सहकारी पीडितको बचत ऋण असुलीबाट फिर्ता गरिने : मन्त्री रावल


काठमाडौँ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी पीडितको वचत रकम राज्यकोषबाट नभई सहकारीको ऋण असुलीमार्फत फिर्ता गरिने स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारकाे बैठकमा बोल्दै मन्त्री रावलले यस्तो बताउनुभएको हो । उहाँले सहकारीमा देखिएको समस्या समाधानका लागि सरकारले ऋण असुली, वचत फिर्ता र सहकारीहरुको नियमनलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सहकारी वचतकर्ताको रकम फिर्ता गर्न सहकारी ऋणीहरुलाई ऋण फिर्ता गर्नको लागि सार्वजनिक सूचना समेत जारी गरिसकिएको बताउनुभएकाे छ ।

मन्त्री रावलले वचतकर्ताको रकम फिर्ताका लागि बजेट पहिले नै विनियोजन भइसकेको र वर्तमान सरकारले निकासा मात्रै गरेको पनि स्पष्ट पार्नुभयो । उहाँले सहकारी नियमनलाई थप प्रभावकारी बनाउन अध्यादेशमार्फत कानूनी संशोधन गरिएको पनि बताउनुभएकाे छ ।

सरकारले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको वचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०८३ ल्याएको र त्यसको कार्यान्वयन प्रक्रिया शुरु भइसकेको मन्त्री रावलले जानकारी गराउनुभयाे।