औपचारिक सीमाभन्दा बाहिर नेपालको कूटनीति, ‘जनसहभागिता र बौद्धिक संवाद’मा जोड


काठमाडौं

नेपालको कूटनीतिलाई परम्परागत सरकारी तहको औपचारिक सम्बन्धबाट बाहिर निकालेर जनसहभागिता, बौद्धिक बहस र अन्तर्राष्ट्रिय सहकार्यसँग जोड्नुपर्ने आवश्यकता औंल्याइएको छ ।नेपाल विश्व सम्बन्ध परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल र परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशअनुसार नेपालको कूटनीतिक प्राथमिकता र शैली दुवै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

सभामुख अर्यालले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, प्राकृतिक स्रोत, संस्कृति र सम्पदाप्रति नयाँ पुस्तालाई जागरुक बनाउने कामलाई कूटनीतिक रणनीतिसँग जोड्नुपर्ने बताए । शिक्षामा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता र जनस्तरका कार्यक्रममार्फत राष्ट्रिय महत्वका विषय बुझाउन सके त्यसले दीर्घकालीन रूपमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउने उनको भनाइ थियो ।

उनले नेपालको कूटनीतिलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन कूटनीतिक नियोग, बौद्धिक समुदाय र सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताए । ‘तपाईंहरूको लगन, मेहनत र प्रतिबद्धताविना राष्ट्रिय नीतिका लक्ष्य पूरा हुन सक्दैनन्,’ उनले भने, -‘सबै मिलेर नेपालको गौरव र प्रतिष्ठा बढाउनेगरी कूटनीतिक सफलताको नयाँ अध्याय सुरु गर्नुपर्छ ।’

परराष्ट्रमन्त्री खनालले पनि नेपालको परराष्ट्र नीति अब उच्चस्तरीय भ्रमण, औपचारिक बैठक र सन्धि–सम्झौतामा मात्र सीमित नरहेको उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा, डिजिटल अर्थतन्त्रमार्फत नेपाली युवाको विश्व बजारमा पहुँच र महामारीजस्ता संकटका समयमा खोप तथा औषधिको सुनिश्चिततालाई नेपालको नयाँ कूटनीतिक प्राथमिकताका रूपमा व्याख्या गरे ।

‘आजको बदलिँदो विश्वमा नेपालले आफ्नो सार्वभौमसत्ता अक्षुण्ण राख्दै विश्व अर्थतन्त्रसँग एकीकृत हुनुपर्ने चुनौती सामना गरिरहेको छ,’ उनले भने- यस्तो अवस्थामा स्वतन्त्र र गैरराजनीतिक थिंक ट्याङ्कहरूको भूमिका अझ महत्वपूर्ण हुन्छ ।’

जलवायु संकट, विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोध र ऊर्जा सुरक्षाजस्ता चुनौतीले विश्व राजनीति र अर्थतन्त्रलाई नयाँ ढंगले प्रभावित गरिरहेको जिकीर गर्दै परराष्ट्रमन्त्री खनालले औपचारिक कूटनीतिले तत्काल सम्बोधन गर्न नसक्ने संवेदनशील विषयमा ‘ट्रयाक टु डिप्लोमेसी’मार्फत बौद्धिक तथा अनौपचारिक संवादलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

सन् १९४८ मा स्थापना भएको नेपाल काउन्सिल अफ वर्ल्ड अफेयर्स (एनसीडब्लुए) ले नेपालको कूटनीतिक विकासक्रममा सचेत पहरेदारको भूमिका खेलेको उल्लेख गर्दै मन्त्री खनालले आगामी दिनमा पनि संस्थाले नीति बहस र वैचारिक संवादलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल विश्व सम्बन्ध परिषद्को जर्नलको पनि विमोचन गरिएको थियो ।