एजेन्सी।
दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प जाँदा दुई जनाको मृत्यु भएको छ ।
चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) ले भूकम्पमा परी एक जना बेपत्ता भएकाे जनाएकाे हाे । साेमबार बिहान लिउनान जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हाे । उक्त भूकम्प जमिनको सतहबाट करिब ८ किलोमिटर गहिराइमा मापन गरिएको थियो । भूकम्प गए लगत्तै स्थानीय आपत्कालीन सेवा, दमकल र प्रहरी टोलीहरू उद्धार कार्यमा परिचालन भएका छन् ।
ग्वाङ्सी क्षेत्रीय भूकम्प राहत मुख्यालयले साेमबार बिहान २ बजे (तेस्रो तह) को आपत्कालीन कार्ययोजना लागू गरेको हाे । साथै, भूकम्पपछिका परकम्पहरूको निरन्तर निगरानी गर्न समेत भनिएको छ । उद्धार कार्यका लागि हालसम्म ५१ वटा दमकल तथा उद्धार सवारी साधन र ३ सय १५ जना उद्धारकर्मी घटनास्थलमा खटाइएको हाे ।
चीन भूकम्प प्रशासनले पनि घटनापश्चात् तेस्रो तहको आपत्कालीन प्रतिक्रिया सक्रिय पारेको छ ।











प्रतिक्रिया