लमजुङको भुजुङमा अझै गुन्जिन्छ कटुवालको स्वर

1.6k
Shares

लमजुङ। 

लमजुङको पर्यटकीय गाउँ भुजुङमा परम्परागत कटुवाल प्रथा आज पनि गुन्जी रहनु यहाँको सांस्कृतिक विशेषता बनेको छ । प्रविधिको तीव्र विकाससँगै ग्रामीण क्षेत्रमा पुराना परम्पराहरु हराउँदै गइरहेका बेला भुजुङले भने आफ्नै मौलिक पहिचान जोगाइरहेको देखिन्छ । 

कटुवाल प्रणाली गाउँमा सूचना आदान–प्रदान गर्ने पुरानो तर प्रभावकारी माध्यम हो । गाउँलेहरुले एक व्यक्तिलाई कटुवालको जिम्मेवारी सुम्पन्छन् । जसले सभा, निर्णय, पूजाआजा लगायतका महत्त्वपूर्ण सूचना घरदैलोमा पुगेर सुनाउने काम गर्छ । यहाँ अझै पनि माइक वा अन्य आधुनिक उपकरणभन्दा आफ्नै स्वर प्रयोग गरेर सूचना दिने चलन छ । 

कटुवालको भूमिका केवल सूचना पु¥याउनेमा सीमित हुँदैन । उनी गाउँका हरेक गतिविधिमा सक्रिय हुन्छन् । कसैको घरमा दुःखसुख परेमा खबर फैलाउने, सामूहिक काम (जस्तै कुलो बनाउने, बाटो मर्मत गर्ने) का लागि गाउँलेलाई बोलाउने, तथा आपत्कालीन अवस्थामा छिटो सूचना प्रवाह गर्ने जिम्मेवारी पनि उनकै हुन्छ । यसले गाउँमा आपसी सहयोग र सहकार्यको भावना बलियो बनाएको भुजुङका स्थानीय नौराज गुरुङले बताउनु भयो । 

भुजुङमा कटुवाल चयन पनि सामाजिक सहमतिमा आधारित हुन्छ । जिम्मेवार, विश्वासिलो र सबैसँग राम्रो सम्बन्ध भएको व्यक्तिलाई मात्र यो जिम्मेवारी दिइन्छ । कतिपय अवस्थामा कटुवाललाई गाउँबाट सम्मानस्वरुप अन्न, सहयोग वा सानो पारिश्रमिक पनि प्रदान गरिन्छ । जसले यस भूमिकालाई अझ प्रतिष्ठित बनाएको छ । 

गुरुङ समुदायको बाक्लो बसोबास रहेको भुजुङमा यो प्रथा सांस्कृतिक पहिचानकै रुपमा स्थापित छ । विशेष गरी पूजा, तिथिमिति, गाउँ बार्ने समय तथा विभिन्न चाडपर्वमा कटुवालको भूमिका झनै महत्त्वपूर्ण हुन्छ । गाउँका विभिन्न स्थानबाट एकैसाथ कटुवाल लगाउने परम्पराले यहाँको मौलिकता झल्काउँछ । 

पर्यटकहरुका लागि पनि यो प्रथा आकर्षणको विषय बनेको छ । आधुनिक प्रविधिको पहुँच हुँदाहुँदै पनि परम्परागत शैलीमै सञ्चार हुने प्रणालीले भुजुङलाई फरक पहिचान दिएको छ । 

यद्यपि, केहीले समयअनुसार परम्परालाई आधुनिक माध्यमसँग जोड्नुपर्ने धारणा राखे पनि अधिकांश स्थानीय यसको संरक्षणमै लागि परेका छन् । परम्परा र आधुनिकताको सन्तुलन कायम गर्दै भुजुङले सांस्कृतिक निरन्तरताको उदाहरण प्रस्तुत गरिरहेको छ ।