कवयित्री तोया गुरुङलाई भेटेको साँझ

1.13k
Shares

साहित्यका पानाहरूमा बाँचिरहेकी, नेपाली काव्य–आकाशकी नक्षत्र कवयित्री तोया गुरुङलाई भेट्नु मेरो लागि साहित्यिक तिर्खा मेटाउने एउटा तीर्थाटनजस्तै थियो । धेरै अघिदेखि मनको कुनामा सँगालेर राखेको त्यो उत्कट चाहना, बल्ल यथार्थमा बदलियो । लाग्यो– जीवनका केही पलहरू साँच्चिकै कति अर्थपूर्ण हुँदा रहेछन् ।

काठमाडौँस्थित मीनभवनको त्यो आँगनमा पाइला टेक्दा मनमा एक किसिमको हलचल थियो । एक वरिष्ठ स्रष्टा, जसको कविता र संस्मरणले मलाई सधैँ प्रभावित तुल्यायो, उहाँलाई आफ्ना केही कृति–कोसेलीहरू सुम्पिनु मेरो लागि एउटा ठूलो सङ्कल्प थियो । निबन्धका मेरा पुस्तकहरू मैले उहाँको हातमा अर्पण गरेंँ, मेरो लेखनले मानौँ एक किसिमको सार्थकता प्राप्त ग¥यो । उहाँको त्यो स्नेहपूर्ण मुस्कान र आशीर्वादले मेरो लामो समयदेखिको मनको धोको एकैछिन्मा पूरा गरिदियो ।

नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको पहिलो महिला प्राज्ञको रूपमा इतिहास रच्नुभएकी उहाँको व्यक्तित्व जति सुदृढ छ, उहाँका सिर्जनाहरू त्यति नै मर्मस्पर्शी छन् । त्यसको सम्मानस्वरूप ‘प्रतिभा पुरस्कार’, ‘व्यथित साहित्य पुरस्कार’, ‘रत्नश्री स्वर्णपदक’, ‘गङ्गादेवी चौधरी स्मृति सम्मान’ जस्ता अनेकौँ गरिमामय विभूषणहरू उहाँको नामसँग जोडिएका छन् । तर, मेरो लागि उहाँ एउटा पुरस्कृत स्रष्टा मात्र हुनुहुन्न, उहाँ त मेरो जीवनको एउटा महत्वपूर्ण मोडको साक्षी र संरक्षक पनि हुनुहुन्छ ।

समयको क्यानभासमा वि.सं. २०५४ माघ १२ गतेको चिसो बिहानको त्यो पल आज पनि ताजै छ, जब मेरो शुभ–विवाहको अवसरमा उहाँ जन्ती बनेर मलाई आशीर्वाद दिन आइपुग्नुभएको थियो । एउटा तन्नेरी साहित्यकर्मीका लागि त्यस बेलाको त्यो क्षण कति गौरवमय थियो होला !

जहाँ एकातिर काव्यिक चेतनाकी प्रतिमूर्ति तोया दिदी हुनुहुन्थ्यो भने अर्कातिर ऐतिहासिक उपन्यासका शिखर व्यक्तित्व डायमन शमशेर राणाज्यूको गरिमामय उपस्थिति जन्तीको रूपमा भएको थियो ।आज डायमन शमशेरज्यू भौतिक रूपमा हामीमाझ हुनुहुन्न, तर उहाँले छोडेर जानुभएका पदचापहरू र तोया दिदीको त्यो ममतामयी आशीर्वाद मेरो स्मृतिमा अझै सुरक्षित छन् ।

धेरै वर्षको अन्तरालपछि उहाँकै निवासमा पुगेर पुराना यादहरूलाई ताजा बनाउन पाउँदा मेरो मन निकै भावुक र हर्षित भयो ।
समय बदलियो, सन्दर्भहरू बदलिए, तर प्राज्ञ तोया दिदीको त्यो शालीन मुस्कान र साहित्यप्रतिको अगाध निष्ठा अझै उस्तै अटल छ । उहाँको त्यो आँगनमा उहाँसँग बिताएका पलहरूले मलाई २०५४ सालको त्यही मण्डपमा पु¥याइदिए, जहाँ उहाँले दिनुभएको आशीर्वादले मेरो जीवन र लेखन दुवैलाई सिञ्चित गरेको थियो ।

उहाँसँगको भेट मात्र भेटघाट थिएन, यो पुनर्मिलन र स्नेहको नवीकरण थियो, जसले मेरो आजको दिनलाई सदैवका लागि अविस्मरणीय बनाइदिएको छ ।

लामो समयपछि भएको भेटमा मैले साहित्य, लेखन र समकालीन स्रष्टाहरूका बारेमा उहाँसँग धेरै जिज्ञासा राखेँ । हामीले धेरै जीवित र दिवंगत साहित्यकारहरूलाई सम्झियौँ, प्रकाशन र पुरस्कारका अनेक चर्चा ग¥यौँ । तर, कुराकानीका क्रममा उहाँको मुखबाट निस्किएको त्यो वाक्यले मलाई गहिरो गरी छोयो– ‘भाइ, अब त मलाई कुनै कुराको वास्ता छैन । मेरो किताबको चर्चा भयो कि भएन, वा मेरो योगदानको कति मूल्याङ्कन भयो, त्यो अब मेरो चासोको विषय रहेन । मैले लेख्नु थियो, लेखेँ, अब त म आफैँमा बाँच्छु ।’

उहाँका यी शब्दहरू सुन्दा मलाई लाग्यो, सायद जीवनको एक उचाइमा पुगेपछि आशा, निराशा वा भरोसाका थुप्रै द्वन्द्वहरू बाँकी रहँदा रहेनछन् । बाँकी रहन्छ एउटा शुद्ध मन, जसले आफूले देखेको कुरा लेख्छ, आफैँले पढेको कुरामा रमाउँछ । उहाँका लागि अब बाहिरको संसार, साहित्यिक मञ्च वा औपचारिक कार्यक्रमहरूको कुनै अर्थ रहेनछ । आफ्नो घर र बगैँचा नै उहाँको सम्पूर्ण संसार बनेको छ ।

बाहिरको संसारबाट पूर्णतः विमुख भएर, आफ्नै सिर्जनाको न्यानोमा बाँच्नुभएकी तोया दिदी– वास्तवमै नेपाली साहित्यकी एक अविचलित साधिका हुनुहुन्छ । त्यो साँझ उहाँबाट बिदा हुँदै गर्दा, मेरो मनमा प्रेमिल सन्तोष थियो । साहित्यको साधनाले मानिसलाई कति एक्लो तर कति समृद्ध बनाउँदो रहेछ !

केही वर्षअघि जीवनको सहयात्री कुमार घलेले यो संसारबाट सदाका लागि बिदा लिएपछि उहाँको घर–संसार आफूमै खुम्चिएको रहेछ । उहाँको यो निःसन्तान जीवनमा, उहाँले लेखेका सिर्जना–कृति नै उहाँका अमर सन्तान हुन् । यो एक्लो जीवनमा उहाँ तिनै कृतिका पानाहरू पल्टाउनुहुन्छ, आफ्नो कोठाभित्र आफ्नै कविताका हरफहरू गुनगुनाउनुहुन्छ र कहिलेकाहीँ रित्तोपनलाई भुल्न बगैँचामा निस्केर ती बोटबिरुवाहरूसँगै संवाद गर्नुहुन्छ । वर्षौँ भइसक्यो, उहाँ कुनै साहित्यिक समारोहमा ननिस्कनुभएको । बाहिरी संसारको कोलाहलबाट टाढा, उहाँ आफ्नो एउटा छुट्टै र शान्त संसारमा रमाउनुहुन्छ ।

उहाँको निवासमा पाइला टेक्दा मैले त्यो पुरानो चहलपहल कतै भेटिनँ । घर र बगैँचामा बाक्लो सन्नाटा थियो । केही चराचुरुङ्गीहरूको मधुर चिरबिर आवाजले त्यो स्तब्धतालाई तोडिरहेको थियो । लाग्थ्यो, आज तोया दिदीको त्यो एक्लो संसारमा ती चराचुरुङ्गी र बगैँचाका बोटबिरुवा नै उहाँका दिनभरिका सच्चा साथी बनेका छन् ।

उहाँको बगैँचामा फुलेका फूलहरू बोटबाट भुइँभरि झरेका थिए, मानौँ ती विगतका समयले बिसाएका स्मृतिहरू हुन् । तिनै फूलहरूमाथि पाइला टेक्दै हिँड्दा उहाँका आँखाहरूमा विगतका अनेकौँ क्षणहरू नाचिरहेका थिए । सायद, ती झरेका फूलहरूलाई उहाँ विगतका सुन्दर सम्झनाहरूजस्तै सँगाल्नुहुन्छ र वर्तमानलाई शान्त आनन्दले सजाउनुहुन्छ ।

उहाँसँग बिदा भएर त्यो घरबाट बाहिरिँदै गर्दा, मेरो मनमा एक किसिमको गहिरो सम्मान र करुणाको भाव पलायो । साहित्य साधनाले मानिसलाई कति एक्लो तर कति समृद्ध बनाउँदो रहेछ ! संसारको भीडबाट टाढिएर, आफ्नै सिर्जना र प्रकृतिको काखमा बाँच्नुभएकी तोया दिदी वास्तवमै नेपाली साहित्यकी एक अविचलित साधिका हुनुहुन्छ ।

उहाँबाट बिदा भएर फर्किंदा मेरो हातमा उहाँको जीवनले सँगालेका अनुभूतिहरूले भरिएको साहित्यको सुगन्ध बोकेका अमूल्य सौगात थिए । तिनलाई छातीमा टाँसेर हिँड्दा मनभरि खुशी अटेसमटेस भइरह्यो । बाटोका कोलाहल र भीडभाड पनि मलाई कतै महसुस भएन ।

त्यो साँझ मैले एक वरिष्ठ कवयित्री दिदीलाई भेट्न पाएर निकै खुशी बनेँ । उहाँसँगको भेटले जीवन र जगतप्रतिको गहिरो दर्शन पनि आत्मसात् गरेँ । त्यसले मलाई अझै धेरै दिनसम्म सम्झना ताजा बनाइराख्ने निश्चित छ । किनभने मेरो जीवनको साँघुरो गोरेटोमा उहाँ फराकिलो राजमार्ग हुनुहुन्थ्यो ।