छैटौँ कटारी गोल्डकप : नाईजेरियन क्लबद्वारा हेटौंडा पराजित

564
Shares

उदयपुर। 

उदयपुरको कटारीमा शनिबारदेखि जारी छैटौं कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप नकाउट फुटबल प्रतियोगितामा नाईजेरियन खेलाडीहरुको क्लव जष्ट जोह्न फुटबल क्लवले विजयी सुरुआत गरेको छ । आज आईतबार सम्पन्न खेलमा जष्ट जोह्नले हेटौंडा फुटबल क्वल , मकवानपुरलाई १ – ० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा जष्ट जोह्नका लागि जर्सी नम्बर २७ का अकिन सोला ताफुदिन ले ३१ औं मिनेटमा गोल गरेका थिए । त्यसपछी दुवैटिमबाट गोल हुन सकेन । खेलको म्यान अफ दि म्याच गोल गरेका जोह्नका ताफुदिन नै घोषित भए ।

उनलाई कटारी ५ का वडाध्यक्ष मोहन तामाङ्ग र ४ का वडाध्यक्ष भुपेन्द्र सिंहले नगद पाँच हजारका साथमा मेडल र ट्रफी प्रदान गरेका थिए  । कटारी नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद पाँच लाखका साथमा  ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछ ।

त्यसैगरी उपविजेताले नगद तीन लाखका साथमा ट्रफी , मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ । ८ टिम सहभागी प्रतियोगिता आगामी वैशाख ५ मा सकिने समितिका अध्यक्ष दिपक राईले बताउनु भयो । प्रतियोगिता अन्तर्गत  भोलि सोमबार चात्या सिएफसी झापा र डिफेन्डिङ्ग च्याम्पियन पाँचौ कटारी गोल्डकपका विजेता च्याम्पियन ब्वाईज काठमाडौँबीच  प्रतिस्पर्धा हुनेछ ।

शनिबार सम्पन्न खेलमा आयोजक कटारी ११ ले रिभर दि स्पोर्टिङ्ग क्लव सिक्किम भारतलाई २–० गोलले पराजित गरेको थियो  । प्रतियोगितामा कटारी , सिक्किम , नाईजेरिया , हेटौंडाका साथै चात्या सिएफसी झापा , च्याम्पियन व्वाईज काठमाडौं , केराबारी फुटबल क्लव मोरङ्ग र सहलेस युथ क्लव , सिरहाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।