रातो मच्छिन्द्रनाथ मन्दिरकोे विवाद उच्च अदालत पुग्यो

2.44k
Shares

ललितपुर ।

ललितपुरको बुंगमतीस्थिति बुंगद्य अर्थात् रातो मच्छिन्द्रनाथ मन्दिरको बाह्य स्वरूपको विवाद अब उच्च अदालत पाटनको ढोकामा पुगेको छ । वि.सं. २०७२ को भूकम्पले पूर्ण रूपमा ध्वस्त भएको सो मन्दिरको एक दशकपछि पुनःनिर्माण भएको थियो । शिखरशैलीको यस मन्दिरको बाहिरी स्वरूप कस्तो हुने भन्ने विषयमा सरोकारवाला निकायबीच एक मत हुन नसकिरहेको समयमा यो विवाद उच्च अदालतमा ढोकासम्म पुगेको हो । यससँगै परम्पराअनुसार मन्दिरमा सेतो चुना पोत्ने(सख्वाः पायेगु) कि दाँची अप्पा (इँटा) राख्ने भन्ने विवादको निरूपण अब अदालतको विषय बनेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका – २ बस्ने ५३ वर्षीय रविन्द्र महर्जनले पुरातत्व विभाग, गुठी संस्थान केन्द्रीय कार्यालय र ललितपुर शाखा, ललितपुर महानगरपालिका र ह्ेयगृव भैरवनाथ तथा ३२ पानेजुसंघलाई विपक्षी बनाई वैशाख ४ गते शुक्रवार सो मुद्दा दायर गर्नुभएको थियो । संस्कृति संरक्षण गर्नु प्रत्येक नेपालीको हक भएको भन्दै महर्जनले रिट दायर गर्नुभएको हो ।
सो मन्दिर दाँची इँटाबाट बनेकोले सबै सरोकारवालाको वि.सं. २०८७ मंसिर ५ गतेको सहमतिअनुसार दाँची इँटाको प्रयोग गरी पुनःनिर्माण गरिएको रिट निवेदनमा उल्लेख गरिएको छ ।

त्यसपछि ३२ पानेजु संघले हरेक दुई÷दुई वर्षमा मन्दिर सेतो चुना पोत्ने परम्परा रहेको भनी सोको लागि तयारी अघि बढाएको थियो । ३२ पानेजु संघका अध्यक्ष विनोद बज्राचार्यको अध्यक्षतामा गत चैत्र २१ गते शनिवार बसेको संघको बैठकले मन्दिरमा सेतो चुना लगाई दश कर्म गर्ने निर्णय गरेको थियो । सेतो चुना पोत्न परम्परा रहेको र त्यसका लागि अलग्ग विभिन्न प्रथा जनित संस्था गुठी अस्तित्व रहेको आधारमा पानेजु संघले सो निर्णय गरेको थियो ।

यसअघि संस्थानको ललितपुर कार्यालयले २०८२ जेठ १३ गते ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितको सरोकारवालाको बैठकमा रातो मच्छेन्द्रनाथको उत्तरायन सवारी हुँदा सेतो चुना लगाउने निर्णय गरेको थियो । सोहीअनुरूप गुठी संस्थानको ललितपुर शाखाले केन्द्रीय कार्यालयमा पत्र पठाएको थियो । गुठी संस्थान केन्द्रीय कार्यालयले रातो मच्छिन्द्रनाथलाई ललितपुरको तबहालमा ल्याइसकेपछि मात्र सेतो चुना पोत्न ३२ पानेजु संघलाई पत्राचार गरेको थियो ।

सोहीअनुरूप पानेजु संघले सेतो चुना पोत्ने कार्य अघि बढाउन तयारी गर्दा उपभोक्ता समितिले सो कार्यको विरोध गरेको थियो । विवाद बढ्दै गएपछि सेतो चुना पोत्न कार्य रोक लगाउन उजुरी परेको भन्दै पुरातत्व विभागले गत चैत्र २४ गते सरोकारवालाको बैठकबाट आएको निष्कर्षअनुरूप काम गर्ने गरी तत्काललाई सेतो चुना पोत्न कार्यमा रोक लगाएको थियो ।

सरोकारवालाहरूबीच बैठक चलिरहेको बेला सो कार्य रोक्नुपर्ने माग गर्दै रिट निवेदन परेको थियो ।
रातो रंगको दाँची इँटा प्रयोग गरी कलात्मक तवरले बनाइएको मन्दिरमा त्यसको स्वरूप नै नामेट हुने गरी सेतो चुना पोत्नु उचित नभएको पनि रिट निवेदनमा भनिएको छ । रिटमा भनिएको छ– ‘सम्पदा संरक्षणका दृष्टिले अनुपयुक्त कार्य रोकथाम गर्नु धर्म संस्कृतिमा विश्वास राख्ने नेपाली नागरिकको हैसियतले आफ्नो कर्तव्य ठानी सार्वजनिक सरोकारको विषय लिएर अदालतमा उपस्थिति भएको हुँ ।’

मन्दिरमा सेतो चुना पोत्नका लागि ३२ पानेजुहरूको मागअनुरूप गुठी संस्थान कार्यालय ललितपुर र केन्द्रीय कार्यालयले बजेट पनि निकासाको प्रक्रिया अघि बढाइसकेको अवस्थामा त्यसलाई उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै रिट निवेदनमा भनिएको छ– ‘उक्त मन्दिरको ऐतिहासिक तथा सांस्कृतिक सौन्दर्यतामा ह्रास आउने एवं नष्ट हुने गरी चुना, रंग पोत्नेजस्ता कुनै पनि रासायनिकद्वारा लोपपोत गर्ने समेत नगर्नु र नगराउनु भनी विपक्षीको नाउँमा परमादेशलगायत अन्य उपर्युक्त आदेश जारी गरी पाउँ ।’

रातो रंगको दाँची इँटामा सेतो चुना पोत्न सक्ने सम्भावना भएकोले सो मुद्दाको अन्तिम टुंगो नलागेसम्म उक्त मन्दिरमा कुनै पनि प्रकारको रंग नेपोत्नु र पोत्न नलगाउन विपक्षीको नाउँमा अन्तरिम आदेशसमेत माग गरिएको छ । रिट निवेदकको मागअनुरूप अन्तिम आदेश दिने वा नदिने सम्बन्धमा वैशाख ११ गते पेशी तोकिएको छ ।

अदालतले विपक्षीको नाउँमा बुधबार कारण देखाउ आदेश दिँदै भनेको छ– ‘यसमा के कसो भएको हो? निवेदकको निवेदन मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? निवेदन मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित सम्पूर्ण बेहोरा खुलाई म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र आफैं वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नुहोला भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नू ।’