बेइजिङ ।
चीनको औपचारिक भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच बेइजिङमा उच्चस्तरीय भेटवार्ता भएको छ । झन्डै दुई घण्टा लामो वार्तापछि ट्रम्पले सी जिनपिङलाई “महान् नेता” को संज्ञा दिँदै भेटलाई “भव्य र सकारात्मक” बताएका छन् ।
बेइजिङ पुगेका ट्रम्पलाई चिनियाँ पक्षले उच्चस्तरीय सम्मानसहित स्वागत गरेको थियो । उनीहरूले ऐतिहासिक टेम्पल अफ हेभेन को संयुक्त भ्रमण गर्नुका साथै ‘हल अफ प्रेयर फर गुड हार्भेस्ट्स’ अगाडि संयुक्त तस्वीर समेत खिचाएका थिए । यसलाई चीनले कूटनीतिक सन्देशका रूपमा प्रस्तुत गरेको विश्लेषण गरिएको छ ।
तर भेटवार्ताकै बीच चिनियाँ सरकारी सञ्चारमाध्यमले सी जिनपिङको एउटा कडा चेतावनी सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय ध्यान तानिएको छ । सीले ताइवानको विषयलाई चीन–अमेरिका सम्बन्धको “सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण मुद्दा” भन्दै त्यसलाई गलत ढंगले ह्यान्डल गरिए “द्वन्द्वको अवस्था सिर्जना हुन सक्ने” चेतावनी दिएका थिए ।
सीले “ताइवानको स्वतन्त्रता र ताइवान स्ट्रेटको शान्ति आगो र पानीजत्तिकै असंगत” रहेको टिप्पणी समेत गरेका छन् । चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्दै आएको छ भने आवश्यक परे बल प्रयोग गरेर एकीकरण गर्ने नीति पनि खुला रूपमा त्यागेको छैन ।
ट्रम्पले भने वार्तामा ताइवानको विषयमा के छलफल भयो भन्ने खुलाएका छैनन् । उनले आर्थिक सहकार्य, रणनीतिक स्थिरता र विश्व शान्तिका विषयमा “उपयोगी संवाद” भएको मात्र बताएका छन् ।
चीन–अमेरिका सम्बन्धमा ‘तनावबीच संवाद’ को संकेत
विश्लेषकहरूका अनुसार बेइजिङ वार्ताले चीन र अमेरिकाबीचको सम्बन्ध पूर्ण रूपमा टुट्ने अवस्थामा नरहेको संकेत दिएको छ । पछिल्ला वर्षहरूमा व्यापार युद्ध, प्रविधि प्रतिस्पर्धा, दक्षिण चीन सागर, ताइवान र सैन्य प्रभाव विस्तारका कारण दुई देशबीच तीव्र तनाव देखिएको थियो ।
तर पछिल्लो भेटवार्ताले दुवै शक्तिराष्ट्र प्रत्यक्ष टकराव टार्न चाहिरहेको संकेत दिएको अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरू बताउँछन् ।
विशेषगरी चीनले अमेरिकी आर्थिक प्रतिबन्ध, चिप प्रविधिमाथिको नियन्त्रण र सैन्य गठबन्धन विस्तारप्रति असन्तुष्टि जनाउँदै आएको छ । उता अमेरिकाले चीनको सैन्य विस्तार, मानवअधिकार अवस्था र ताइवानमाथिको दबाबलाई चिन्ताका रूपमा उठाउँदै आएको छ ।
यद्यपि ट्रम्पको चीन भ्रमणलाई दुई देशबीच “व्यवहारिक सम्बन्ध पुनःस्थापना गर्ने प्रयास” का रूपमा समेत हेरिएको छ ।
इरान युद्ध र मध्यपूर्वमा पनि असर पर्ने सम्भावना
बेइजिङ वार्तालाई केवल चीन–अमेरिका सम्बन्धसँग मात्र नभई मध्यपूर्वको बदलिँदो शक्ति समीकरणसँग पनि जोडेर हेरिएको छ । विशेषगरी इरानसँग चीनको निकट सम्बन्ध र अमेरिकाको पश्चिम एशियाली रणनीतिका कारण यो भेटलाई निकै अर्थपूर्ण मानिएको छ ।
चीन अहिले इरानको प्रमुख आर्थिक साझेदारमध्ये एक हो । ऊर्जा, तेल आयात र पूर्वाधार परियोजनामा चीनको लगानी निरन्तर बढिरहेको छ । यस्तो अवस्थामा यदि इरानसँग सम्बन्धित कुनै सैन्य तनाव वा युद्धको अवस्था सिर्जना भयो भने चीनले खुला रूपमा अमेरिकाको पक्ष नलिने संकेत लामो समयदेखि दिँदै आएको छ ।
विश्लेषकहरूका अनुसार ट्रम्प र सीबीचको वार्तामा प्रत्यक्ष रूपमा सार्वजनिक नगरिए पनि इरान–इजरायल तनाव, खाडी क्षेत्रको सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिबारे छलफल भएको हुनसक्ने अनुमान गरिएको छ ।
यदि चीन र अमेरिका न्यूनतम सहमतिमा पुग्न सके मध्यपूर्वमा ठूलो युद्ध टार्न कूटनीतिक प्रयास बलियो बन्न सक्ने आकलन गरिएको छ । तर ताइवान मुद्दामा तनाव बढे त्यसले विश्व राजनीति थप ध्रुवीकृत बन्ने जोखिम पनि रहेको विश्लेषकहरूको भनाइ छ ।
विश्व राजनीति नयाँ मोडतर्फ ?
ट्रम्प–सी भेटवार्तापछि विश्व शक्ति सन्तुलन फेरि नयाँ मोडमा पुगेको संकेत देखिएको छ । एकातर्फ चीनले आफ्नो क्षेत्रीय प्रभाव विस्तार गरिरहेको छ भने अर्कोतर्फ अमेरिका विश्व नेतृत्व कायम राख्ने रणनीतिमा सक्रिय देखिन्छ ।
यस्तो अवस्थामा ताइवान, इरान, युक्रेन, दक्षिण चीन सागर र व्यापारिक प्रतिस्पर्धा आगामी दिनमा चीन–अमेरिका सम्बन्ध निर्धारण गर्ने प्रमुख विषय बन्ने विश्लेषण गरिएको छ ।
हालका लागि भने बेइजिङमा देखिएको कूटनीतिक सौहार्दले प्रत्यक्ष टकरावको जोखिम केही समयका लागि कम गरेको संकेत दिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको निष्कर्ष छ ।











प्रतिक्रिया