काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अब औपचारिक ध्रुवीकरणतर्फ उन्मुख भएको संकेत देखिएको छ ।
संस्थापनइतर समूहले काठमाडौंको अनामनगरमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरी आफ्ना राजनीतिक तथा संगठनात्मक गतिविधि औपचारिक रूपमा सुरु गरेपछि कांग्रेस औपचारिक विभाजनको डिलमा पुगेको छ ।
पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री देउवाको राजनीतिक लिगेसीलाई निरन्तरता दिने उद्देश्यसहित समूहनिकट नेताहरूले कार्यालय सञ्चालनमा ल्याएका हुन् । नेताहरू जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले र केदार कार्कीलगायतको सक्रियतामा खुलेको उक्त कार्यालयलाई आगामी १५औं महाधिवेशन केन्द्रित शक्ति प्रदर्शनका रूपमा हेरिएको छ ।
संस्थापनइतर पक्षले भने यसलाई पार्टी विभाजन नभई ‘एकताको अभियान’ को रूपमा व्याख्या गरेको छ । नेता जितजंग बस्नेतले १५औं महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन आवश्यक छलफल, समन्वय र संगठन विस्तारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको बताएका छन् ।
तर, कांग्रेस वृत्तमा भने यो कदमलाई समानान्तर शक्ति केन्द्र निर्माणको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ । विशेषगरी कार्यालयमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र खुमबहादुर खड्काका तस्वीर राखिनुलाई समेत राजनीतिक सन्देशका रूपमा अथ्र्याइएको छ ।
पूर्व सभापति देउवा हाल देशबाहिर रहेकाले संस्थापन पक्षको आन्तरिक समन्वयको जिम्मेवारी नेता पूर्णबाहादुर खड्काले सम्हाल्नुभएको छ । अनामनगर कार्यालय खुलेपछि संस्थापन पक्षभित्र समेत बढ्दो ध्रुवीकरणलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ ।
यसैबीच कांग्रेसका महामन्त्री प्रदिप पौडेलले पार्टीभित्र संवाद, एकता र संस्थागत प्रक्रियाबाटै समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ । उहाँले कुनै पनि समूहगत गतिविधिलाई विभाजनतर्फ लैजान नहुने संकेत गर्दै महाधिवेशन लोकतान्त्रिक प्रतिस्पर्धाको स्वाभाविक प्रक्रिया भएको धारणा राख्नुभयो । पौडेल निकट नेताहरूका अनुसार अहिले पार्टीलाई विभाजन होइन, सशक्त प्रतिपक्षका रूपमा स्थापित गर्नु प्राथमिक आवश्यकता हो ।
राजनीतिक विश्लेषकहरू भने कांग्रेसभित्रको पछिल्लो गतिविधिलाई सामान्य गुटगत अभ्यासभन्दा गम्भीर रूपमा हेरिरहेका छन् । विश्लेषकहरूको भनाइमा महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र नेतृत्व, उत्तराधिकार र शक्ति सन्तुलनको संघर्ष तीव्र बन्दै गएको छ ।
कतिपय विश्लेषकले संस्थापनइतर समूहले छुट्टै संरचना निर्माण गर्नु पार्टीभित्र दबाब सिर्जना गर्ने रणनीति भएको बताएका छन् भने केहीले यसले अन्ततः कांग्रेसलाई औपचारिक विभाजनको दिशातर्फ धकेल्न सक्ने चेतावनी दिएका छन् ।
विश्लेषकहरूका अनुसार अहिले कांग्रेसभित्र देखिएको संकट केवल व्यक्ति वा गुटको लडाइँमात्र होइन, भावी नेतृत्व कसले सम्हाल्ने भन्ने रणनीतिक प्रतिस्पर्धा पनि हो । १५औं महाधिवेशन नजिकिँदै जाँदा यस्तो ध्रुवीकरण अझ तीव्र हुने अनुमान गरिएको छ ।
यद्यपि, सार्वजनिक रूपमा भने कांग्रेसका सबै पक्षले पार्टी एकताकै पक्षमा रहेको दाबी गरिरहेका छन् । तर, समानान्तर कार्यालय, छुट्टै संगठनात्मक गतिविधि र नेतृत्व केन्द्रित शक्ति प्रदर्शनले कांग्रेसभित्रको आन्तरिक तनाब सतहमै देखिन थालेको राजनीतिक विश्लषकहरूले निष्कर्ष निकालेका छन् ।











प्रतिक्रिया