया दर्शकलाई नेपाली फिल्मको स्वाद चखाउनुका साथै नेपाल–चीन सांस्कृतिक सम्बन्धलाई नया उचाइमा पु¥याउने काम गरेको छ। महोत्सवले भविष्यमा दुई देशबीच फिल्म आदानप्रदान, सहनिर्माण र सांस्कृतिक सहकार्यका थप सम्भावना खोलिदिएको विश्वास गरिएको छ।











प्रतिक्रिया