३६ घण्टामा सत्ता परिर्वतन: डिजिटल स्वतन्त्रता र नयाँ पुस्ताको शक्ति

फर्केर हेर्दा

1.79k
Shares

२०८२ साललाई केवल राजनीतिक परिवर्तनको वर्ष मात्र नभई, युवापुस्ताको सक्रिय सहभागिता, डिजिटल स्वतन्त्रता र लोकतन्त्रको सुदृढीकरणको प्रतीक वर्षका रूपमा इतिहासमा अंकित गराइरहनेछ ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि २०८२ साल भदौं २३ गते सोमबार शुरू भएको जेनरेसन जेड (जेन्जी पु्स्ता) आन्दोलनले २७ घण्टाभित्रै सत्तापलटको भएको थियो । विश्वकै इतिहासमा ३६ घण्टा सत्तापलट भएको इतिहासै विरलै रहेको छ । यस घटनाको सेरोफेरो र निर्वाचनसम्ममा डिजिटल स्वतन्त्रता, नागरिक सक्रियता विशेषतः युवापुस्ताको सक्रियता र सुशासनको चेतनाको हिसाबले इतिहासमा सधैं सम्झिरहने छ ।
जेनजी विद्रोहको महत्वपूर्ण र मुख्य सन्दर्भ डिजिटल स्वतन्त्रतासँग जोडिएको छ । विश्वभर २७ वर्षभन्दा कम उमेरका युवापुस्ताले सामाजिक सञ्जालको प्रयोग गर्दै भ्रष्टाचार, आर्थिक असमानता, अलोकतान्त्रिक शासन, महँगी तथा शासकीय बेथितिविरुद्ध आन्दोलन गर्दै आएको छ । तत्कालीन सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई यही विश्वको पृष्ठभूमीसँग जोडेर जेन्जी पुस्ताले प्रदर्शन गरेको थियो । युवापुस्ताले सामाजिक सञ्जालको माध्यमबाट आन्दोलनमा युवापुस्ता परिचालन गरेका थिए ।

सरकारले दर्ता हुन नआएको भन्दै भदौ १८ गते बिहीबार राति सामाजिक सञ्जाल बन्द गरेको थियो । आम सर्वसाधारणको सहज पहुँचमा रहेको प्लेटफर्मका रूपमा रहेको सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । सो कार्यबाट संविधान प्रदत्त विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हठात प्रहार गरेको धारणा जनस्तरमा बलियो हुँदै गएको थियो । सामाजिक सञ्जाल बन्द भएपछि सञ्चारमा कठिनाईसँगै अनलाईनबाट चल्ने व्यवसायहरु ठप्प भएको थियो भनेको जसको मार बढी भन्दा बढी श्रमिकहरु परेका थिए ।

त्यसमाथि सूचना पाउने र सञ्चारको सम्बन्ध एक किसिमले टुटेको छ । सामाजिक सञ्जाल आम नागरिकको जीवनशैली, व्यवसाय, सञ्चारको अभिन्न अंग बनिसकेकाले त्यसलाई बन्द गर्नु भनेको हत्केलाले सूर्यको किरण छेक्नु सरह रहेको तर्क गर्दै जेनजी पुस्ताले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । यसलाई सत्ताको मनोमानीविरुद्ध जेनजीको विद्रोहका रूपमा लिँदै भ्रष्टाचार, बेथिति र अनियमितता विरुद्ध नयाँ संघर्षका रूपमा चित्रण गरेका थिए ।

राइड सेयरिङ प्ल्याटफर्म पठाओका संस्थापक सीईओ असिममान सिंहले २०८४ सालसम्म कुर्ने होइन परिवर्तनका लागि भन्दै प्रदर्शनमा आह्वान गरे अनुसार परिस्थिति बन्यो । युवापुस्ताको विद्रोह, राज्यको बर्बर दमन र त्यसबाट निधन हुनेको संख्या, जनताको आक्रोश र आन्दोलनको व्यापकता, राज्य संयन्त्रलाई पारेको चुनौती र शासकहरुको बहिर्गमन, राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता, लगायतको तस्वीरलाई एकै ठाउँमा राखेर हेर्दा समग्रमा जेनजीको विद्रोह इतिहासमै विरलै हुने घटना हुन् ।

प्रदर्शनका क्रममा बानेश्वरमा भएको प्रहरी दमनमा परी शुरूमा १९ र पछि ३ जना गरी २२ जानको ज्यान गएको थियो । र, त्यसको प्रतिक्रिया स्वरूप भोलिपल्ट फैलिएको व्यापक विध्वंशको बीचमै जम्मा ७६ जनाको ज्यान गएको थियो । यसले गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहँदा नचाहँदै राजीनामा दिनुपरेको थियो । नेपालका इतिहासमा अनेकपटक सत्तापलटहरू भए पनि यसरी सम्पूर्ण राज्य संयन्त्रमाथि कसैले कब्जा जमाएको यो नै पहिलोपटक हो ।

२७ घण्टाको छोटो समयमा सत्ता परिर्वतन भए पनि यस विद्रोहका केही ठोस राजनीति, सामाजिक र आर्थिक पृष्ठभूमि छन् । संविधानसभाबाट संविधान जारी भएयताको दश वर्षमा सात वटा सरकार परिवर्तन भएका थिए ।

तीनमा कांग्रेस, एमाले र माओवादीका प्रमुख नेताहरु दोहो¥याएर, तेहो¥याएर म्युजिकल चेयर खेलझैं सत्ताको कुर्सीमा विराजमान भएका थिए । उनीहरू थुप्रै भ्रष्टाचार काण्डमा संलग्न रहेको आशंका गरिएको थियो । उनीहरूको परिवार र आसेपासेहरूको विलाशी जीवन र सत्तामा एकाधिकार तथा बढ्दो अहंकारबाट युवाहरू आक्रोशित बन्दै गएका थिए ।

देशको अर्थतन्त्र लामो समयदेखि अल्पविकास, बेरोजगारी, परनिर्भरता, असमानताको दुश्चक्रमा जकडिएर बसेको थियो । युवाहरू वर्षेनी ७÷८ लाखको दरले रोजगारी र शिक्षाका निम्ति विदेशिन बाध्य भइरहेका थिए । उनीहरूले पठाएको रेमिट्यान्स र जनताको नाउँमा आएको वैदेशिक ऋण तथा जनताले पेट काटेर तिरेको करमाथि सत्तासीन र तिनका आसेपासे र बिचौलियाहरूले मोजमस्ती गरिरहेको आम धारणा बन्दै गइरहेको थियो । बेरोजगारी, गरिबी र सामाजिक असमानताले हरेक दिन नयाँ पुस्तालाई निराश पार्दै विदेशतर्फ धकेलिरहेको थियो । व्यवस्था परिर्वतन भएन पनि आम मानिसले अपेक्षा गरेका अनुसार मुलुक परिर्वतन गतिमा थिएन ।

नेपालले विगत तीन दशकमा दुई ठूला जनआन्दोलन मार्फत राजनीतिक परिवर्तनका ऐतिहासिक अध्यायहरू लेखेको थियो । तर, राजनीतिक परिर्वतनको तुलनामा सामाजिक, आर्थिक परिर्वतनको अपेक्षाकृत मात्रामा परिर्वतन भएन । त्यस क्रममा दोस्रो जनआन्दोलनपछिको परिवर्तनले देखाएको नयाँ र समावेशी नेपालको सपना आजसम्म अधुरै रहेको छ । प्रणाली परिवर्तन भए पनि प्रवृत्तिहरू पुरानै रहे । भ्रष्टाचार, नातावाद, कृपावाद र राजनीतिक संस्थाहरूको विघटनले मुलुकलाई दीर्घकालीन अस्थिरताको गतिमा थियो । ठूलो ठूलो आन्दोलन भएपछि शासन गर्ने पात्र उही, प्रवृति उहीले गर्दा जनता वाक्कदिक्क भएको थियो । यहीबीचमा जेनजी आन्दोलन वनमा डढेझै फैलिएको थियो । यो जनआन्दोलन नेपालको पुरानो अवस्थाप्रतिको अस्वीकार थियो । समयक्रम अनुरूप भौतिक पूर्वाधार परिर्वतन भए पनि त्यो मानिसको अपेक्षाको तुलनामा कम थियो । गति सुस्त थियो, दिशा स्पष्ट थिएन ।

आन्दोलनकारीको चर्किंदो दबाब, नेपाली सेनाको सहजीकरणमा अन्तरिम सरकार गठन भएको थियो । नेपालकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा गठित अन्तरिम सरकारको सिफारिसमा संसद् विघटन गरिएको थियो । यही विद्रोह भएको पृष्ठभूमीकै बीचमा मुलुकको राजनीतिक निर्वाचनतर्फ अघि बढेको थियो । कानुनी र राजनीतिक शून्यता, सुरक्षा संवेदशीलता अवस्थाबाट क्रमशः निर्वाचनको वातावरण बन्दै गएको थियो । शुरूका दिनमा निर्वाचन चुनौतीपूर्ण थियो ।

निर्वाचन हुने र नहुने आशंकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको माहौल बनाउन दलहरुसँग संवाद शुरुरू गर्नुभएको थियो । पछि सरकारले पनि यसलाई निरन्तरता दिएपछि मुलुक क्रमशः निर्वाचनको माहोल बन्दै गएको थियो । सरकार र जेनजीबीचको निरन्तर संवादले हुँदै गएको थियो । यसपछि मुलुक क्रमशः अपेक्षित दिशामा अघि बढेको थियो । निर्वाचनको आयोगको द्रुत तयारीले अन्ततः तोकिएको मितिमै फागुन २१ गते बिहीबार निर्वाचन सम्पन्न भयो ।
एक थोपा रगत नबग्ने गरी निर्वाचन भएको हिसाबले यो निर्वाचन उल्लेखनीय रहेको छ । शान्ति सुरक्षाको प्रबन्ध उल्लेखनीय थियो ।

यो निर्वाचन निर्वाचन सार्वजनिक विमर्शमा सुन्दै र सुनाउंदै आएको हजारौं तर्कहरुलाई काट्ने एउटा महत्वपूर्ण तथ्य बनेको छ । अहिलेको मिश्रित निर्वाचन प्रणाली (प्रत्यक्ष तथा समानुपातिक) को माध्यमबाट बहुमत आउन सक्दैन भन्ने दलका नेताहरु, नागरिक समाज, आम बुद्धिजीवी, सञ्चारजगतले बनाउँदै आएको भाष्यलाई यस निर्वाचन तोडेको छ । हामीले बुझ्ने, सोच्ने तरिका, कल्पनाको दायरालाई समेत भत्काउँदै रास्वपाले निर्वाचनमा बहुमत मात्र नभई झन्डै दुईतिहाइ बहुमत नै ल्याएको थियो ।

लामो समयदेखि निर्वाचनमा पाएको मत प्रतिशतलाई आधार बनाएर शासनसत्ता चलाउँदै आएका दलका नेताहरुले नेपालमा कर्मचारीतन्त्र, शिक्षक पत्रकारदेखि सुदूर गाउँको उपभोक्ता समितिमा समेत पकड राख्दै आएको दुई÷तीन वटा दलले बाहेक नयाँ राजनीतिक दलले जनाधार कायम गर्न सक्दैन भन्ने भाष्यलाई पनि यसै चुनाव गलत सावित गरिदिएको छ । साढे तीन वर्षअघि स्थापित रास्वपा अहिलेको सबैभन्दा ठूलो दल बनेको छ । अहिलेसम्म सार्वजनिक विमर्शमा बुझ्दै आएको र बुझाउँदै आएको मान्यतालाई निर्वाचनको माध्यमबाट जनताले अभिव्यक्ति गरेको मतले गलत साबित गरिएका छन् ।

यसले सार्वनजिक बहस, विमर्शको सीमिततासँगै सामाजिक, राजनीतिक क्षेत्रमा आइरहेको परिर्वतनको प्रवाहलाई बुझ्न नसकेको देखाउँदछ । जसरी भाषाको विकासले व्याकरणका नियमलाई पनि परिमार्जन गर्दछ, त्यसै गरी परिस्थितिमा आएको बदलावले हाम्रा तर्कहरुमा पनि परिमार्जन गरिदिन्छ । यसको आलोकमा हाम्रा मान्यता, सोचाइलाई बदलिँदो परिस्थितिको चाप सुन्न सक्ने, ठम्याउने सक्ने गरी परिमार्जनको आवश्यकता पनि देखाएको छ ।

नेपालमा अहिले सम्म सूर्यबहादुर थापापछि कान्छो व्यक्ति बालेन्द्र (बालेन) साह प्रधानमन्त्रीमा आसीन हुनुहुन्छ । साह मधेसी समुदायबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुनुहुन्छ । २०८२ सालभित्र भएका यी घटनाहरु जेनजी पुस्ताको सक्रियता, डिजिटल प्लेटफर्मको प्रयोग र नागरिक आन्दोलनले भ्रष्टाचार, असमानता र अलोकतान्त्रिक शासनका विरुद्ध निर्णायक भूमिका खेल्न सक्छ भन्नेको ज्वलन्त उदाहरण हुन् । त्यतिमात्र नभई संसद्मा युवापुस्ताको सहभागिता बढेको छ । विशेष गरी, ४० वर्षभन्दा कम उमेरका सदस्यहरूको अत्यधिक प्रतिनिधित्व रहेको छ । मन्त्रिपरिषद्मा पनि युवापुस्ताको संख्या अत्यधिक रहेको छ ।

यो आन्दोलनले डिजिटल प्लेटफर्म केवल मनोरञ्जन वा सञ्चारको साधन मात्र नभई यो नागरिक आवाज र लोकतान्त्रिक दबाबको बलियो उपकरण रहेको सन्देश दिएको छ । सामाजिक सञ्जालको माध्यमबाट सानो समयमा ठूलो राजनीतिक प्रभाव पार्न सक्छ भन्ने घटनाको उदाहरणको रूपमा २०८२ साललाई लिन सकिन्छ।

यसले युवाको सक्रिय सहभागिता उनीहरुको संगठन क्षमता र डिजिटल रणनीतिलाई पनि स्पष्ट गराएको छ । भ्रष्टाचार, आर्थिक असमानता र अलोकतान्त्रिक शासनविरुद्ध जनताको आक्रोशले सशक्त आन्दोलन जन्माउँछ भन्ने यसले देखाएको छ । यी कारणहरुले २०८२ साल केवल राजनीतिक परिवर्तनको वर्ष मात्र नभई, युवापुस्ताको सक्रिय सहभागिता, डिजिटल स्वतन्त्रता र लोकतन्त्रको सुदृढीकरणको प्रतीक वर्षका रूपमा इतिहासमा अंकित गराइरहने छ ।