अप्रिल १ देखि विश्वकपको अन्तिम चरणको टिकट बिक्री खुल्ने

५० करोड आवेदन, १० लाख टिकट बिक्री


वाशिंगटन, (एजेन्सी) ।

विश्व फुटबलको कुम्भमेला ‘फिफा विश्वकप २०२६’ को अन्तिम चरणको टिकट बिक्री अप्रिल १ देखि औपचारिक रूपमा सुरु हुने भएको छ ।

फुटबलको सर्वोच्च निकाय फिफाले यसपटक ‘पहिलो आउनेले प्राथमिकता पाउने’ (फसर््ट कम, फसर््ट सर्व) आधारमा सर्वसाधारणका लागि टिकट खुला गर्न लागिएको हो । यसअघि डिसेम्बरदेखि फेब्रुअरीसम्म सञ्चालित पहिलो चरणको बिक्रीमा १० लाखभन्दा बढी टिकट बिक्री भइसके भने ५० करोडभन्दा बढीले टिकटका लागि आवेदन दिएर विश्वकपप्रतिको अभूतपूर्व चासो पुष्टि गरिसकेका छन् ।

सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्न लागेको यो विश्वकप इतिहासकै सबैभन्दा बृहत हुने अपेक्षा गरिएको छ । ४८ टोली सहभागी हुने यस संस्करणमा कूल १०४ खेलहरू हुनेछन् र फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सबै खेलहरूमा रंगशाला ‘हाउसफुल’ हुने र दर्शकको माग विगत एक हजार वर्षकै उच्चस्तरमा रहेको दाबी गरेका छन् ।

अप्रिल १ देखि सुरु हुने अन्तिम चरणमा फ्यानहरूले फिफाको वेबसाइटमार्फत वास्तविक समय (रियल टाइम) मा उपलब्ध खेलहरू हेर्न, रंगशालाको नक्साअनुसार आफ्नो मनपर्ने सिट छनोट गर्न र तुरुन्तै भुक्तानी गरी टिकट सुरक्षित गर्न सक्नेछन् ।
यसका साथै, अप्रिल २ देखि फिफाले आधिकारिक ‘रिसेल एण्ड एक्सचेन्ज मार्केटप्लेस’ पनि पुनः सञ्चालनमा ल्याउनेछ । जसले गर्दा टिकट खरिद गरिसकेका तर खेलमा सहभागी हुन नसक्ने दर्शकले सुरक्षित रूपमा आफ्नो टिकट अरूलाई हस्तान्तरण गर्न सक्नेछन् । यसले कालोबजारी र ठगी नियन्त्रण गर्न मद्दत पुग्ने फिफाको विश्वास छ ।

आयोजकहरूले यसपटक सन् १९९४ मा अमेरिकाले नै कायम गरेको ३५ लाख दर्शकको रेकर्ड तोडिने अपेक्षा गरेका छन् । एट्लान्टा जस्ता प्रमुख आयोजक सहरहरूले विदेशी पर्यटकहरूको चापलाई मध्यनजर गर्दै स्थानीय पूर्वाधार र यातायात व्यवस्थालाई तीव्रता दिएका छन् ।

यद्यपि, विश्वकपको टिकट दरलाई लिएर फुटबल प्रेमीहरूमाझ केही असन्तुष्टि र आलोचना पनि देखिएका छन । समूह चरणका खेलहरूका लागि न्यूनतम १ सय ४० अमेरिकी डलर तोकिएको छ भने फाइनल खेलको टिकट दर ८ हजार ६ सय ८० डलरसम्म पु¥याइएको छ । जुन धेरैका लागि महँगो सावित भएको छ ।

टिकट सँगसँगै फिफाले अन्तर्राष्ट्रिय दर्शकहरूलाई भिसा प्रक्रिया र यात्रा व्यवस्थाहरू बेलैमा मिलाउन पनि आग्रह गरेको छ । विशेषगरी अमेरिका आउने दर्शकका लागि फिफाको समर्थनमा द्रुत भिसा प्रक्रियाको समेत व्यवस्था गरिएको छ । उत्तर अमेरिकाका तीन राष्ट्रले पहिलोपटक आयोजना गर्न लागेको यो ऐतिहासिक फुटबल महोत्सवले खेलकुदको क्षेत्रमा मात्र नभई सांस्कृतिक र आर्थिक रूपमा पनि ठूलो प्रभाव पार्ने निश्चित छ ।