काठमाडौं ।
नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की विवादमा तानिएका छन् । घटनाले चौतर्फी चर्चा र आलोचना बढेपछि रास्वपाले उनीसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ । पार्टी स्रोतका अनुसार मोरङ–२ बाट निर्वाचित सांसद कार्कीसँग लिखित स्पष्टीकरण माग्ने आन्तरिक तयारी भइरहेको छ । प्राप्त जवाफ चित्तबुझ्दो नभए अनुशासनको कारबाहीसम्म जाने विषयमा समेत छलफल भएको बताइएको छ ।
२६ वर्षीया नाइजेरियाली युवती रिता अजुकोले आफू गर्भवती भएको र अहिले आर्थिक संकटमा परेको गुनासो गरेकी छन् । उनले सांसद कार्की लामो समयदेखि आफूहरूसँग सहजीवनमा रहेको दाबी गर्दै गर्भवती भएको जानकारी पाएपछि उनी सम्पर्कविहीन बनेको आरोप लगाएकी छन् । ठमेल क्षेत्रमा बस्दै आएकी अजुकोले आफ्नो इच्छाविपरीत पनि सम्बन्ध राखिएको आरोप लगाएकी छन् ।
उनले सार्वजनिक गरेका केही सन्देशमा कार्कीले उनलाई “माई वाइफ”, “माई लाइफ” र “माई लभ” भन्दै सम्बोधन गरेको देखिएको छ । अस्पतालसम्बन्धी कागजातमा समेत पतिको नाम कृष्ण कार्की उल्लेख भएको दाबी गरिएको छ । युवतीका अनुसार गर्भ रहेपछि उनले गर्भपतन गर्न चाहेको भए पनि कार्कीले त्यसो नगर्न दबाब दिएका थिए । अहिले भने आफूलाई पूर्ण रूपमा बेवास्ता गरिएको उनको भनाइ छ ।
घटनापछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म तीव्र प्रतिक्रिया देखिएको छ । विपक्षी दलका नेताहरूले नैतिकताको प्रश्न उठाउँदै रास्वपालाई स्पष्ट धारणा सार्वजनिक गर्न दबाब दिएका छन् । रास्वपाभित्र पनि विवादित पृष्ठभूमि भएका व्यक्तिलाई टिकट दिएको विषय पुनः चर्चामा आएको बताइन्छ । सांसद कार्की यसअघि पनि नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको आगजनी घटनासँग जोडिएर विवादमा आएका थिए ।
त्यसबेला पनि उनको उम्मेदवारीलाई लिएर पार्टीभित्र र बाहिर आलोचना भएको थियो । मोरङको रतुवामाई नगरपालिका–९ स्थायी घर भएका कार्की वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति हुन् । उनी केही दिनअघि मात्रै नेपाल आएको बताइएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले ४० हजार ९२४ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलिकुमार बगडियाले १४ हजार ६२४ मत ल्याएका थिए भने नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजालले १२ हजार ६६४ मतसहित तेस्रो स्थानमा सीमित भएका थिए ।











प्रतिक्रिया