अमेरिका–इरान वार्ता विफल, युद्धको त्रास बढ्यो


–इरानको आरोप : अमेरिकी माग अनुचित

–हर्मुजको साँघुरो बाटो : नयाँ ‘सुपर हतियार’

–विश्व अर्थतन्त्रमा ठूलो धक्का

–गरिब मुलुकहरूमा थप संकट

–लेबनानमा युद्ध जारी, वासिङ्टनमा नयाँ वार्ता

इस्लामावाद-काठमाडौं

पाकिस्तानको राजधानी इस्लामावादमा भएको अमेरिका–इरान शान्तिवार्ता कुनै निष्कर्षमा नपुगी विफल भएको छ । सोमवारदेखि खुल्ने विश्वबजारमा यसको तीव्र असर देखिने विश्लेषकहरूले बताएका छन् । वार्ता विफलतापछि पुनः युद्ध सुरु हुने त्रास बढेको छ । जसले गरिब मुलुकहरूलाई थप संकटमा पार्ने निश्चितजस्तै छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वको अमेरिकी टोली र इरानी संसद्का अध्यक्ष मोहम्मद बागेर कालिबाफको नेतृत्वमा रहेको इरानी टोलीबीच शनिवारदेखि जारी वार्ता २१ घण्टासम्म चल्यो । तर, दुवै पक्षबीचको गहिरो अविश्वास र मागहरूमा रहेको ठूलो अन्तरका कारण सहमति हुन सकेन ।
वार्तापछि पत्रकार सम्मेलन गर्दै अमेरिकी उपराष्ट्रपति भान्सले भन्नुभयो–‘दुःखद् समाचार के छ भने हामी सहमतिमा पुग्न सकेनौं । हामीले इरानलाई अन्तिम र उत्तम प्रस्ताव राख्यौं, तर उनीहरूले हाम्रा सर्तहरू स्वीकार गरेनन् ।’ उहाँले अमेरिकाले इरानले दीर्घकालीन रूपमा आणविक हतियार नबनाउने प्रतिबद्धता खोजेको तर त्यो नदेखिएको बताउनुभयो ।

इरानले भने वार्ता विफलताको सारा दोष अमेरिकालाई दिएको छ । इरानको सरकारी मुखपत्र आईआरआईबीले इरानी प्रतिनिधिमण्डलका अनेकौं प्रयासका बावजुद अमेरिकी पक्षबाट अगाडि सारिएका अनुचित मागहरूले वार्तामा प्रगति हुनबाट रोकिदियो । कालिबाफले वार्तापछि भन्नुभयो– ‘इरानी टोलीले रचनात्मक प्रस्तावहरू राख्यो, तर अमेरिकी पक्ष हाम्रो विश्वास जित्न असफल रह्यो । अमेरिकाले हाम्रो तर्क र सिद्धान्त बुझेको छ, अब उसले हाम्रो विश्वास आर्जन गर्न सक्छ कि भन्ने नै प्रश्न हो ।’

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भन्नुभयो– ‘कसैले पनि एकै चरणमा सम्झौता हुने अपेक्षा गरेको थिएन । कूटनीति कहिल्यै सकिँदैन ।’ तर, उहाँले लेबनानमा जारी इजरायली आक्रमणले वार्ताको वातावरण नै विषाक्त बनाएको आरोप लगाउनुभयो ।

वार्ताको मुख्य अड्को बनेको छ हर्मुजको साँघुरो बाटो । विश्वको कुल तेल व्यापारको पाँचौं हिस्सा यसै मार्गबाट ओसारपसार हुन्छ । इरानले आफ्नो नियन्त्रणमा रहेको यो मार्गलाई ‘रणनीतिक हतियार’को रूपमा प्रयोग गरिरहेको छ ।

विदेश मामिला विज्ञ रोबिन्दर सचदेवका अनुसार, हर्मुजको साँघुरो बाटो यस द्वन्द्वमा नयाँ ‘सुपर हतियार’को रूपमा उदाएको छ । अमेरिकीसँग यति ठूलो सैन्य शक्ति हुँदाहुँदै पनि व्यावसायिक जहाजलाई यो मार्गबाट सुरक्षित पार्न सकेको छैन । बिमा कम्पनीहरूले युद्ध क्षेत्रमा जहाज बिमा गर्न अस्वीकार गरेपछि कुनै पनि व्यापारी जहाज यस मार्गमा जोखिम मोल्दैन ।
वार्ता विफल भएपछि विश्व बजारमा सोमवार ठूलो उतारचढाव आउने निश्चित भएको छ । विश्लेषकहरूले तेलको मूल्य तीव्र रूपमा बढ्ने, सेयर बजार लगानीकर्ताको विश्वास गुम्दै जाने र डलर बलियो हुने आँकलन गरेका छन् । क्यापिटल डटकमका विश्लेषक काइल रोडाले भन्नुभयो–‘बजारको प्रतिक्रिया यस कुरामा निर्भर हुनेछ कि लगानीकर्ताले यसलाई अस्थायी असफलता मान्छन् वा युद्धविराम ढलेको संकेत ।’

विश्व बैंकका प्रमुख पेन्ग अन्जीले पहिले नै चेतावनी दिइसक्नुभएको कि यदि युद्ध जारी रह्यो भने विश्व अर्थतन्त्रमा १ प्रतिशतको संकुचन आउन सक्छ र मुद्रास्फीति थप ० दशमलव ९ प्रतिशतले बढ्न सक्छ । विश्व बैंकको अनुमानअनुसार विकासशील र गरिब मुलुकहरूको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतमा झर्न सक्छ, जुन पहिलेको अनुमान ४ प्रतिशत थियो ।

युद्धको तातो प्रभाव गरिब र विकासशील मुलुकहरूमा बढी पर्ने निश्चित छ । ऊर्जा आयातमा निर्भर देशहरूमा तेलको मूल्यवृद्धिले व्यापार घाटा बढाउने, मुद्रा अवमूल्यन हुने र मूल्यवृद्धिलाई थप उचाल्ने देखिन्छ । पहिले नै ऋणको भारले थिचिएका यी देशहरूले महँगो ऊर्जा सब्सिडी दिन नसक्दा नागरिक मारमा पर्नेछन् ।

विश्व बैंकका अनुसार इन्धन र खाद्यान्नको मूल्य बढ्दा यी देशहरूको मुद्रास्फीति ६ दशमलव ७ प्रतिशतसम्म पुग्न सक्छ, जसले गरिबी र भोकमरीलाई थप चर्को बनाउनेछ । अमेरिका–इरान वार्ता विफल भए पनि लेबनानमा इजरायली आक्रमण भने जारी छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहविरुद्धको कारबाही रोक्न नसकिने बताउनुभएको छ ।

यसैबीच, इजरायल र लेबनानबीच वार्ता हुने भएको छ । अमेरिकी विदेश विभागले अर्को साता वासिङ्टनमा दुई देशबीच वार्ता आयोजना गर्ने पुष्टि गरेको छ । तर, लेबनानले आफ्नो अडान स्पष्ट पारेको छ– युद्धविरामपछि मात्र वार्तामा बस्ने ।

विज्ञहरूका अनुसार अब डोनाल्ड ट्रम्प प्रशासनसामु दुईवटा बाटा छन् या त सैन्य कारबाही बढाउने वा पुनः कूटनीतिक प्रयास गर्ने । तर, इरानले हर्मुजको साँघुरो बाटो आफ्नो मुठ्ठीमा राखेको अवस्थामा सैन्य विकल्प पनि सहज छैन । युद्ध जारी रह्यो भने दक्षिण एसियादेखि अफ्रिकासम्मका गरिब राष्ट्रहरू मारमा पर्ने पक्का छ । ऊर्जा संकटले उद्योग धराशयी हुने, खाद्यान्न मूल्य आकाशिने र अर्बौं मानिस थप गरिबीको रेखामा धकेलिने देखिन्छ । इरानले अमेरिकी प्रस्ताव ‘विचाराधीन’ राखेको छ भने भान्स भने स्वदेश फर्कनुभएको छ । युद्धविराम अझै कायमै छ ।