प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८३ सुरु, २१८ खेलाडी प्रतिस्पर्धामा


काठमाडौं ।

नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा “प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८३” सोमबारदेखि जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन बलाधिकृत रथी प्रदीप जंग के.सी.ले गरेका हुन् ।

नेपाली सेनाले टेनिस खेलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०७८ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको उक्त प्रतियोगितामा यस वर्ष १३ वटा क्लबका २१८ जना खेलाडी सहभागी भएका छन् । प्रतियोगितामा कुल १३ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताअन्तर्गत खुलातर्फ पुरुष एकल, पुरुष युगल, महिला एकल तथा महिला युगल समावेश छन् । त्यसैगरी भेट्रान्सतर्फ ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथिका एकल तथा युगल स्पर्धा राखिएको छ । ७० वर्षमाथिको एकल विधा पनि प्रतियोगितामा समेटिएको छ ।

प्रतियोगिता आगामी जेठ १२ गतेसम्म सञ्चालन हुनेछ ।

उद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, नेपाल टेनिस सङ्घ, नेपाल ओलम्पिक कमिटी तथा विभिन्न टेनिस क्लबका पदाधिकारी, नेपाली सेनाका अधिकृत, सञ्चारकर्मी र खेलाडीहरूको उपस्थिति रहेको थियो ।