गरिमा विकास बैंक लिमिटेडलाई दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त


काठमाडौँ
गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा प्रवाह तथा सूचना सुरक्षाको प्रभावकारी व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ र आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै बैंक एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र हासिल गर्ने सीमित संस्थाहरूको सूचीमा पर्न सफल भएको छ ।

लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा विश्वव्यापी सर्टिफिकेसन संस्था “इन्टरसर्ट” का तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले गरिमा विकास बैंकले गुणस्तरीय बैंकिङ सेवा प्रवाह र सूचना प्रविधि सुरक्षाको क्षेत्रमा अझ प्रभावकारी रूपमा अघि बढ्ने बताउनुभयो । गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालयमार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित तथा विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।