प्रदेश सरकारहरूले गरे संघीय सरकारको निर्णयको अवज्ञा

कर्णालीले लोक कल्याणकारी विज्ञापन प्रकाशनलाई निरन्तरता दिने


काठमाडौं।

विभिन्न प्रदेश सरकारले सार्वजनिक विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने संघीय सरकारको परिपत्र अवज्ञा गर्ने निर्णय गरेको छ । सार्वजनिक विज्ञापनलाई केवल सरकारी स्वामित्वका सञ्चार माध्यममा सीमित गर्ने निर्णय गरेसँगै सञ्चार क्षेत्र, सूचना प्रवाह र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाइरहेको बेला प्रदेश सरकार पनि सोही पक्षमा उभिएको हो ।

कर्णाली सरकारले केन्द्र सरकारको परिपत्रलाई कार्यान्वयन नगर्ने भन्दै विगतमा सञ्चार माध्यमहरूलाई दिँदै आएको लोक कल्याणकारी विज्ञापन प्रकाशनलाई निरन्तरता दिने जनाएको छ । शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशभरका सबै सञ्चार माध्यमहरूलाई लोक कल्याणकारी विज्ञापन प्रकाशनका लागि आवेदन पेस गर्न भनेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कम्प्युटर अधिकृत ज्योति शाहीले कर्णाली प्रदेश विज्ञापन वितरणसम्बन्धी कार्यविधि, ०८१ को दफा ३ बमोजिम सञ्चार माध्यमहरूलाई विज्ञापन उपलब्ध गराउने बताउनुभयो । त्यसका लागि सरकारले अनलाइन आवेदन माग गरेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार कर्णालीमा ५९ वटा अनलाइन, २२ पत्रिका, ३० वटा रेडियो र २ वटा टेलिभिजन गरी ११३ वटा सञ्चार माध्यमहरू रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत्र १८ गते प्रदेश र स्थानीय सरकारलाई पत्र लेख्दै सरकारी सञ्चार माध्यममा मात्र सूचना प्रकाशन÷प्रसारण गर्न परिपत्र जारी गरेको थियो ।

यसअघि संघीय सरकारको पत्रलाई आधार मान्दै चैत्र १९ गते कर्णालीको अर्थ मन्त्रालयले आफू मातहत कार्यालयलाई कार्यान्वयका लागि जारी गरेको थियो । तर, दुई हप्तामै प्रदेश सरकारले केन्द्रको पत्रलाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री कार्यालयले संघीय सरकारको पत्रमार्फत प्रदेश सचिवमार्फत हस्तक्षेप नगरियोस् र प्रदेश सरकार आफ्नो निर्णयअनुसार विज्ञापन वितरण जारी राख्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्यालयका अधिकारीले भनेका छन्– ‘प्रदेशको संसद्ले पारित गरेको बजेट र प्रदेशको अधिकार क्षेत्रभित्र पर्ने निर्णयमा केन्द्रको हस्तक्षेप स्वीकार्य छैन ।’

मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार प्रधानमन्त्रीसँगको छलफलमा पनि ‘केन्द्रले प्रदेश सचिवमार्फत परिपत्र गरेर प्रदेशमाथि अनावश्यक हस्तक्षेप नगरोस्’ भन्नुभएको थियो ।

गण्डकी प्रदेश सरकारले पनि संघीय सरकारले जारी गरेको सरकारी विज्ञापनसम्बन्धी परिपत्र कार्यान्वयन नगर्ने निर्णय गरेको छ । यसका लागि तयारी अघि बढाएको बुझिएको छ ।

अधिकतम नागरिकसम्म सूचना पु¥याउने उद्देश्यले दिइने विज्ञापनलाई सीमित दायरामा राखिँदा यसको प्रभावकारिता घट्नेमात्र नभई सूचना पाउने नागरिकको अधिकारसमेत प्रभावित हुने चिन्ता सरोकारवालाहरूले व्यक्त गर्दे आएका छन् ।

सरकारले राज्यका तीन वटै तहका विज्ञापन तथा सूचनाहरू अबदेखि केवल सरकारी स्वामित्वका सञ्चार माध्यमबाट मात्र प्रकाशन र प्रसारण गर्नुपर्ने ‘कठोर’ निर्णय गरेको थियो ।

सरकारले सामान्यतया आफ्ना कार्यक्रम, नीति तथा सेवा–सुविधाबारे जानकारी अधिकतम नागरिकसम्म पु¥याउने उद्देश्यले विज्ञापन वितरण गर्ने गर्दछ । तर, विज्ञापन सीमित माध्यममा मात्र केन्द्रित हुँदा अपेक्षित रूपमा धेरै पाठक वा दर्शकमाझ सूचना पुग्न नसक्ने अवस्था सिर्जना हुने देखिएको छ । निजी तथा लोकप्रिय सञ्चार माध्यमहरूलाई बेवास्ता गर्दा प्रभावकारी पहुँचमा कमी आउने नेपाल सरकारका एक पूर्वसचिवले बताए । निजी मिडियाको व्यापक पहुँचलाई बेवास्ता गर्दा धेरै नागरिक सूचना पाउने अधिकारबाट वञ्चित हुन सक्ने र मिडिया बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्न सक्ने चिन्ता रहेको ती सचिवको भनाइ रहेको छ ।