काठमाडौं ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब कार्यालयबाट लिच्छिवीकालदेखि शाहकालसम्मका १९ मूर्ति पुरातत्व विभाग लगिएको छ । सम्पदा अभियन्ता यादवलाल कायस्थ र विभागको दुई वर्षदेखिको प्रयासपछि ती मूर्ति फिर्ता लगिएको हो । अभियन्ता कायस्थले वि.सं. २०८१ जेठमा करिब ५ सय वर्षदेखिका पुराना र एतिहासिक मूर्ति फिर्ता गर्न विभागलाई पत्र पठाउनुभएको थियो ।

सो पत्रका आधारमा विभागले गत साउनमा प्रहरी प्रधान कार्यालयलाई मूर्ति फिर्ता गर्ने प्रक्रिया अघि बढाउन पत्र पठाएपछि नेपाल पुलिस क्लबको सभा मण्डपमा सजाएर राखेका मूर्ति फिर्ता गरेको हो । लिच्छवी, मल्ल र शाहकालका ती मूर्तिहरू २०२३ सालदेखि पुलिस क्लबको सभा मण्डपमा राखिएका थिए ।
कुन प्रहरी महानिरीक्षकको कार्यकालमा कुन ऐतिहासिक मूर्ति प्रहरी कार्यालयमा सजाएर राखियो भन्ने प्रष्ट अभिलेख नभएको जिकिर गर्दै अभियन्ता कायस्थले विभिन्न कालका प्रहरी प्रमुखका पालामा ती मूर्ति प्रहरी कार्यालयमा सजाएर राखिएको बताउनुभयो । तत्कालीन महेन्द्र पुलिस क्लबको पुरानो भवनको हाताभित्र हलको खोपाभित्र पूजापाठ गर्नेगरी ती मूर्तिहरू राखिएको थियो ।
पछि २०७६ सालमा कार्यालय भत्काएर पुनःनिर्माण भएपछि नेपाल पुलिस क्लबको (द ब्लु पाभिलियन) निर्माण गरी सो कार्यालयको तिलिचो हलको पूर्वतिरको भित्तामा सोकेसमा संरक्षण गरी राखिएका ती मूर्तिहरू पुरातत्व विभागको जिम्मा लगाई फिर्ता गरिएको पत्रमा उल्लेख छ । विभागका पुरातत्व अधिकृत सुवेदीले प्रहरी क्लबबाट लगिएका मूर्तिहरू राष्ट्रिय संग्रहालय छाउनीमा हस्तान्तरण गरिएको जानकारी दिँदै सबै मूर्तिमा इनामेल पोतिएका कारण ती मूर्तिको इतिहासबारे तत्काल अध्ययन गर्न नसकिएको बताउनुभयो ।
ती मूर्तिहरू गत जेठ ३ गते छाउनी संग्रहालयमा स्थानान्तरण गरिएको थियो । पुरातत्व विभागका पुरातत्व अधिकृत सरिता सुवेदी र पुलिस क्लबका तर्फबाट विमलाकुमारी कठायतबीच सम्झौता भई अभियन्ता वरिष्ठ अधिवक्ता धु्रवलाल श्रेष्ठ र सम्पदा अभियन्ता कायस्थको रोहबरमा मूर्ति फिर्ता गरिएको थियो ।
यसअघि गत वर्ष भदौ २ गते मूर्ति खोज्न सम्पदा अभियन्ता कायस्थ, रवि शाक्यलगायतको टोली महेन्द्र पुलिस क्लब पुगेका थिए । त्यसबेला ती मूर्तिहरू सोकेसमा भेटिएका थिए ।
विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले प्रहरी क्वबमा राखिएका मूर्ति लिच्छवी, मल्ल हुँदै शाहकालसम्मका रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘तिथिमिति पत्ता लगाउन मूर्तिको इनामेल हटाएर अध्ययन गर्नेछांै, त्यसपछि ठ्याक्कै जानकारी दिऔंला ।’ अभियन्ता कायस्थका अनुसार प्रहरी क्लबमा भेटिएका मूर्तिमा अष्टमातृका, अष्टमहाभैरव र १० महाविद्याको रहेको जानकारी दिनुभयो ।
विभागका अधिकृत सुवेदीले फेला पारिएका मूर्तिहरू कुनै मन्दिरको हो वा होइन भन्ने विषयमा तत्काल भन्न नसकिने जिकिर गर्दै भन्नुभयो –‘प्रदर्शनीमा राख्ने क्रममा कुनै मन्दिरमा रहेको हो भने प्रमाण पेस गरेर लैजाने अनुमति दिन सक्नेछौं ।’
अघिल्ला गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यकालमा गएको पुस ५ गते मूर्ति निकाल्ने विषयमा छलफल भएको थियो । मन्त्री अर्यालको निर्देशनमा मूर्ति हटाउने प्रक्रिया सुरु भएको पाँच महिनापछि पुलिस क्लबबाट मूर्ति निकाल्न सफल भएको हो ।











प्रतिक्रिया