घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर


काठमाडौं।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारहरूको बिल भुक्तानी गर्दा घुस/रिसवत लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा उनलाई १,२०,८५० नगदसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानबाट दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने क्रममा गैरकानुनी लाभ लिने उद्देश्यले विभिन्न कम्पनी तथा फर्मका प्रतिनिधिसँग मोलमोलाइ गरी घुस लिने गरेको पुष्टि भएको आयोगले जनाएको छ। उनले सेवाग्राहीबाट ९३,८५० घुस लिएको आयोगको दाबी छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कसुर ठहरिएको भन्दै आयोगले सोही रकम बराबर बिगो कायम गरी कैद तथा जरिवाना सजायको माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले उक्त जानकारी दिएका छन्।