निर्माण सामाग्रीको अभाव र चर्को मूल्यवृद्धि: निर्माणव्यवसायीले रोके काम

1.79k
Shares

धादिङ । 

मध्यपूर्वको युद्ध सुरु भएपछि पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले गर्दा निर्माण सामाग्रीको मूल्य अत्याधिक बढेपछि निर्माण व्यवसायीले साना ठुला सबै ठेक्काका काम रोकेर आन्दोलनमा उत्रिएका छन् । 

९५ किलोमिटर नागढुंगा मुगलिन सडकको तिन खण्डमा भइरहेको सडक विस्तार तथा स्तरउन्नतीको काम रोकिएको तिन हप्ता भयो । 
निर्माण व्यवसायीले बजारमा सहज उपलब्ध हुनुपर्ने तेल, बिटुमिन तथा अन्य सामाग्री चरम अभाव छ भने मूल्य वृद्धिले सीमा नाघेपछि  रोकिएको निर्माण व्यवसायीले जनाएको छ । 

सडक विस्तारका लागि दैनिक २५ हजार लिटर इन्धन आवश्यक पर्ने भएपनि व्यवसायीले इन्धनमा कोटा प्रणाली लगाएर ३ देखि ६ हजार लिटर मात्र उपलब्ध गराउँदा मेसिनरी सञ्चालन गर्न समस्या पर्‍यो ।  बिटुमिनमा ७८ प्रतिशत, डिजेल ६९ प्रतिशत, डन्डी (रड) मा २५ प्रतिशत र सिमेन्टमा १७ प्रतिशत मूल्यवृद्धि भएकोले धान्नै नसकिने अवस्थामा पुगेको निर्माण व्यवसायिको भनाइ छ । 

पश्चिम खण्ड अन्तर्गत मलेखुदेखि मुग्लिनसम्मको ३८/८६ किलोमिटर खण्डको प्रगति ४३/९६ प्रतिशतमात्र छ,४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यो खण्ड ठेक्का लिएको हो । पूर्वी खण्ड अन्तर्गत दोस्रो खण्ड नौबिसेदेखि मलेखुसम्मको ४३।५४ किलोमिटर लामो यो खण्ड विस्तारको कुल लागत ५ अर्ब ३३ करोड १९ लाख छ, भौतिक प्रगति जम्मा ५७ दशमलव १ प्रतिशत हाराहारीमा छ, तर सामाग्री अभाव, मूल्यवृद्धि र वर्ष लागेकाले का मगर्न नसकिने अवस्थामा निर्माण व्यवसायी पुगेको भनेर सरकार समक्ष मूल्य समायोजन लगायतका विषयमा सहजीकरण गरिदिनुपर्ने नागढुंगा मुग्लिङ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर केशव प्रसाद ओझाले जानकारी दिनुभयो । 

राजधानी काठमाडौँ को लाइफलाइन मानिएको पृथ्वीराजमार्गको नौबिसे मुग्लिङ खण्डमा दैनिक १२ देखि १५ हजार सवारी साधन आवतजावत गर्छन् । 
यसैबिच निर्माण सामाग्रीको मूल्य वृद्धि र सामाग्री अभाव भएकोले मूल्य समायोजनको माग गर्दै निर्माण व्यवसायी संघ धादिङले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै सबै किसिमको निर्माणको काम ठप्प पार्ने चेतावनी दिएको छ । 

धादिङका निमित्त प्रमुख जिल्ला अधिकारी ओम भट्टाराईलाई महासंघका जिल्ला अध्यक्ष राजेन्द्र अधिकारीले बुझाउनु भएको ज्ञापनपत्रमा डिजेल, बिटुमिन, ढुवानी तथा श्रमिक लागतमा अस्वाभाविक वृद्धि हुँदा देशभरका निर्माण कार्य प्रभावित भएको उल्लेख गरिएको छ । महासंघका अनुसार मध्यपूर्वमा मध्यपूर्व युद्ध सुरु हुनुअघि प्रतिलिटर १ सय ३९ रुपैयाँ रहेको डिजेलको मूल्य हाल २ सय २५ रुपैयाँ पुगेको छ भने बिटुमिनको मूल्य प्रतिकेजी ७५ रुपैयाँबाट बढेर १ सय ५५ रुपैयाँ पुगेको ज्ञापनपत्रमा उल्लेख छ ।

महासंघले मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले हालसम्म करिब १० अर्ब रुपैयाँ बराबरको नोक्सानी व्यहोरेको दाबी गरेको छ । पुरानै दररेट र इस्टिमेटमा निर्माण कार्य गर्न नसकिने अवस्था सिर्जना भएकाले उद्योग नै धराशायी हुने जोखिम बढेको महासंघमा जिल्ला महासचिव धर्म लोहीले बताउनुभयो । 
निर्माण व्यवसायीहरूले समयमै मूल्य समायोजनको निर्णय नगरिए देशभर सञ्चालित आयोजनाका निर्माण कार्य स्वतः बन्द हुने चेतावनी दिँदै व्यवसायीहरूलाई कालोसूचीमा राख्ने, बैंक ग्यारेन्टी जफत गर्ने जस्ता कार्य नगर्न पनि सरकारसँग आग्रह गरेको छ । 

महासंघले निर्माण कार्य प्रभावित हुँदा उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सरकारकै हुने उल्लेख गर्दै आयोजनाको मूल्य समायोजन, म्याद थप, बजेट व्यवस्थापन तथा बैंक ग्यारेन्टी र बीमासम्बन्धी सहजीकरण गर्न माग गरेको छ ।