वैदेशिक रोजगारीको नाममा करोडौं ठगी गर्ने चार जना पक्राउ


काठमाडौं ।

आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बेरोजगार युवायुवतीलाई कतार, इराक, अष्ट्रेलिया र क्रोएसियालगायत देशमा रोजगारी लगाइदिने भन्दै लामो समयसम्म झुक्यानमा राखी सम्पर्कविहीन भएका आरोपितहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

प्रहरीले पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाएको जनाएको छ ।

पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–६ का ३७ वर्षीय नारायण जोशी रहेका छन् । उनले कतार पठाइदिने भन्दै १४ जनाबाट ४८ लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ । उनीविरुद्ध ७ वटा मुद्दा रहेको जनाइएको छ । जोशीलाई जेठ ३ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ बाट पक्राउ गरिएको हो ।

त्यसैगरी सुर्खेत बराहाताल गाउँपालिका–२ का ४३ वर्षीय गोपाल विक्रम रानालाई इराक पठाइदिने भन्दै ३ जनाबाट २० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं महानगरपालिका–१२ टेकुबाट जेठ ४ गते पक्राउ गरिएको हो ।

भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ का ३२ वर्षीय नवराज पौड्याललाई अष्ट्रेलिया पठाइदिने भन्दै ३ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको छ । उनलाई पुतलीसडकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै मनाङ नासोँ गाउँपालिका–६ का ५८ वर्षीय ङवाङ लामालाई क्रोएसिया पठाइदिने भन्दै १० लाख रुपैयाँ असुलेको आरोपमा पक्राउ गरिएको छ । उनलाई नागार्जुन नगरपालिका–८ बाट जेठ २ गते पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार आरोपितहरूले वैदेशिक रोजगारीका लागि आकर्षक तलब र सहज प्रक्रिया हुने प्रलोभन देखाएर रकम उठाएका थिए । तर लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएका थिए ।

प्रहरीले पछिल्लो समय वैदेशिक रोजगारीको नाममा ठगीका घटना बढ्दै गएको भन्दै वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई आधिकारिक म्यानपावर कम्पनी र सरकारी निकायमार्फत मात्रै प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।