सभापति थापा र नेता खड्काबीच भेटवार्ता, पार्टी एकतामा जोड


काठमाडौँ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको एकता सुदृढ गर्न पहल थालेका छन्। यसै क्रममा उनले आइतबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका हुन्।

सभापति थापा खड्कालाई भेट्न गोल्फुटारस्थित उनको निवास पुगेका थिए। भेटमा पार्टीभित्र देखिएका असमझदारी अन्त्य गर्दै एकतामूलक वातावरण निर्माण गर्ने विषयमा छलफल भएको जनाइएको छ।

“पार्टीको वृहत्तर एकताका लागि वरिष्ठ नेताहरूसँग संवाद अघि बढाएको छु,” थापाले बताएका छन्।

उनले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीलाई पुनः एकताबद्ध बनाउँदै सशक्त रूपमा अघि बढ्ने अवसर सिर्जना गरेको पनि उल्लेख गरे। साथै, कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै त्यसलाई सफल बनाउँदै संगठनलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा लिन उनले नेता–कार्यकर्तालाई आह्वान गरे।