काठमाडौं ।
गत फागुन २१ को संसदीय निर्वाचनपछि नेपालमा कम्युनिष्टहरुको हालत पश्चिम बंगालतर्फ उन्मुख हुँदै गएको चर्चासँगै पुनः वाम एकताको स्वर तीव्र बनेको छ । नेकपाको ७७ औं स्थापना दिवस मनाइरहँदा नेताहरुले वामपन्थी एकता अपरिहार्य रहेको बताइरहेका छन् । तर, फागुन २१ को निर्वाचन परिणामले देखाएको ‘भुइँचालो’ ले यो एकता मात्रै पर्याप्त नहुने संकेत गरेको छ ।
गत वर्ष भदौ २३ र २४ मा भएको ‘जेन्जी आन्दोलन’ ले नेपालको राजनीतिलाई नै हल्लाएको थियो । सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको यो आन्दोलन भ्रष्टाचार र शासकीय विसंगतिविरुद्धको व्यापक विद्रोहमा परिणत भएको थियो । त्यस आन्दोलनले तत्कालीन सरकारलाई मात्र होइन, ठूला परम्परागत दलहरुको ‘वैकल्पिक हुँदैन’ भन्ने मान्यतालाई समेत ध्वस्त पारेको थियो ।
सोही आन्दोलनको प्रभाव फागुन २१ को चुनावमा स्पष्ट देखियो । दशकौंदेखि करिब ४० प्रतिशत मत हासिल गर्दै आएका वामपन्थी पार्टीहरुको मत यसपटक घटेर २१ प्रतिशतमा झरेको छ । यो आँकडाले संकेत गर्छ । वामपन्थीहरु मात्रै सकिएका होइनन्, जनताको धैर्य पनि सकिएको छ । पश्चिम बंगालमा ३४ वर्षे सत्ता सुखपछि माक्र्सवादीहरु ऐतिहासिक रुपमा पछि हटेको दृश्य नेपालमा दोहोरिने संकेत देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
नेपालमा वामपन्थीहरुको दिन सकिएको हो त ? यो प्रश्नमा वरिष्ठ राजनीतिक विश्लेषक पूर्णज्ञान आचार्य स्पष्ट हुनुहुन्छ । उहांले भन्नुभयो–‘फागुन २१ को परिणामले स्पष्ट पारेको छ । जनताले वामपन्थी विचारलाई होइन, कमजोर नेतृत्व र असफल शासनलाई नकारेका हुन् । विगतमा नेपाली कांग्रेस र एमाले जस्ता ठूला शक्तिलाई सहजै परास्त गर्ने माओवादीको त्यो आक्रोश अहिले कहाँ छ ? अहिलेको पुस्ताले ‘पुरानो’ भन्दै पूरै प्रणालीलाई चुनौती दिएको छ ।’
उहांले थप्नुभयो–‘यदि वामपन्थीहरु अझै पनि आफू मात्र राम्रो, अरु सबै नराम्रो भन्ने ‘जन्मजात रोग’ निको पार्न सकेनन् भने, आगामी दिनमा यिनीहरुको स्थान अरु केही दलले लिनेछ । पश्चिम बंगालको नक्साल आन्दोलनले जसरी समाप्ति पायो, यताको परम्परागत वामपन्थी त्यही बाटोतर्फ उन्मुख छ ।’
के अब वामपन्थीहरुको दिन सकिएको हो ? यसबारेमा अर्का विश्लेषक तथा राजनीतिशास्त्री प्रमेश पोखरेलले नयाँ पुस्ताले राजनीतिक दलको पुरानो ढाँचा र भ्रष्टाचारलाई स्वीकार गर्न छाडेको छ । जेन्जी आन्दोलन त्यसैको पराकाष्ठा थियो । अबको राजनीति पुराना मुद्धा र विचारभन्दा पनि सेवा प्रवाह र पारदर्शितामा केन्द्रित हुन्छ । कम्युनिष्ट पार्टीहरु भ्रष्टाचारको दागबाट मुक्त हुन नसकेसम्म, केवल एकता मात्रै पर्याप्त छैन ।’
तर, वामपन्थी नै सकिएको निष्कर्ष भने यी दुवै विश्लेषकले खण्डन गरेका छन् । आचार्य भन्नुहुन्छ–‘नेपालको अर्थतन्त्रको संरचना, असमानता र सामन्ती अवशेषहरुले वामपन्थी एजेन्डाको सान्दर्भिकता अझै जिवित छ । तर, पुरानै ढाँचामा अडिँदा भने दिन निस्चित रुपमा सकिन्छ ।’
( समाचार टिप्पणी)
नेपालका वामपन्थी दलहरूको सबैभन्दा ठूलो समस्या वैचारिक स्पष्टताको अभाव होइन, व्यवहारिक एकताको अभाव हो । एउटै विचार बोकेको दाबी गर्ने दलहरूबीच सहकार्यको संस्कृति विकास हुन सकेको देखिदैन । नेतृत्वबीचको अविश्वास र शक्ति संघर्षले वाम आन्दोलनलाई दीर्घकालीन रूपमा कमजोर बनाएको छ ।
यसै विषयमा अर्का वरिष्ठ विश्लेषक अरुण कुमार सुवेदी को टिप्पणी महत्वपूर्ण छ । उहांले चुनाव परिणामलाई ‘वामपन्थी सेनिटाइजेसन’ (बाँझोपन) सँग तुलना गर्नुभयो । उहां भन्नुहुन्छ– मात्र पार्टी मर्ज गरेर हुँदैन । जनताले ‘एक नम्बर नेता’ भनेर पूजेको व्यक्तिलाई २७ घन्टामै सडकमा झार्न सक्छ । नेकपाबाट एमाले र माओवादी छुटिँदाको घाउ अझै ताजै छ । पुनः एकता आवश्यक छ, तर त्यो नेतृत्व माथिको विश्वास पुनः स्थापित गरेर मात्रै सम्भव छ । ’
के नेता र नेतृत्वको कारणले मात्रै नेपालमा वामपन्थीहरुको दिन सकिएको हो ? यसमा विश्लेषकहरुको उत्तर ‘होइन’ रहेको छ । विश्लेषक मुकेश पोखरेलको विश्लेषण अनुसार, समस्या नेतृत्व मात्र होइन, अप्ठेरो प्रश्नको जवाफ नदिनु पनि हो । उहां भन्नुहुन्छ–जनताले अहिले कुन पोल्टिको चिया निको छ भनेर सोध्दैनन् । रोजगारी चाहियो, पूर्वाधार चाहियो । जब वामपन्थी नेताहरुले जनताको यो दैनिकीको प्रश्नलाई पुरानै राजनीतिक भाषाको जालोमा बेर्छन्, जनता त्यसबाट थाकिहाल्छन् ।
वामपन्थीहरुले पुरानै लयमा फर्कन के गर्नुपर्ला ? प्रायः विश्लेषकहरु तीन सुझाव दिएका छन । जनताको मुद्दामा फर्कनु ः उत्पादन, रोजगारी र भ्रष्टाचार नियन्त्रणको ठोस कार्ययोजना बनाउनु । सत्ता सुख त्याग्नु ः सानो सुखको लागि जुनसुकै गठबन्धनमा जाने प्रवृत्तिले विश्वास गुमाएको छ । नयाँ पुस्तालाई अवसर ः ‘पुरानै मान्छे’ को अनुहार देख्दा जनतामा निराशा मात्र होइन, विद्रोह पलाउँछ ।
नेपाली जनताले फागुन २१ मा ऐतिहासिक नतिजा दिएर नयां सुरुवात गरिसकेका छन् । अब ठूला पार्टीहरु भत्किने कि नयाँ रुपमा ढल्ने भन्ने प्रश्नको जवाफ आगामी दिनको राजनीतिले दिनेछ । तर एउटा कुरा निश्चित छ ः ‘हामी मात्र विकल्प’ भन्ने अहंकारको राजनीतिले अब नेपाल चल्ने देखिदैन ।
वामपन्थीहरूको कमजोर अवस्थाको प्रमुख कारण केवल नेतृत्व मात्र नभई संगठनात्मक संरचना र नीतिगत अस्पष्टता पनि रहेको देखिन्छ । लामो समयसम्म एउटै नेतृत्वको वर्चस्व, आन्तरिक लोकतन्त्रको अभाव र निर्णय प्रक्रियामा पारदर्शिताको कमीले कार्यकर्ता तहमा असन्तुष्टि बढाएको छ । यसले गर्दा पार्टीभित्रै विभाजन र नयाँ समूहहरूको जन्म हुँदै आएको छ ।
समग्रमा हेर्दा, नेपालमा वामपन्थी आन्दोलन चुनौतीपूर्ण मोडमा पुगेको देखिन्छ । विभाजन, नेतृत्व संकट र जनविश्वासको कमी यसको प्रमुख समस्या भए पनि वैचारिक आधार अझै समाप्त भएको छैन । त्यसैले, सुधार, एकता र नविकरणतर्फ कदम चाल्न सके वामपन्थीहरू पुनः सशक्त बन्ने सम्भावना अझै बाँकी रहेको विश्लेषकहरूको निष्कर्ष छ ।











प्रतिक्रिया