काठमाडौँ
डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग्दै निवेदन दर्ता गरेको छ ।
कम्पनीले जारी पुँजीको ३० प्रतिशत बराबर १६ लाख २० हजार कित्ता साधारण सेयर प्रति कित्ता १०० रुपियाँका दरले आइपिओ निष्कासन गर्ने योजना बनाएको हो । वि.सं. २०७६ सालदेखि सञ्चालनमा रहेको उक्त रिसोर्ट भक्तपुर जिल्लाको डोलेश्वर क्षेत्रमा १० रोपनी क्षेत्रफलमा फैलिएको छ ।
पाँचतारे होटलमा स्तरोन्नति हुने प्रक्रियामा रहेको यो रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ । प्राकृतिक सौन्दर्यसँगै अत्याधुनिक सुविधा सहितको आरामदायी बसोबास, विवाह, व्रतबन्ध, सेमिनार, गोष्ठी तथा पिकनिकजस्ता विभिन्न कार्यक्रमका लागि उपयुक्त स्थलका रूपमा परिचित यो रिसोर्ट प्रसिद्ध डोलेश्वर महादेव मन्दिरबाट करिब २०० मिटरको दूरीमा अवस्थित छ ।
कम्पनीले आइपिओ निष्कासनका लागि बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ भने केयर रेटिङ नेपालले कम्पनीलाई ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ ।











प्रतिक्रिया