काठमाडौं।
विपक्षी दलहरूको असन्तुष्टि र विरोधका बीच प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका छन्।
प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रधानमन्त्री शाहले बोल्न समय माग्दै हात उठाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले संसद् सचिवालयका कर्मचारीहरूसँग परामर्श गरेका थिए। प्रधानमन्त्रीले बोल्न चाहेको अवस्थामा समय उपलब्ध गराउनुपर्ने संसदीय अभ्यास रहेको सुझाव पाएपछि सभामुखले उनलाई रोष्ट्रममा आमन्त्रण गरेका थिए।
रोष्ट्रममा पुगेका प्रधानमन्त्री शाहले सांसदहरूले आफूसँग प्रत्यक्ष प्रश्न सोध्न पाउनुपर्ने माग उठाउँदै आएको उल्लेख गर्दै त्यसकै आधारमा आफू उपस्थित भएको बताएका थिए।
प्रधानमन्त्रीको भनाइपछि सभामुख अर्यालले प्रत्येक दलबाट एक–एक जना सांसदलाई प्रश्न सोध्ने अवसर प्रदान गरिने घोषणा गरेका थिए। तर उक्त व्यवस्थाप्रति विपक्षी दलहरूले तत्काल आपत्ति जनाएका थिए।
विपक्षी सांसदहरूले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै सोही प्रक्रिया अनुसार कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए।
विरोध र नाराबाजीका बीच पनि संसद्मा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम जारी रहेको छ।











प्रतिक्रिया