रोजगारी नभएपछि गाउँ छोड्दै छन् युवा

846
Shares

दोलखा। 

ग्रामीण क्षेत्रमा सडक, बिजुली, टेलिफोन, इन्टरनेट जस्ता सुविधा पुगेको भएपनि रोजगारीको लागि युवाहरु विदेशीने क्रम बढेपछि त्यहाँका वस्तिहरु खाली हुन थालेका छन् । 

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– २ भुसाफेदा मालिघ्याङका सोम बहादुर श्रेष्ठ गाउँमा सबैखाले सुविधा पुगेको भएपनि रोजगारीको अभाव र कृषि व्यवसाय धरासायी बनेपछि जेष्ठ नागरिक बाहेक अधिकांशले गाउँ छोडेको बताउँछन् ।  

गाउँमा रोजगारी छैन, कृषि क्षेत्रमा जतिसुकै मेहेनत गरेपनि बजारको समस्या छ त्यसैले धेरै युवाहरु रोजगारीको लागि विदेश गएका छन्– सोम बहादुरले भने । गाउँमा भएका अधिकांश महिलाहरु पनि छोरा– छोरी पढाउने भन्दै राजधानी काठमाडौँ र सदरमुकाम चरिकोटतिर लागेपछि गाउँ सुनसान बनेको उनको भनाई छ । 
अहिले गाउँमा राम्रा– राम्रा विद्यालय भवन छन्, स्वास्थ्य केन्द्र छ, सडक, बिजुली र फोन पनि छ तर आयस्रोतको लागि भरपर्दो उपाय नदेखिएपछि कमाउन सक्नेहरु सबैले गाउँ छोडेका छन्– सोम बहादुरले भने । 

वडा नम्बर– २ घट्टेखोलाको कालिका लामा पनि भूकम्पपछि धेरैले गाउँ छोडेको बताउँछिन् । स्वास्थ्य चौकी भवनसँगै होटल र पसल सञ्चालन गर्दै आएको लामा गाउँमा भूकम्प प्रतिरोधी राम्रा– राम्रा घर बनेको भएपनि बस्ने मानिस भने घट्दै गएको बताउँछिन् । दशै– तिहार जस्ता पर्वहरुमा सबै मानिस गाउँ फर्कने भएपनि अरु समय गाउँ सुनसान हुने गरेको उनको भनाई छ । 

शैलुङ वडा नम्बर– १ ठाँडेका खड्ग बहादुर मोक्तान गाउँमा खेती– किसानी गरेर आम्दानी हुने अवस्था नभएको र राम्रो उपचारको लागि पनि राजधानी वा सदरमुकाम धारउनु पर्ने बाध्यता भएपछि धेरैले गाउँ छाडेको बताउँछन् । यो क्रम भूकम्प पछि बढेको उनको भनाई छ । 

२०७२ को विनाशकारी भूकम्प पछि गाउँमा राम्रा– राम्रा घर बनेका छन्, सडक, स्वास्थ्य चौकी र विद्यालय छन्, तर मानिस घट्दै गए– उनले भने । मानिसलाई गाउँमै बस्ने वातावरण बनाउन कृषि र स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने उनको भनाई छ ।
 
शैलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु कार्की गाउँमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएपनि रोजगारीको लागि युवाहरु विदेश जान थालेपछि गाउँ छोड्ने क्रम बढेको बताउँछन् । भूकम्प पछि चालिस प्रतिशत मानिसले गाउँ छोडेको कार्कीको अनुमान छ । 

शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ गाउँपालिकाले हरेक गाउँमा सबैखाले सुविधा पु¥याउको भएपनि मानिसलाई रोक्न नसकिएको बताउँछन् । सडक, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा सुधार गरेको भएपनि रोजगारी दिन नसकिने भएकोले मानिसलाई गाउँमा रोकिने अवस्था नबनेको अध्यक्ष श्रेष्ठको भनाई छ । सहर पसेका मानिसलाई गाउँ फर्काउन  पालिकाले कृषि क्षेत्रको सुधार गर्दै आयस्रोत बढाउने कुरामा ध्यान दिई रहेको उनको भनाई छ ।