संयोग र नविताको जोडी च्याम्पियन


नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठको जोडीले ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा शनिबार स्वर्ण जितेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोग र नविताको जोडीले बागमती प्रदेशका प्रजिल भट्टराई र आश्मा पहरीको जोडीलाई ११–२, ११–४ र १५–१३ को सोझो सेटमा पराजित गरेको हो । एपीएफका राजिव चिकंवन्जाः र योङगी पौडेल तथा नेपाल आर्मीका जयस्नु महर्जन र सुरम्य शाक्यको जोडी तेश्रो भए ।

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा बागमतीका सुजन गडाल र प्रजिल भट्टराईको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा एपीएफका राजिव चिकंवन्जाः र दीप साउनको जोडीलाई ११–७, ३–११, ११–७, ६–११, ११–३ को सेटमा हरायो । बागमतीका कुशल न्याछ्यों र रिजन शाक्य तथा प्रहरीका संयोग कपाली र एलेक्स महर्जनको जोडी तेश्रो बने ।

महिला डबल्सको उपाधि एपीएफका अनिता महर्जन र दीक्षा दाहालको जोडीले जिते । लगातार दुई सेटमा पछि परेको स्थितिलाई उल्ट्याउदै अनिता र दीक्षाको जोडीले जित हात पा¥यो । उनीहरुको जोडीले फाइनलमा आफ्नै क्लबका दिया देउला र योङगी पौडेलको जोडीलाई ९–११, ९–११, १४–१२, ११–८ र १३–११ ले पाखा लगायो । प्रहरीका रविना महर्जन र स्वेच्छा नेम्वाङ तथा कोशी प्रदेशका सिक्का सुवाल र वियंका राईको जोडी तेश्रो भए ।