बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा


काठमाडौँ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन्। उनले राज्यपालसमक्ष राजीनामा बुझाएको पुष्टि गरेका छन्।

राजीनामापछि उनले विज्ञप्ति जारी गर्दै सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै, बिहारको नयाँ सरकारले पूर्ण समर्थन र मार्गदर्शन पाउने विश्वास व्यक्त गरेका छन्।

आफ्नो कार्यकाल सम्झँदै उनले सन् २००५ नोभेम्बर २४ मा पहिलो पटक एनडीए सरकार गठन भएको उल्लेख गरे। त्यसयता राज्यमा कानूनी शासन स्थापना भई निरन्तर विकासका काम अघि बढाइएको उनले बताए।

उनका अनुसार सरकारले धर्म, जात, समुदाय वा वर्गको भेदभाव नगरी सबैको विकासमा जोड दिएको छ। शिक्षा, स्वास्थ्य, सडक, विद्युत् र कृषिलगायत क्षेत्रमा उल्लेखनीय काम भएको दाबी उनले गरेका छन्।

महिला र युवाको सशक्तिकरणमा समेत महत्वपूर्ण पहल गरिएको उनको भनाइ छ।

नितिश कुमार हालै बिहारबाट राज्यसभामा निर्वाचित भई सांसदका रूपमा शपथसमेत लिइसकेका छन्।