उदयपुर ।
उदयपुरको कटारीमा चैत्र २८ गते शनिबारदेखि जारी छैटौँ संस्करणको कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप नकाउट फुटबल प्रतियोगितामा मंगलबारको खेल मोरङको केराबारी फुटबल क्लब र सहलेस युथ क्लव ,सिरहाबीच भएकोमा सहलेस युथक्लब सिराहा सेमिफाइनल प्रवेश गरेको छ ।
आज मंगलबार सम्पन्न खेलमा पाँचौ कटारी गोल्डकप उपविजेता सहलेसले केराबारी फुटबल क्लव , मोरङ्गलाई २–० गोल अन्तरले पराजित गरेको छ भने सिरहाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
खेलको पहिलो हाफमा सिरहाका लागि खेल शुरु भएको १० मिनेटमा राज भुसालले गोल गर्दै अग्रता लिएका थिए । त्यसैगरी खेलको ७४ मिनेटमा नाईजेरियन खेलाडी फिलिप ईजुनेले सिरहाका लागि दोस्रो गोल गरे ।
केराबारी फुटबल क्लबले यस खेलमा गोल गर्न सक्ने केही सुन्दर अवसरहरु र बल आफ्नो नियन्त्रणमा राख्न सक्ने अवस्था भए पनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भएको छ ।
खेलको म्यान अफ द म्याच सिरहाका राज भुसाल घोषित भए । उनलाई कटारी नगरपालिकाका पूर्व उपमेयर भिमकुमारी राउतले नगद पाँच हजारका साथमा ट्रफी र मेडल प्रदान गर्नुभयो ।
कटारी नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन । त्यसैगरी उपविजेताले नगद रु तीन लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
आठ टिम सहभागी प्रतियोगिता आगामी वैशाख ५ गते सम्पन्न हुने समितिका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीले बताउनु भयो । प्रतियोगितामा बुधबार पहिलो सेमी फाईनलमा आयोजक कटारी ११ र चात्या फुटबल क्लव झापावीच प्रतिष्पर्धा हुने आयोजकले जनाएका छन् ।











प्रतिक्रिया