चितवन ।
नेपाल सरकारको आर्थिक वर्ष २०८३÷८४ को बजेटले खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै देशभर आधुनिक रंगशाला निर्माण तथा स्तरोन्नतिको महत्वाकांक्षी योजना अघि सारेको छ । बजेटमार्फत प्रमुख आठ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने, फ्लडलाइटसहित १० वटा फुटबल रंगशाला स्तरोन्नति गर्ने तथा विभिन्न स्थानमा इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गर्ने घोषणा गरिएको हो । सरकारले खेल पर्यटन प्रवद्र्धन, युवालाई खेलतर्फ आकर्षित गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित योजना सार्वजनिक गरेको जनाएको छ ।
तर सरकारको यही महत्वाकांक्षी योजनाबीच चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषय भने बजेटमा समेटिन नसक्दा स्थानीयवासी तथा खेलप्रेमीहरू निराश बनेका छन् । लामो समयदेखि अधुरो अवस्थामा रहेको उक्त रंगशाला राष्ट्रिय गौरवको परियोजनाका रूपमा चर्चामा रहे पनि यस वर्षको बजेटमा निर्माण सम्पन्न गर्न आवश्यक बजेट विनियोजन वा स्पष्ट कार्ययोजनाबारे कुनै उल्लेख गरिएको छैन ।
भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा जनस्तरबाट सुरु गरिएको यो परियोजना आर्थिक अभावका कारण रोकिएको थियो । निर्माण कार्य ठप्प भएपछि यसको स्वामित्व तथा व्यवस्थापनबारे विभिन्न समयमा बहस हुँदै आएको छ । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहबीच समन्वय अभाव हुँदा परियोजना अझै अन्योलमै रहेको देखिन्छ ।
नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता तीव्र रूपमा बढिरहेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गरिरहँदा दर्शक तथा खेलप्रेमीहरूको उत्साह पनि बढ्दो छ । त्रिवि क्रिकेट मैदानमा हुने खेलमा दर्शकको अत्यधिक भीड लाग्ने गरेको छ भने अन्तर्राष्ट्रियस्तरको पर्याप्त पूर्वाधार अभाव लामो समयदेखि महसुस हुँदै आएको छ ।
यस्तो अवस्थामा भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने आवाज चितवनमा बलियो बन्दै गएको छ ।
स्थानीय खेलप्रेमीहरूले नयाँ रंगशाला निर्माणको घोषणा सकारात्मक भए पनि पहिलेदेखि अधुरा रहेका राष्ट्रिय महत्वका परियोजना सम्पन्न गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् । “नयाँ योजना ल्याउनु राम्रो हो, तर वर्षौंदेखि अलपत्र रहेको गौतमबुद्ध रंगशालालाई बेवास्ता गर्नु दुःखद हो,” भरतपुरका एक खेलप्रेमीले बताए । उनका अनुसार क्रिकेट नेपालको सबैभन्दा लोकप्रिय खेलमध्ये एक बनिसकेको अवस्थामा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माणमा सरकारले विशेष ध्यान दिन आवश्यक छ ।
चितवनका सरोकारवालाहरूले समेत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न भए भरतपुर खेल पर्यटनको महत्वपूर्ण केन्द्र बन्न सक्ने बताएका छन् । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहज हुने, स्थानीय व्यवसाय प्रवद्र्धन हुने तथा युवामा खेलप्रति थप आकर्षण बढ्ने विश्वास गरिएको छ ।











प्रतिक्रिया