नेपाल पर्वतारोहण संघद्वारा एभरेस्ट अभियानमा दुष्प्रचारप्रति कडा टिप्पणी


काठमाडौँ ।

नेपाल पर्वतारोहण संघले हालै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा आएको इभरेष्ट अभियानमा खाना विषाक्त गर्ने र डायामक्सको दुरुपयोग भएको भन्ने रिपोर्टप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । संघका अध्यक्ष फुर गेल्जे शेर्पाले यस्तो कार्य अकल्पनीय भएको भन्दै सरकारलाई यस्ता अनैतिक वा अमानवीय कार्यविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् ।

संघले नेपालका हिमाल, पर्वतारोहणको इतिहास र विश्वप्रसिद्ध नेपाली आरोहकहरूको उपलब्धिलाई राष्ट्रिय सम्पत्ति भएको भन्दै, नक्कली वा प्रमाणहीन समाचारले पर्यटन उद्योग र सम्बन्धित व्यक्तिहरूको हितमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ । पर्वतारोहणको लागि आउने आरोहीहरूलाई सामान्य रूपमा स्वागत गरिने बताइएको छ र कुनै सेवा प्रदायकबाट अनैतिक व्यवहार देखिए तुरुन्त रिपोर्ट गर्न प्रोत्साहन गरिएको छ ।

त्यसैगरी, संघले बीमा र हेलिकोप्टर उद्धार सेवा जस्ता आपत्कालीन व्यवस्थापना सम्बन्धी स्पष्ट, पारदर्शी र कडाइका साथ निगरानी गर्न सरकारसँग आग्रह गरेको छ । यस मार्फत नेपाललाई विश्वव्यापी रूपमा विश्वासिलो पर्वतारोहण गन्तव्यको रूपमा कायम राख्ने उद्देश्य रहेको संघले जनाएको छ ।