सुर्खेत।
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर रंगशालामा १६औँ प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भव्य रूपमा सुरु भएको छ।
कर्णाली प्रदेशका सबै जिल्लाका खेलाडीहरूको उत्साहजनक उपस्थिति रहेको उक्त प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार दृढताका साथ लागिपरेको बताए ।
मुख्यमन्त्री कँडेलले अब कर्णालीमै विभिन्न राष्ट्रिय स्तरका खेलहरू आयोजना गरेर यस क्षेत्रलाई खेलकुदकै माध्यमबाट विश्वमाझ चिनाउन आवश्यक प्रयत्न गरिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
समारोहको अध्यक्ष सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश सरकारले खेलका माध्यमबाट कर्णालीलाई चिनाउने काम गरिरहेको उल्लेख गरेका छन् । मन्त्री भण्डारीले यस प्रतियोगिताबाट छनोट हुने उत्कृष्ट खेलाडीहरूलाई बन्द प्रशिक्षण (क्लोज गेम) मा राखेर राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धाका लागि पठाइने जानकारीसमेत दिए । उनले सुर्खेतमै चाँडै १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता समेत आयोजना हुन लागेको पनि बताएका छन् ।
प्रतियोगिताको पहिलो दिन एथ्लेटिक्सतर्फ कालिकोट र उसुतर्फ आयोजक सुर्खेत जिल्लाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै बर्चस्व कायम गरेका छन् । एथ्लेटिक्सको १५ सय मिटर दौड छात्रतर्फ कालिकोटका अनिल शाही प्रथम, जुम्लाका युवराज बुढा द्वितीय र सुर्खेतका भुवन चालिसे तृतीय भए । यस्तै, छात्रातर्फ कालिकोटकी स्वस्तिका कठायत प्रथम, कालिकोटकै सपना शाही द्वितीय र जुम्लाकी संगिता कुमारी बुढाले तृतीय स्थान हासिल गरे ।
त्यसैगरी उसु खेलका विभिन्न विधामा सुर्खेतका खेलाडीहरूले क्लिन स्वीप गरेका छन् । छाङ छ्वानतर्फ छात्रमा भुपेन्द्र बुढा र छात्रामा सुनिता कुँवर प्रथम भए । नान छ्वानतर्फ छात्रमा तुफान कुँवर र छात्रामा सन्ध्या राना क्षेत्रीले स्वर्ण पदक जिते । थाईची छ्वानतर्फ छात्रमा करण चौधरी र छात्रामा इभान्जेलिना कुँवर मगरले प्रथम स्थान हासिल गर्न सफल भए ।











प्रतिक्रिया