चीनसँगको फलाक नाका सञ्चालनको पहल

चीनसंगको फलाक नाका र लामाबगर– फलाक निमार्णधिन सडक
2.63k
Shares

दोलखा।

दोलखासंग जोडिने चीनको फलाक नाका सञ्चालनको लागि सरकारले सडकको स्तरउन्नती र सीमा क्षेत्रको सुरक्षामा ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । 

दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ लामाबगर स्थित फलाक नाका पुग्ने लामाबगर– फलाक ८ किलोमिटर सडक दुई निजी जलविद्युत आयोजना सानीमा र दुगड, विगु गाउँपालिका र बागमती  प्रदेश सरकारको पहलमा निर्माण भैरहेको छ । करिब ५ सय मिटर सडक निर्माण भएपछि फलाक नाकासम्म यातायात सञ्चालन हुने विगु गाउँपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तमाङ बताउँछन् । लामाबगर– फलाक ८ किलोमिटर सडक मध्य माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम नजिक ११४५ मिटर सुरुङमार्ग निर्माण गरिएको छ ।

लामाबगरको प्रवेशमार्ग दोलखा– सिंगटी ३६ किलोमिटर र सिंगटी– लामाबगर २८ किलोमिटर सडक माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सहयोगमा निर्माण भएको हो ।

चीन– नेपाल– भारत जोड्ने सबैभन्दा छोटो त्रिदेशी मार्गको रुपमा रहेको करिब २५० किलोमिटरको सडकले चीनसँगको सिमाना दोलखाको फलाक नाकाबाट भारतसंगको सिमाना महोत्तरीको भिटामोडसम्म जोड्ने विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले बताए । 

त्रिदेशी छोटो मार्गको रुपमा रहेको करिब २५० किलोमिटरको फलाक– भिटामोड सडक मध्य लामाबगरबाट फलाकसम्मको ८ किलोमिटर सडकको स्तरउन्नती र तामाकोशी तथा जुम खोला र लप्ची खोलामा पक्की पुल निर्माण गरियो भने चीनसँगको रसुवा र तातोपानी नाकाको विकल्मा फलाक नाका सञ्चालन हुनसक्ने स्थानीयको भनाई छ ।

चीन तर्फबाट फलाक नाकासम्म सडक आईसकेको र त्यहाँबाट झन्डै ३० किलोमिटरको दूरीमा उनीहरुको रोङसिया बजार रहेको विगु गाउँपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तमाङले बताए । 

विगतमा फलाक नाकाबाट कुती हुदै चीनसंग व्यापार हुने भएकोले सरकारले २०२५-०२६ सालबाटै लामाबगरमा भन्सार कार्यालय स्थापना गरेको स्थानीय बताउँछन् । यो कार्यालय २०४५ सालसम्म राम्रैसंग सञ्चालनमा रहेको भएपनि त्यसयता भने साईनबोर्डमा मात्र सिमित रहेको स्थानीयको गुनासो छ । 

फलाक नाकाको विषयमा अध्यनगर्न दोलखाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल र स्मृती सेञ्चुरी, जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानी, प्रमुख जिल्ला अधिकारी, डिभिजन सडक प्रमुख, जनपथ र शसस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख लगायतको टोली स्थलगत पुगेको थियो । 

सांसद जगदीश खरेलले फलाक नाका नेपालको लागि महत्त्वपूर्ण रहेकोले यो नाका खुलाउन र लामाबगरबाट फलाकसम्मको सडकको स्तरउन्नतीको लागि आफूले पहल गर्ने बताए । 

डिभिजन सडक कार्यालय दोलखाका प्रमुख नारायणदत्त भण्डारीले ८ किलोमिटर सडक स्तरउन्नती पछि फलाकनाका सम्मको सडक राम्रोसंग सञ्चालन हुने अवस्था रहेको उल्लेख गर्दै सडक स्तरउन्नतीको लागि आफूले पहल गर्ने बताए । 

तस्विरः चीनसँगको फलाक नाका र लामाबगर– फलाक निमार्णधिन सडक ।