काठमाडौं ।
काठमाडौंको न्युरोड क्षेत्रमा अवैध रूपमा विद्युतीय चुरोट (भेप) बिक्री वितरण तथा भण्डारण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणमा भेप बरामद गरेको छ ।
नेपाल प्रहरीका उपत्यका अपराध महाशाखाका खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२२ खिचापोखरीस्थित आरबी व्यावसायिक भवनमा छापा मारेर २९ हजार १४० थान अवैध विद्युतीय चुरोट (भेप) बरामद गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति ३१ वर्षीय नविन खड्का रहेका छन् । उनी महालक्ष्मी महानगरपालिका–८ निवासी हुन् ।
प्रहरीले खिचापोखरीस्थित भवनको अन्डरग्राउन्डमा कोठा भाडामा लिएर ‘स्माइल योर चोइस’ र ‘भेपमाण्डु ट्रेडर्स प्रा.लि.’ नामक पसल सञ्चालन गर्दै अवैध भेप बिक्री वितरण भइरहेको अवस्थामा फेला पारेको जनाएको छ । त्यस्तै सोही भवनको दोस्रो तलामा भाडामा लिइएका दुई कोठामा ठूलो परिमाणमा भेप भण्डारण गरेर राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएका भेपमध्ये विभिन्न विदेशी ब्राण्डका विद्युतीय चुरोट रहेका छन् । बरामद सामानमा आइगेट लेखिएका १६ हजार ५०० थान, ‘न्यास्टीबार लेखिएका ८ हजार थान, ‘एल्फबार लेखिएका ४ हजार १९० थान तथा विभिन्न नामका अन्य ४२० थान भेप रहेका छन् । त्यसैगरी घटनास्थलबाट विभिन्न कम्पनीका तीन थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरिएको भेप अवैध रूपमा आयात गरिएको आशंका गर्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ परेका नविन खड्कालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्चष्दजगखबल त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार गौचर पठाइएको छ ।
पछिल्लो समय युवापुस्तामाझ भेपको प्रयोग बढ्दै गएपछि यसको अवैध आयात, बिक्री वितरण र स्वास्थ्य जोखिमबारे सरोकारवाला निकायले चिन्ता व्यक्त गर्दै आएका छन् । स्वास्थ्य विज्ञहरूका अनुसार विद्युतीय चुरोटमा प्रयोग हुने रासायनिक पदार्थले फोक्सो, मुटु तथा स्नायु प्रणालीमा गम्भीर असर पार्न सक्छ ।











प्रतिक्रिया