राष्ट्रपतिद्वारा संगीतकर्मी र पत्रकारलाई नातीकाजी सम्मान र पुरस्कार प्रदान


नेपाली संगीत, कला र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने विभिन्न संगीतकर्मी र पत्रकारलाई यस वर्षको नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

नातिकाजी स्मृति समाजद्वारा शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधाका संगीतकर्मी, कलाकर्मी तथा सम्मान र पुरस्कार प्रदान गरेका हुन्।

समारोहमा गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की, वीरेन्द्र पाठक, शशी गुरुङ, गणेश पराजुली, जुजुकाजी रञ्जित, अष्ट लामा, डा. भीमार्जुन आचार्य र निर्वाण सीं गुरुङलाई नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान प्रदान गरिएको छ। नातिकाजी राष्ट्रिय संगीत पुरस्कारबाट मनोज खड्का, रोशन गुरुङ, ताराप्रकाश लिम्बू, सरिता शाही, चाद सीं र महेश्वरमान राजभण्डारीलाई पुरस्कृत गरिएको छ। राष्ट्रिय प्रतिभा पुरस्कार सुरेश लामा, विपना तामाङ र सहिमा श्रेष्ठलाई प्रदान गरिएको छ।

त्यसैगरी नातिकाजी राष्ट्रिय शास्त्रीय तथा आधुनिक संगीत पुरस्कार प्रमोद उपाध्याय तथा नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार अनन्त वाग्ले र गीता अधिकारीलाई प्रदान गरिएको छ। सम्मान र पुरस्कारसगै जनही ११ हजार रुपिया नगद राशिसमेत प्रदान गरिएको छ। कार्यक्रममा सम्मानित संगीतकर्मीले नातिकाजीद्वारा संगीतबद्व लोकप्रिय गीतहरू प्रत्यक्ष गाएर सुनाएका थिए।

नातिकाजी स्मृति समाजका अध्यक्ष तथा ख्यातिप्राप्त शम्भुजित बा“सकोटाले नेपाली सुगम संगीतका शिखर पुरुष नातिकाजी श्रेष्ठले संगीतलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक चेतना जगाउने माध्यमका रूपमा प्रयोग गरेको चर्चा गर्दै समाजले प्रत्येक वर्ष विभिन्न क्षेत्रका कलाकर्मीको योगदानको कदर गर्दै आएको जानकारी गराए।