सुरु भयोे वर्षा

केही स्थानमा भारी वर्षाको सम्भावना

1.5k
Shares

–तीनदिने बुलेटिन हेरेर यात्रा गर्न मौसमविद्को आग्रह
–काठमाडौँमा हप्प, छिनछिनमा गर्मी फेरि वर्षात्

काठमाडौं ।

मनसुनी वायुको प्रभावले देशभर वर्षा सुरु भएको छ । मंगलवारबाट देशभर मनसुन फैलिएको भोलिपल्ट बुधवारदेखि अधिकांश स्थानमा वर्षा भैरहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको थियो ।

मौसमविद् विभूति पोखरेलले आज पनि देशभरका केही स्थानमा भारीदेखि मध्यमखालको वर्षा हुने जानकारी दिनुभयो । उपत्यकामा वर्षा सोमवारदेखि केहीछिन गर्मी फेरि वर्षात हुने गरेको थियो । बुधवार दिउँसो एकदम गर्मी बढेको थियो तर दिउँसो केहीबेर पानी परेपछि राहत भएको थियो ।

उपत्यकामा एलनिनोको कारण दिउँसो हप्प गर्मी भएको जानकारी दिँदै पोखरेलले नेपाल समाचारपत्रसँग कुरा गर्दै नेपालमा यो वर्ष कम वर्षा हुने बताउनुभयो । मौसमविद्ले सीमित स्थानमा मात्र नभई देशैभरि कम वर्षा हुने भए तापनि यो साता देशका केही स्थानमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेको बताउनुभयो ।

मंगलवार रातीदेखि सामान्य वर्षा भएको काठमाडौंमा यो सातासम्म निरन्तर वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । उनीहरूले ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना रहेको भए पनि एलनिनोको कारण औसतभन्दा कम वर्षा र बढी तापक्रम हुने प्रक्षेपण गरेका छन् । एलनिनो विकसित भएमा कमजोर मनसुन, तापक्रम वृद्धि, खडेरी र कृषि उत्पादनमा गिरावट आउन सक्ने जोखिम देखिएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा भैरहेको छ । काठमाडौँको एकदुई क्षेत्रका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । लामो समयदेखि तराईमा पानी परेको थिएन ।

मंगलवारबाट केही राहत हुने अपेक्षा किसानले गरेका छन् ।मौसमविद् दीपक अर्यालले साताभरि पानी पर्ने जानकारी दिँदै भन्नुभयो–‘धान रोप्न पानी आउँछ, पछि धानमा पानी नै नपुग्ने गरी सुख्खा हुनेछ ।’ उहाँका अनुसार विगत वर्षभन्दा यो वर्ष फरक मौसमी प्रणालीे छ ।

पूर्वी नेपालमा मनसुन आइपुगे पनि यो कम्तिमा एकहप्ता पश्चिमी नेपाल नपुग्न सक्छ । पानी पर्दै नपर्ने होइन, पूर्णरूपमा खडेरी पनि होइन तर धानखेतलाई मुस्किल पर्ने हुनसक्छ । मौसमविद्का अनुसार केही हप्ता पानी पर्ने, फेरि खडेरी हुने अनि अन्तिममा फेरि भारी वर्षा हुने सम्भावना रहेको बताइरहेका छन् । उनीहरूका अनुसार भदौ अन्तिम सातादेखि असोज महिनाभित्र मौसम बाहिरिने समयमा ठुलो वर्षा हुने सम्भावना छ ।

सन् १८७६÷१८७८ को एलनिनोले एसिया, अफ्रिकाका साथै ब्राजिलजस्ता देशमा भीषण खडेरी तथा व्यापक अनिकाल निम्त्याएको थियो । यो वर्ष युरोपमा भयावह भएको छ । फ्रान्समा मात्र अत्याधिक गर्मीका कारण करिब १ हजार ३ सयको मृत्यु भैसकेको छ । युरोपका जंगलमा आगलागी हुने सम्भावना रहेको आशंका गरिएको छ । नेपालमा हरेक ३–३ वर्षमा खडेरीयुक्त मौसम हुने गरेको छ ।

विश्व मौसम संगठन(डब्ल्यूएमओ)को दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) ले हालै सार्वजनिक गरेको प्रक्षेपणले पनि यस वर्ष दक्षिण एसियामा औसतभन्दा कम वर्षा हुने आँकलन गरेको छ । मञ्चको बैठकमा सहभागी मौसमविद्हरूले यो मनसुनमा एलनिनो विकास हुने सम्भावना देखाएका थिए ।

एलनिनो एउटा प्राकृतिक मौसमी चक्र हो । प्रशान्त महासागरको पानी असामान्य रूपमा तातो बन्दै गएपछि यसले विश्वभरिको मौसममा ठूलो फेरबदल ल्याउँछ । यहाँबाट उठेको तातो वाष्पले दक्षिण एसियाली मनसुनी प्रणालीलाई समेत कमजोर बनाउँछ ।

यो वर्ष छोटो अवधिमा हुने अत्यधिक वर्षा,बढ्दो तापक्रम र पानीको अभावले अझ खतरनाक बन्न सक्ने आशंका छ । मौसमविद्ले मनसुनी प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाउँदै आवश्यकताअनुसार मौसमसम्बन्धी सूचना र पूर्वानुमानको आधारमा मात्र आफ्नो योजना बनाउन र घर छाडेर बाहिर जान आग्रह गरेका छन् । साथै सर्वसाधारण तथा सरोकारवाला निकायलाई मौसम विज्ञान विभागले जारी गर्ने ‘तीन दिने मौसम बुलेटिन’ नियमित रूपमा हेर्न र मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन आग्रह गरेको छ ।