यस्ता छन् नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरु


काठमाडौं ।



बालेन्द्र शाह (बालेन)
प्रधानमन्त्री

३६ वर्षीय बालेन्द्र शाह (बालेन) यसअघि काठमाडौं महानगरपालिकाको मेयर बन्नुभएको थियो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी बन्नुभएका उहाँले २०८२ सालको आमचुनावमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव जित्नुभएको हो । उहाँले झापा– ५ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरी विजयी हुनुभएको थियो ।

शाहको जन्म बुवा स्वर्गीय नारायण शाह र आमा ध्रुवदेवी शाहको कोखबाट १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको हो । उहाँको प्रारम्भिक पढाइ नरदेवीकै जलजला स्कुलमा भएको हो । माध्यमिक तहको पढाइ भने तीनकुनेको भीएस निकेतनमा भएको थियो । स्नातक तहको पढाइ भने काठमाडौंको ह्वाइट हाउसमा भएको थियो । सोही कलेजबाट शाहले सिभिल इन्जिनियरिङको कोर्स गर्नुभएको थियो । शाहले भारतबाट स्नातकोत्तर तहको पढाइ पूरा गर्नुभएको छ ।

उहाँले बैंगलोरस्थित विश्वेश्वरैया प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङको पढाइ सम्पन्न गर्नुभएको हो । विभिन्न विधामा सक्रिय उहाँ सिभिल इन्जिनियर, संरचनात्मक अनुसन्धानकर्ता तथा काठमाडौंका पूर्वमेयरका रूपमा परिचित हुनुहुन्छ । पूर्वाधार विकास, सम्पदा संरक्षण र सार्वजनिक नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका उहाँले २०७२ सालपछि नेपालभर भूकम्पपछिको पुनर्निर्माणमा उल्लेखनीय योगदान दिएको बताइएको छ ।

इन्जिनियरिङ क्षेत्रमा समेत सक्रिय शाहले पुल, सडक तथा भवन निर्माणका विभिन्न परियोजनामा काम गर्नुभएको छ । शाह अनुसन्धानसँगै सम्पदा संरक्षण, संरचनागत सुरक्षा, पर्यटनमार्फत आर्थिक विकास तथा परम्परागत नेवाः वास्तुकलामा रुचि राख्नुहुन्छ । सार्वजनिक जीवनसँगै सिर्जनात्मक क्षेत्रमा पनि सक्रिय उहाँ २५ भन्दा बढी गीत सार्वजनिक गरिसकेका ¥याप कलाकार, कवि तथा लेखकसमेत हुनुहुन्छ ।



स्वर्णिम वाग्ले
अर्थमन्त्री

गोरखा बुंकोटमा २०३१ मा जन्मिनुभएका अर्थमन्त्री स्वर्णिम वाग्ले हाल चितवनको बासिन्दा र तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा दोस्रोपटक निर्वाचित हुनुभएको छ ।

लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातक, हार्वड विश्वविद्यालयबाट स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट विद्यावारिधि गर्नुभएका उहाँले यूएनडीपी –एसिया–प्रशान्त प्रमुख आर्थिक सल्लाहकार), विश्व बैंक, राष्ट्रिय योजना आयोग (सदस्य तथा उपाध्यक्ष) जस्ता जिम्मेवारीमा काम गर्नुभएको छ ।

‘द ग्रेट अपहिभल’ र ‘द राइज अफ द साउथ’ जस्ता अन्तर्राष्ट्रिय प्रकाशनमा योगदान दिएका वाग्ले नेपाली कांग्रेससँगको लामो सम्बन्धलाई तोड्दै २०७९ चैतमा रास्वपा प्रवेश गरी उपसभापति बन्नुभएको थियो ।



सुधन गुरुङ
गृहमन्त्री

गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–३ सिर्दिवास, पाङसिङ गाउँमा जन्मिनुभएका ३८ वर्षीय सुधन गुरुङ राजनीतिक चेतनासहितको पारिवारिक पृष्ठभूमिबाट उदाएका युवा नेता हुनुहुन्छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारका रूपमा निर्वाचित भई हाल गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका गुरुङ समसामयिक राजनीतिमा उदीयमान पात्रका रूपमा चिनिनुहुन्छ ।

२०७२ सालको भूकम्पपछिको कठिन समयमा राहत तथा उद्धार कार्यमा अग्रसर भई उहाँले समाजसेवामा उल्लेखनीय योगदान दिनुभएको थियो । ‘हामी नेपाल’ नामक संस्था स्थापना गरी शिक्षा, स्वास्थ्य र आपत्कालीन सहयोगमा सक्रिय रहँदै आउनुभएको उहाँले जेन–जी आन्दोलनपछि अझ व्यापक रूपमा चर्चा पाउनुभएको थियो । आन्दोलनका क्रममा पानी वितरण, ब्यानर निर्माण, घाइतेको उपचारका लागि एम्बुलेन्स व्यवस्थापनजस्ता काममा उहाँको सक्रियता देखिन्छ ।

संगठनात्मक क्षमता, नेतृत्व दक्षता र संकट व्यवस्थापनमा विशेष रुचि भएका गुरुङले पार्टीभित्र पनि जिम्मेवार भूमिका निर्वाह गर्दै आउनुभएको थियो । उहाँको शैक्षिक पृष्ठभूमि व्यावहारिक ज्ञान र सामाजिक अनुभवसँग जोडिएको देखिन्छ, जसले उहाँलाई जनमुखी निर्णय लिन सक्षम बनाएको छ । समग्रमा, सुधन गुरुङ युवा जोस, सामाजिक उत्तरदायित्व र परिवर्तनमुखी सोचका प्रतिनिधि नेता हुनुहुन्छ ।



विराजभक्त श्रेष्ठ
ऊर्जा मन्त्री

काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभामा निर्वाचित भएका विराजभक्त श्रेष्ठ बालेन साहको नेतृत्वमा रहेको सरकारमा ऊर्जा मन्त्री बन्नुभएको छ । काठमाडौंको इन्द्रचोकमा जन्मेका ४४ वर्षीय श्रेष्ठ योसमेत गरी दोस्रोपटक मन्त्री बन्नुभएको हो ।

यसअघि २०७९ सालमा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीबाटै निर्वाचित हुनुभएको थियो । उहाँ रास्वपा सरकारमा सहभागी भएका बेला युवा तथा खेलकुदमन्त्री हुनुभएको थियो । त्यतिबेला उहाँले नेपाली खेलकुद क्षेत्रमा भएको बेथिति हटाउन प्रयास गर्नुभएको थियो । तर, छोटो समय हुँदा उहाँले सोचेजति काम गर्न सक्नुभएन ।

उहाँको राजनीतिक प्रवेश २०७४ सालमा विवेकशील साझा पार्टीबाट भएको हो । उहाँ साझा पार्टीबाटै वागमती प्रदेशसभा सदस्य हुनुभयो । उहाँले वाणिज्य तथा व्यापार प्रशासनमा स्नातकसम्म अध्ययन गर्नुभएको छ । यसै गरी उहाँ व्यवसायमा पनि लाग्नुभएको छ ।

सोविता गौतम
कानुनमन्त्री

नेपालकी एक युवा तथा उदीयमान राजनीतिज्ञ हुनुहुन्छ । जो हाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका रूपमा हुुनुभएको छ । उहाँको जन्म सन् १९९५ मा दोलखा जिल्लामा भएको हो । सामान्य पारिवारिक पृष्ठभूमिबाट अघि बढेकी गौतमले प्रारम्भिक शिक्षा सरकारी विद्यालयबाट हासिल गर्नुभएको थियो । पछि उहाँले कानुन विषयमा उच्च शिक्षा हासिल गर्दै वकिलका रूपमा आफ्नो करियर सुरु गर्नुभएको हो ।

राजनीतिमा प्रवेशअघि उहाँ युवा अभियन्ता तथा सञ्चारकर्मीका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँले नेपाल टेलिभिजनमा ‘स्वास्थ्य सरोकार’ कार्यक्रम सञ्चालन गर्नुभएको थियो, जसले सामाजिक मुद्दामा जनचेतना फैलाउन सहयोग पु¥यायो । गौतम राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक केन्द्रीय सदस्य हुनुहुन्छ ।

शिशिर खनाल
परराष्ट्र मन्त्री

३० डिसेम्बर १९७८ मा काठमाडौंमा जन्मनुभएका तथा तनहुँ पुख्र्यौली थलो भएका शिशिर खनाल हाल ४७ वर्षका अनुभवी नेता तथा वर्तमान परराष्ट्रमन्त्री हुनुहुन्छ । राजनीतिमा प्रवेश गर्नुअघि उहाँ ‘टिच फर नेपाल’का संस्थापकका रूपमा सार्वजनिक शिक्षा सुधार अभियानमा सक्रिय रहँदै सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ विस्कोन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा र ब्रिजपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गर्नुभएको उहाँको शैक्षिक पृष्ठभूमि कूटनीतिक क्षेत्रमा उपयोगी मानिन्छ । विगतमा श्रीलङ्का, नेपाल र अमेरिकामा सञ्चालित सर्वोदय श्रमदान अभियानमार्फत पुनःनिर्माण तथा सामाजिक सेवामा उहाँको सक्रिय सहभागिता रह्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुखका रूपमा उहाँले पार्टीभित्र नीतिगत तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा भूमिका खेल्दै आउनुभएको छ । काठमाडौं क्षेत्र नं ६ बाट दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्य निर्वाचित उहाँ यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रूपमा छोटो अवधि कार्यसम्पादनको अनुभवसमेत बटुलिसक्नुभएको छ । तुलसीपुर उपमहानगरपालिकाको नीतिशालामा सल्लाहकारका रूपमा पनि योगदान दिनुभएका खनालको विशेषज्ञता नीति निर्माण, शिक्षा सुधार र अन्तर्राष्ट्रिय सम्बन्ध व्यवस्थापनमा केन्द्रित रहेको देखिन्छ ।



विक्रम तिमल्सिना
सूचना तथा सञ्चारमन्त्री

बालेन सरकारमा सूचना तथा सञ्चारमन्त्री नियुक्त विक्रम तिमल्सिना नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो । पञ्चकन्या गाउँपालिका बानियाटारका ४३ वर्षीय तिमिल्सिनाले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयको स्कुल अफ गभर्मेन्ट एन्ड इन्टरनेसनल रिलेसनबाट विद्यावारिधि (पीएचडी) गर्नुभएको थियो । उहाँले राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गर्नुभएको हो ।

यसै गरी तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएको थियो । उहाँले पछिल्लो समय त्रिविको मानविकी संकायअन्तर्गत सुशासन तथा भ्रष्टाचार निवारण शिक्षामा पनि अध्यापन गराउनुभएको थियो । एसियन इन्स्टिच्युट फर एड्भान्स्ड रिसर्चमा अध्यक्ष तथा अनुसन्धान फेलोका रूपमा काम गरेको उहाँसँग अनुभव रहेको छ । उहाँले यसबाहेक एफए रेडियो सगरमाथामा सञ्चारकर्मीका रूपमा काम गर्नुभएको थियो ।



दीपक साह
श्रममन्त्री

२०४७ साल चैत १० गते महोत्तरीको ग्रामीण परिवेश (हाल महोत्तरी गाउँपालिका) मा जन्मनुभएका दीपक साह हाल श्रममन्त्रीका रूपमा एक दक्ष तथा अनुभवी नेता हुनुहुन्छ । बाल्यकालदेखि नै मधेस क्षेत्रको सामाजिक, आर्थिक र स्वास्थ्य अवस्थालाई नजिकबाट अनुभूति गर्नुभएको उहाँले त्यसैलाई आफ्नो प्रेरणाको आधार बनाउनुभयो ।

इन्स्टिच्युट अफ मेडिसिनबाट चिकित्सा शिक्षा सुरु गरी दृष्टि विशेषज्ञका रूपमा करिअर प्रारम्भ गर्नुभएका साहले जनस्वास्थ्यमा स्नातकोत्तर तथा लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनबाट उच्च शिक्षा हासिल गर्नुभएको छ । विश्व स्वास्थ्य संगठन र एफएचआई ३६० जस्ता अन्तर्राष्ट्रिय संस्थामा काम गर्दै उहाँले स्वास्थ्य प्रणाली सुधार, नीति निर्माण तथा विपन्न वर्गसम्म सेवा पहुँच विस्तारमा महत्वपूर्ण योगदान दिनुभएको छ ।

ग्लोबल हेल्थ र विकास क्षेत्रमा हासिल अनुभव उहाँको प्रमुख विशेषज्ञता हो । राजनीतिमा प्रवेशपछि उहाँले श्रम, रोजगारी र सामाजिक सुरक्षा सम्बन्धी नीतिमा सुधार ल्याउने, श्रमिकको अधिकार सुनिश्चित गर्ने तथा वैदेशिक रोजगारी व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्दै आउनुभएको छ । सामाजिक सेवाप्रति समर्पित उहाँले स्वास्थ्य र विकासका क्षेत्रमा गरेको दीर्घकालीन योगदानकै आधारमा प्रभावशाली जनप्रतिनिधि र नीतिनिर्माताको रूपमा आफूलाई स्थापित गर्न सफल हुनुभएको छ ।


सस्मित पोखरेल
शिक्षा÷युवा तथा खेलकुदमन्त्री

काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएका सस्मित पोखरेल शिक्षा, युवा तथा खेलकुदमन्त्री बन्नुभएको छ । पोखरेलले तीन दिग्गज उम्मेदवार प्रदीप पौडेल, ईश्वर पोखरेल र कमल थापालाई पराजित गर्नुभएको थियो । २९ वर्षीय पोखरेलले कानुन तथा व्यवस्थापनमा स्नातक गर्नुभएको छ । हाल उहाँ त्रिभुवन विश्वविद्यालयमा नीति, सुशासन तथा भ्रष्टाचार निवारण विषयमा स्नातकोत्तर गरिरहनुभएको छ ।

पोखरेलले २०७९ को प्रतिनिधि निर्वाचनमा प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । तर, उहाँमात्र १०५२ मत प्राप्त गरेर पराजित हुनुभएको थियो । प्रदेशसभाको निर्वाचनपछि उहाँले काठमाडौं महानगरपालिकामा बालेन शाहको टिममा सहरी योजनासम्बन्धी सहायक विज्ञका रूपमा काम गर्नुभयो । महानगरमा हुँदा पोखरेलले शिक्षासम्बन्धी नीति निर्माणमा पनि काम गर्नुभयो । काठमाडौं महानगरले दिँदै आएको छात्रवृत्ति कार्यक्रममा पनि उहाँको योगदान रहेको छ ।



खडकराज (गनेश) पौडेल
पर्यटन तथा संस्कृतिमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की क्षेत्र नम्बर १ बाट निर्वाचन भएका गनेश पौडेलले बालेन सरकारमा पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मा प्राप्त गर्नुभएको छ । पोखराको मझेरीपाटनका बासिन्दा ४३ वर्षीय पौडेलले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएको छ ।

नेपाली साहित्य जगतमा उहाँका पैताला र मुसा मानुस दुई कृति रहेका छन् ।पौडेल २०७९ सालमै राजनीतिक क्षेत्रमा लाग्नुभएको थियो । उहाँले स्थानीय तहको निर्वाचनमा पोखरा महानगरको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँको लौरो चिह्न भए पनि केवल ३ हजार ३० मत ल्याउनुभएको थियो । यसपालिको प्रतिनिधिसभाको निर्वाचनमा भने उहाँले ३९ हजार ८ सय ८३ मत ल्याउनुभयो ।



गीता चौधरी
कृषिमन्त्री

२०४६ साल कार्तिक १३ गते सुदूरपश्चिम प्रदेश, कञ्चनपुरको कृष्णपुर–६ मा जन्म भएको हो । उहाँ नेपालकी एक उदीयमान महिला राजनीतिज्ञ हुनुहुन्छ । उहाँ एड्भोकेट एक्टिभिस्ट हुनुहुन्छ । सुरङ्गा नगरपालिकाकी मेयर गीता चौधरी एक थारू महिला नेतृ हुनुहुन्छ । जसले लिङ्ग र जातिका आधारमा हुने भेदभाव झेलेर सफलता प्राप्त गर्नुभएको छ ।

उहाँले घर र विद्यालयमा भेदभाव भोगे पनि हार नमानी मेयर बन्न सफल हुनुभयो । बाल्यकालदेखि नै कृषि, श्रम र समुदायसँग जोडिएको जीवनशैलीले उहाँको सोच र नेतृत्व क्षमतामा गहिरो प्रभाव पारेको देखिन्छ । उहाँले स्थानीय विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरी पछि उच्च शिक्षा पूरा गर्नुभएको र सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय हुनुभयो ।



निशा मेहता
स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री

निशा मेहताले स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्रीका रूपमा शुक्रवार शपथ लिनुभएको छ । उहाँ पेसागत रूपमा प्रशिक्षित नर्स हुनुहुन्छ र स्वास्थ्य सेवामा लामो अनुभवसहित राजनीतिमा प्रवेश गर्नुभएको हो । मेहता २०४४ साल साउन २२ गते इनरुवा, सुनसरीमा जन्मिनुभएको हो । बाल्यकालदेखि नै उहाँ सामाजिक सेवा र स्वास्थ्य क्षेत्रमा रुचि राख्नुहुन्थ्यो र स्वास्थ्यसम्बन्धी अध्ययनमा अग्रसर हुनुभयो ।

मेहताले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गर्नुभएको छ र त्यसपछि नेपाल फर्केर विराट टिचिङ हस्पिटलमा सेवा दिनुभएको थियो । जहाँ उहाँले स्वास्थ्य सेवा वितरण, व्यवस्थापन र प्रणालीगत चुनौतीहरू अनुभव गर्नुभयो ।



प्रतिभा रावल
सामान्य प्रशासनमन्त्री

प्रतिभा रावल नेपालकी एक सक्रिय महिला राजनीतिज्ञ हुनुहुन्छ । जो हाल फेडरल अफेयर्स तथा सामान्य प्रशासन मन्त्री र प्रतिनिधिसभा सदस्यको रूपमा पद वहाली गरिसक्नुभएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सूचीमार्फत प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो ।

उहाँको जन्म कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरमा भएको हो । बाल्यकालमा पाँच वर्षकै उमेरमा बाबुको निधन भएपछि आमा माया रावलले संघर्ष गर्दै उहाँलाई हुर्काउनुभयो । उहाँले एसएलसीसम्मको शिक्षा स्थानीय विद्यालयबाट पूरा गरी भारतको चेन्नाईबाट स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभयो । उहाँले सुदूरपश्चिम प्रदेशको विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।



सीता वादी
महिला, बालबालिका मन्त्री

सीता वादी कर्णाली नदी किनारको एक भूमिहीन वादी परिवारमा जन्मिनुभएको हो । उहाँले गरिबी, अभाव र सामाजिक बहिष्करणको सामना गर्दै बाल्यकाल पार गर्नुभएको छ र पछि वादी समुदायको हक अधिकारका लागि आन्दोलनको प्रमुख अनुहार बन्नुभएको थियो ।

उहाँको जन्म सुदूरपश्चिम क्षेत्रको एक सामान्य तथा आर्थिक रूपमा कमजोर परिवारमा भएको मानिन्छ । बाल्यकालदेखि नै सामाजिक विभेद, गरिबी र अवसरको अभावसँग संघर्ष गर्दै हुर्किनुभएकी वादीले शिक्षा र चेतनाको माध्यमबाट आफ्नो पहिचान बनाउनुभएको हो ।

राजनीतिमा प्रवेशअघि उहाँ सामाजिक अभियन्ता तथा दलित अधिकार, महिला सशक्तीकरण र सामाजिक न्यायका क्षेत्रमा सक्रिय रहनुभएको थियो ।



सुनील लम्साल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री

रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सुनील लम्साल पेसाले इन्जिनियर हुनुहुन्छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलबारीमा २०५२ सालदेखि स्थायी बसोबास गर्दै आएका लम्साल १८ असोज, २०४७ मा स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका बिर्घामा जन्मनुभएको हो ।

विद्यार्थीकालमा एमाले निकट विद्यार्थी संगठनबाट राजनीतिमा संलग्न रहनुभएका लम्साल अनेरास्ववियुकोतर्फबाट स्ववियु सभापतिसमेत निर्वाचित हुनुभएको थियो । प्राविधिक दक्षता, राष्ट्रिय गौरवका पूर्वाधार आयोजनामा काम गरेको अनुभव, सहरी विकास र वातावरण व्यवस्थापनसम्बन्धी अध्ययन–अनुसन्धानमा उहाँको विशेष दख्खल छ । प्राविधिक अध्ययन, राष्ट्रिय परियोजनामा काम गरेको अनुभव, सहरी विकास र वातावरण व्यवस्थापनमा पनि उहाँको विशेष अनुभव छ ।

मन्त्री लम्सालले सिभिल इन्जिनियरिङ विषयमा स्नातक र संरचनात्मक इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ हाल काठमाडौं विश्वविद्यालयमा ‘ठोस फोहोर व्यवस्थापन’ विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ । विकासको स्पष्ट परिणामका लागि मुख्यतया योजना बनाउँदा लागत, समयरेखा, गुणस्तर मापदण्ड र अनुगमन प्रणाली स्पष्ट हुनुपर्ने उहाँको भनाइ छ ।