काठमाडौं ।
नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठ दोश्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा संयोगले एभीएमका रुविन महर्जनलाई ८–११, १७–१५, ११–९, ६–११ र ११–९ को सेटमा पराजित गरे । प्रहरीका गनञ्जय दाहाल र भिजन टेबलटेनिस एकेडेमीका हिमाल विष्ट तेश्रो भए ।
ललितपुर महानगरपालिका वडा ११ को मुख्य प्रायोजनमा खोल्चा पुखु खेलकुद उपसमितिद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा नौं पटककी राष्ट्रिय च्याम्पियन नविताले उपाधि जितिन् । उनले एभीएमकी इभाना थापालाई ११–८, १२–१४, ११–६, ७–११ र १५–१३ ले हराइन् । एभीएमकी वियंका राई र भिजनकी योङगी पौडेल तेश्रो बने ।
भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौं महानगरपालिका वडा २५ का महेश श्रेष्ठ पहिलो, एभीएमका राजकुमार शाही दोश्रो तथा इखाछेनका मुकेश महर्जन र काठमाडौंका उमेश मानन्धर तेश्रो बने । ५० वर्षमाथि पुरुष सिंगल्समा एभीएमका जय महर्जनले स्वर्ण, नक्सालका रक्त मानन्धरले रजत तथा खोल्चा पुखुका नदिमरत्न शाक्य र इखाछेनका राजेन्द्र वज्राचार्यले कांस्य जिते ।
ललितपुर जिल्ला टेबलटेनिस संघको सहयोग तथा स्पिन इभेन्ट्स प्रा.लि. को व्यवस्थापनमा भएको प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौं २ का अशोक शर्मा प्रथम, होप्सका राजन सुब्बा द्वितीय तथा खोल्चा पुखुका प्रकाश धाक्वा र इखाछेनका शरद्मान श्रेष्ठ तृतीय भए ।
यु–१६ मिक्स युथमा एभीएमका आरभ मल्ल, इखाछेनका सोयम महर्जन, इखाछेनका सुप्रिन्स महर्जन र खोल्चा पुखुका निर्भिक शाक्य क्रमशः शीर्ष ३ स्थानमा रहे । यो स्पर्धामा ललितपुर महानगरपालिका वडा ११ का प्रतिस्पर्धी मात्र सहमागी थिए ।











प्रतिक्रिया