गुल्मी । करिब डेढ वर्षको अन्तरालमा गुल्मीमा फेरि उस्तै प्रकृतिको हृदयविदारक घटना दोहोरिएको छ । बँदेलबाट बाली जोगाउन खेतबारीमा प्रवाह गरिएको विद्युतीय करेन्टमा परेर यसपटक धुर्कोट गाउँपालिका–५, गान्टारीकी ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको छ । यसअघि २०८१ चैत १२ गते मुसिकोट नगरपालिका–७ मा यस्तै घटनामा चन्द्रकला कुमालले ज्यान गुमाएकी थिइन् ।
दुवै घटनामा जंगली जनावरबाट बाली जोगाउन श्रीमान्ले खेतमा प्रवाह गरेको करेन्ट आफ्नै श्रीमतीको मृत्युको कारण बनेको छ । यी दुई घटनाले गुल्मीका किसानले वर्षौंदेखि भोग्दै आएको जंगली जनावरको समस्या, राज्यको कमजोर व्यवस्थापन र किसानको बढ्दो निराशालाई राष्ट्रिय बहसको विषय बनाइदिएको छ ।
दोहोरियो उस्तै दुर्घटना
प्रहरीका अनुसार धुर्कोट गाउँपालिका–५, गान्टारीका ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको मकैबारीमा बँदेलबाट बाली जोगाउन विद्युत् पोलबाट तार तानेर करेन्ट प्रवाह गरेका थिए । राति करिब १ः३० बजे सोही करेन्टमा परेर उनकी श्रीमती हुमकला भण्डारी गम्भीर घाइते भएकी थिइन् । तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पु¥याइए पनि राति ३ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
घटनापछि प्रहरीले भेषराज भण्डारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
धुर्कोटको यो घटनाले धेरैलाई डेढ वर्षअघि २०८१ चैत १२ गते मुसिकोट नगरपालिका–७ मा भएको अर्को दुःखद घटना सम्झाएको छ । त्यति बेला मुसिकोट नगरपालिका पल्टारस्थित कर्णबहादुर कुमालले बाँदर भगाउन आफ्नै बारीमा विद्युतीय तार प्रवाह गरेका थिए । दुर्भाग्यवश सोही करेन्टमा परेर उनकी ६० वर्षीया श्रीमती चन्द्रकला कुमालको मृत्यु भएको थियो । दुवै घटनाको उद्देश्य एउटै थियो– बाली जोगाउने । तर परिणाम अत्यन्त दर्दनाक बन्यो ।
जसले आफ्नो परिवारको पेट पाल्न बाली जोगाउन खोजे, अन्ततः आफ्नै परिवारका सदस्य गुमाउन पुगे ।
गुल्मीमा खेतबारीमा प्रवाह गरिएको वा लत्रिएको बिजुलीको तारका कारण मृत्यु हुने घटना यो मात्र होइन । २०७९ असार २१ गते मुसिकोट नगरपालिका–१, सिंग्ले सलुनीटोलका ५९ वर्षीय गोपाल सार्कीको पनि करेन्ट लागेर मृत्यु भएको थियो । उनी घरनजिकैको मकैबारीमा बाँदर कुर्न जाने क्रममा भुइँमा लत्रिएको बिजुलीको तारमा छोएपछि करेन्ट लागेर ज्यान गुमाएका थिए । यसले देखाउँछ कि जंगली जनावरबाट बाली जोगाउने प्रयासमा किसानहरू बारम्बार जोखिमपूर्ण उपाय अपनाउन बाध्य भइरहेका छन् ।
बढ्दो जंगली जनावर र घट्दो खेती
गुल्मीका अधिकांश ग्रामीण क्षेत्रमा पछिल्ला वर्षहरूमा बाँदर र बँदेलको आतंक निकै बढेको किसानहरू बताउँछन् । मकै, आलु, तरकारी, फलफूललगायतका बाली पाक्न नपाउँदै जंगली जनावरले नष्ट गर्ने गरेको उनीहरूको गुनासो छ ।
केही दिनअघि मात्रै रेसुङ्गा नगरपालिका–६ का किसान प्रेम नेपालीले बाँदर र बँदेलले आफ्नो मकैबारी पूर्णरूपमा नष्ट गरेको गुनासो गरेका थिए । यस्तै इस्मा गाउँपालिका–१ का बाबुराम पन्थीले महिनौँको मेहनत केही रातमै समाप्त भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरुको पीडा दर्दनाक थियो । बाँदर र बँदेलबाट पाइरहेको हैरानीबाट आजित बनेर प्रेम नेपालीले त भाडामा लिएको जग्गाधनीलाई भाडा नमाग्नसमेत आग्रह गरेका थिए ।
यस वर्ष समयमै वर्षा नहुँदा गुल्मीका अधिकांश स्थानमा मकैसहित अन्य बालीको उत्पादन घट्ने अनुमान गरिएको छ । सिँचाइको अभाव, मल र बीउको समस्या, बढ्दो उत्पादन लागत र बजारको अनिश्चितताले किसान पहिल्यै समस्यामा थिए ।
त्यसैमाथि बाँदर र बँदेलले बाँकी रहेको बालीसमेत नष्ट गर्न थालेपछि किसान झन् निराश बनेका छन् । स्थानीयका अनुसार गाउँमा युवाको वैदेशिक रोजगारीतर्फ पलायन, श्रमिक अभाव र बढ्दो बाँझो जमिनले जंगली जनावरको बासस्थान विस्तार हुँदै गएको छ । यसले मानव र वन्यजन्तुबीचको द्वन्द्व झन् बढाएको छ ।
मेहनत, लगानी र समय खर्चिएर उत्पादन गरेको बाली केही घण्टामै सखाप भएपछि धेरै किसानले खेती नै छाड्न थालेका छन् । खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको छ । कतिपय गाउँमा वर्षौंदेखि उत्पादन हुँदै आएका खेतहरू अहिले घाँसे मैदानमा परिणत भएका छन् ।
किन रोजिन्छ जोखिमपूर्ण उपाय ?
जंगली जनावरबाट बाली जोगाउन किसानले रातभर खेतमा बस्ने, टिन पिट्ने, बन्दुक पड्काउने, कुकुर लगाउने, जाली हाल्ने, काँडेतार लगाउने, टर्च बाल्नेलगायतका विभिन्न उपाय अपनाउँदै आएका छन् । तर जनावरको संख्या बढ्दै जाँदा र ती उपाय प्रभावकारी नहुँदा केही किसान विद्युतीय करेन्ट प्रयोग गर्नेसम्मको जोखिमपूर्ण निर्णयमा पुग्ने गरेका छन् ।
कृषि तथा विद्युत् क्षेत्रका जानकारहरूका अनुसार खुलारूपमा करेन्ट प्रवाह गर्नु कानुनीरूपमा निषेधित मात्र होइन, अत्यन्त खतरनाक पनि हो । यसले जंगली जनावर मात्र होइन, मानिस, चौपाया र अन्य वन्यजन्तुको पनि ज्यान लिन सक्छ । धुर्कोट र मुसिकोटका घटनाले यही जोखिमको भयावह परिणाम देखाएका छन् ।
राज्यको दीर्घकालीन योजना खोइ ?
जंगली जनावरबाट हुने क्षति नयाँ समस्या होइन । हरेक वर्ष किसान यही पीडाबाट पीडित भइरहेका छन् । तर प्रभावकारी नियन्त्रण, वैज्ञानिक व्यवस्थापन, क्षतिपूर्ति र बाली सुरक्षा कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन हुन सकेको देखिँदैन । धुर्कोटको पछिल्लो घटनाले फेरि गम्भीर प्रश्न उठाएको छ । जब किसान आफ्नो बाली जोगाउन ज्यान जोखिममा राख्न बाध्य हुन्छन्, त्यसको जिम्मेवारी कसले लिने ?
इस्मा गाउँपालिका–६ का पूर्ववडाध्यक्ष हिरबहादुर जिसीले जंगली जनावर नियन्त्रणमा राज्य गम्भीर बन्नुपर्ने बताए । उनका अनुसार किसानको पीडा समयमै समाधान गर्न नसके खेतीप्रति आकर्षण झन् घट्दै जानेछ र गाउँका खेतीयोग्य जमिन थप बाँझो बन्ने बताए । उनले सुरक्षित र प्रभावकारी बाली संरक्षण, वैज्ञानिक वन्यजन्तु व्यवस्थापन, किसानमैत्री राहत तथा क्षतिपूर्ति, आधुनिक तारबार र स्थानीय तहसँग समन्वय गरी दीर्घकालीन योजना लागू गर्न सरकारसँग माग गरे ।
यससम्बन्धमा गुल्मी–२ बाट निर्वाचित सांसद गोविन्द पन्थीले संसद्मा समेत ध्यानाकर्षण गराएका थिए । यस्ता गुनासा सामाजिक सञ्जालदेखि सरकार र सम्बन्धित निकायसम्म पुगिरहेका छन् । तर किसानले प्रत्यक्ष अनुभूति गर्ने गरी समस्या समाधान भएको अनुभव गर्न सकेका छैनन् ।
मुसिकोट र धुर्कोटका दुई घटनाले एउटा स्पष्ट सन्देश दिएका छन् । किसानले आफ्ना परिवारको पेट पाल्न खेत जोगाउन खोज्दा आफ्नै परिवार गुमाउनुपर्ने अवस्था कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन । जंगली जनावरको समस्या केवल किसानको निजी समस्या होइन, यो कृषि, खाद्य सुरक्षा, ग्रामीण अर्थतन्त्र र राज्यको जिम्मेवारीसँग जोडिएको विषय हो ।
सरकारले समयमै प्रभावकारी वन्यजन्तु व्यवस्थापन, सुरक्षित बाली संरक्षण प्रणाली, किसानलाई प्राविधिक सहयोग, क्षतिपूर्ति र दीर्घकालीन नीति लागू गर्न सकेन भने यस्ता दुःखद घटनाहरू फेरि दोहोरिन सक्ने खतरा उत्तिकै बलियो छ । किसानले आफ्नो बाली जोगाउने कि आफ्नै ज्यान र परिवारको सुरक्षा गर्ने ? यसको उत्तर अब राज्यले दिनुपर्ने बेला आएको छ ।











प्रतिक्रिया