उदयपुर ।
उदयपुर र खोटाङलाई जोड्ने दुईवटा बेलिब्रीज खोलेसँगै खोटाङसँगको सोझो यातायात सम्बन्ध विच्छेद भएको छ । गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेल जोड्ने गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग अन्तर्गत फोक्सिन्टार र बेलटार–पौवासेरा जोड्ने वंशीलाघाटका बेलिब्रीज हटाएपछि सोझो यातायात सम्पर्क टुटेको हो ।

शनिबारदेखि सुरु भएको फोक्सिन्टारको बेलिब्रीज सोमबार दिउँसोसम्ममा खोलिसकिएको छ भने वंशीलाघाटको केहीदिनअघि नै हटाईसकिएको छ । फोक्सिन्टारमा १३ वर्ष लगाएर बनेको पक्की मोटरेबल पुल ०८१ असोज १२ गते रातिको बाढीले भत्काएपछि बेलिब्रीज जडान गरि आउजाउ थालिएको हो । गत पुस २७ गतेदेखि सञ्चालनमा ल्याइएको बेलिब्रीज वर्षायाम सुरु भएपछि बाढीको जोखिमबाट बँचाउन खोलिएएको हो । वर्खायाम लागेर पानीको सतह बढेकाले बेलिब्रीज बगाउनसक्ने जोखिमले खोल्न थालेको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चेबीच फोक्सिन्टारको बेलिब्रीज खोल्न सुरु भएसँगै शनिबारदेखि गाईघाट दिक्तेल सोझो यातायात सेवा अवरुद्ध भएको छ । बेलिब्रीज खोलेपछि सवारी साधनहरु रौतामाई ५ कै रसुवाघाट पुगेर त्यहाँको झोलुङ्गे पुल तरेर दिक्तेल र खोटाङबाट आएकाहरु गाईघाट आउनु पर्नेछ ।
बेलिब्रीज भत्काएर सामान सुरक्षित गर्न कम्तीमा ४÷५ दिन लाग्ने गाईघाट दिक्तेल योजना कार्यालय प्रमुख (डिई) बिबेक पाण्डेले बताए । पाण्डेका अनुसार गत पुसमा लगाइएको ५० मिटर लामो बेलिब्रीज आरएन कन्स्ट्रक्सन कटारीले मूल्य अभिबृद्धि कर (भ्याट)सहित १ करोड २९ लाख ४६ हजार ७७ रुपैँयामा निर्माण गरेको हो । बाढीले पक्की पुल भत्काएपछि हरेक साल वर्षायाममा बेलिब्रीज लगाउने र हिउदमा खोल्नुपर्दा यात्रु मारमा पर्दै आएका छन् ।
उता उदयदपुरकै चौदण्डीगढी नगरपालिका २ र खोटाङको बराहापोखरी गाउँपालिका ५ पौवासेरालाई जोड्ने वंशीलाघाटस्थित सुनकोशी नदीमा निर्मित अर्को बेलिब्रीज पनि केहीदिनअघि मात्र खोलिएको छ । खोटाङको पूर्वी–दक्षिणी भेगका बासिन्दालाई उदयपुरको बेलटार बजार हुँदै तराईसँग सोझो यातायातले जोड्ने सो बेलिब्रीज ३ महिनाअघि मात्र सञ्चालनमा ल्याइएको थियो । वंशीलाघाटमा ३ वर्षयता मोटरेबल पक्की पुल निर्माणाधीन रहे पनि ३० प्रतिशत हाराहारी मात्र काम भईरहेको छ ।
वर्षाैँ पुरानो जीर्ण झोलुङ्गे पुल भएर आउजाउ गर्न बाध्य सो ठाउँमा पक्की पुल बनाउन थाले पनि नदी पारि निर्माण सामग्री लान असहज हुँदा काम ढिला भएको भन्दै प्रदेश सरकारले चालु वर्षकै बजेटमार्फत बेलिब्रीज लगाएको हो । प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईको पहलमा चालुवर्ष ०८१÷०८२ मा विनियोजत १ करोड ८७ लाख बजेटबाट ५१.८१ मिटर लामो बेलिब्रीज बनेको हो ।
निर्माण कम्पनी गुरुकुल विल्डर्स एन्ड सप्लायर्स रौतहटले भ्याटसहित १ करोड ५७ लाख रुपैयाँमा निर्माण गरेको बेलिब्रीजले खोटाङको पूर्वी दक्षिणी भेग तथा भोजपुरका पश्चिमभेगका स्थानीयलाई आउजाउ गर्न धेरै सहज भएको थियो । निर्माणाधीन पक्की पुल बनाउन अझै केहीवर्ष लाग्ने भएकाले वंशीलाघाटमा बेलिब्रीज खोल्ने र जोड्ने क्रमले निरन्तरता पाउने स्थानीयहरुको अनुमान छ । बेलटारका नागरिक अगुवा गोपाल राईका अनुसार बेलिब्रीज बनेपछि निर्माण सामग्री ओसार्न सहज भएकाले पुल बनाउन सहज भईरहेको छ ।
वंशीलाघाटमा ३ वर्षअघि ठेक्का सम्झौता गरेर निर्माण सुरु भएको पक्की पुलको काम ३० प्रतिशतभन्दा अघि बढ्न सकेको छैन । सङ्घीय सरकार, सडक विभाग, पुल सेक्टर सुनसरीबाट १० करोड १८ लाख ४१ हजार ४ सय रुपैयाँमा निर्माणको जिम्मा पाएको कालिका–वेदांसी जेभीले कामलाई गती दिन नसक्दा पुल निर्माणमा ढिलाई भएको हो ।
३३ महिनाभित्र सम्पन्न गर्नेगरी २०७९ मङ्सिर १ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले बेलटार–वंशीलाघाट सडक खराव, निर्माण सामग्री नदी पारि लान असहज तथा अन्य विभिन्न कारण देखाउँदै काममा ढिला भएको जनाएको छ । बेलिब्रीज बनेपछि भने निमाण सामग्री नदी पारि लान सहज भएकाले अब छिट्टै काम हुने निर्माण व्यवसायी प्रतिनिधिले जनाएका छन् ।











प्रतिक्रिया