साइबर सुरक्षाका लागि ‘विशेष अनुसन्धान एकाइ’

1.88k
Shares

पोखरा । सरकारले आगामी आर्थिक वर्षमा विद्युतीय अपराध नियन्त्रणका लागि ‘विशेष अनुसन्धान एकाइ’को स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा योजना सार्वजानिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान एकाइ स्थापना गर्ने सुनाउनुभएको हो । अहिले नेपालमा विद्युतीय अपराध बढेको क्रममा छ ।

नेपाल प्रहरीको हरेक वर्षको तथ्यांक हेर्दा यो ग्राफ निकै उकालो लागिरहेको छ ।सरकारले साइबर सुरक्षासम्बन्धी छुट्टै अनुसन्धान एकाइ खडा गर्ने नीति तथा योजनामा रहेको छ । बढ्दो प्रविधिको प्रयोगसँगै विद्युतीय माध्यमबाट ठगिनेको संख्यामा समेत वृद्धि हुँदै गइरहेको छ । ‘साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान एकाइ स्थापना गरिनेछ’, राष्ट्रपति पौडेलले भन्नुभयो । यस्तै डाटा, कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षाको प्रयोगलाई जोड दिँदै नवप्रवर्तन र स्टार्टअप प्रवद्र्धनमा जोड दिने भएको छ ।

राष्ट्रिय अनुसन्धान प्रणालीलाई समेत प्रविधिमैत्री बनाइने भएको छ । कास्की जिल्लाको कुरा गर्दा २०८० मा यहाँ साइबर अपराधसम्बन्धी ६५१ निवेदन परेका थिए । यसमा कुल ८ करोड ७९ लाख ८३ हजार ९४७ रुपियाँ ठगी भयो । यसमध्ये २ करोड १९ लाख ७७ हजार ७१४ रुपियाँ रकम फिर्ता गराउन प्रहरी सफल भयो । उक्त आर्थिक वर्षमा सबैभन्दा बढी फेसबुकबाट ठगी भएको देखिएको थियो । फेसबुकमा आउने स्क्यामबाट ३६३ ठगीका मुद्दा थिए । यस्तै इन्स्टाग्रामबाट १०५, ह्वाट्सएपबाट १००, टिकटकबाट ३५, टेलिग्रामबाट ३, ओटीपी कोड मागी ५०, वैदेशिक रोजगारको नाममा ४५ घटना भए । यी घटना जिल्ला प्रहरी कार्यालयसम्म आइपुगेका घटना मात्रै हुन् ।

यस्तै २०८१ मा त्यो बढेर ९४७ पुगेको छ । यो दर्ता भएका निवेदनको संख्या हो । २०८१ मा ठगी रकम दोब्बर देखिएको छ । कास्कीमा मात्रै कुल १७ करोड १८ लाख ३१ हजार २०५ रुपियाँ ठगी भयो, जसमध्ये १ करोड ६० लाख २२ हजार ९२० रुपियाँ प्रहरीले फिर्ता गराउन सफल भयो । सबैभन्दा बढी फेसबुकको प्रयोग गरी ठगी भएको देखिन्छ । फेसबुकबाट ३०३, ह्वाट्सएपबाट १४८, इन्स्टाग्रामबाट १२६, टिकटकबाट १११ र टेलिग्रामबाट ९७ ठगिएको तथ्यांक छ ।

यस्तै, चालू आर्थिक वर्षमा यो संख्या झन् बढ्ने देखिएको छ । फागुन मसान्तसम्मको तथ्यांक हेर्दा ८५६ निवेदन दर्ता भएका छन्, जसमध्ये ३० वटा मुद्दा नै दर्ता भएका छन् । यस वर्ष टिकटकबाट बढी ठगिएको देखिएको छ । टिकटकबाट २३३, फेसबुकबाट १९०, ह्वाट्सएपबाट ११२, टेलिग्रामबाट ६९ ठगीका घटना भएको प्रहरीको तथ्यांक छ । १४ करोड २६ लाख ८३ हजार २२९ रुपियाँ ठगी भएको छ भने १ करोड २५ लाख ४ हजार ७२४ रुपियाँ फिर्ता गरेको स्थिति रहेको छ ।

विद्युतीय अपराधसम्बन्धी उचित कानुनको व्यवस्था नहुँदा विभिन्न मुद्दालाई एकै प्रकृतिमा राखेर अनुसन्धान गर्न प्रहरी बाध्य भइरहेको छ । यसबाहेक सामाजिक सञ्जालबाट ठगी हुँदा कतिपय अवस्थामा प्रहरी पीडकसम्म पुग्न सक्ने स्थितिसमेत छैन । त्यसैले आगामी आर्थिक वर्षमा विद्युतीय अपराध नियन्त्रणका लागि ‘विशेष अनुसन्धान एकाइ’को स्थापना गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा उल्लेख हुनु स्वागतयोग्य मान्नै पर्छ ।