जितुको कार्की साइँला असोजमा


अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म कार्की साइलाको रिलिज डेट फेरिएको छ। साउन १ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अब असोज २ गतेबाट हलमा आउने भएको छ।

निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज डेट घोषणा गरेको हो। नयाँ पोस्टरमा जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी) रोमान्टिक मुद्रामा देखिएका छन्। पोस्टरले फिल्ममा प्रेमकथाको पाटोलाई संकेत गरे पनि शीर्षकले भने एक भरियाको जीवन र संघर्षको कथा बोकेको आभास गराउँछ।

वितरकहरूसँगको आपसी छलफलपछि रिलिज डेट सारिएको निर्माण पक्षले जनाएको छ। राजेन्द्र बस्नेतद्वारा निर्देशित फिल्मको छायाँकन धनकुटा, बराहक्षेत्र र चतरालगायत पूर्वी नेपालका विभिन्न स्थानमा गरिएको छ।
फिल्ममा जितु र प्रियनासँगै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटालगायतको अभिनय रहेको छ।

कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा बालकुमार राईद्वारा निर्मित तथा कृष्ण भगत चाम्लिङद्वारा प्रस्तुत फिल्ममा अनन्त राई कार्यकारी निर्माता रहेका छन्। सबिन अधिकारी र शंकर धितालको लेखन रहेको फिल्ममा दिप्सन लिम्बूको संगीत, किरण दाहालको द्वन्द्व निर्देशन र डम्बर राईको छाया“कन रहेको छ। फिल्मलाई काठमाडौ“ उपत्यकाभित्र काफिया फिल्मस्कातर्फबाट गोविन्द शाहीले बजार व्यवस्थापन गर्नेछन् भने उपत्यकाबाहिर कुबेर फिल्म्स्ले वितरणको जिम्मेवारी लिएको छ।