–१०८ बटुक, १०८ लामा र १६ भिक्षुबाट मंगल वाचन, सिंहदरबारमा २ः१५ बजे पदभार
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सांस्कृतिक भव्यता र आध्यात्मिक ऊर्जाबीच शुक्रवार प्रधानमन्त्री पदमा आरोहण गर्नुहुने कार्यक्रम तय भएको छ ।
चैत १३ गते मध्याह्न १२ः३४ बजे तय गरिएको शुभ साइतमा बालेनले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । शपथ समारोहलाई परम्परा, संस्कृति र राष्ट्रिय एकताको प्रतीकका रूपमा विशेष बनाइएको छ । समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकद्वारा स्वस्ति शान्ति वाचन, र १०८ जना लामाद्वारा मंगल पाठ गरिनेछ । साथै १६ जना भिक्षुबाट अष्टमंगल पाठसमेत हुने कार्यक्रम तय गरिएको छ ।
रास्वपा नेताहरूका अनुसार यस्तो बहुधार्मिक र सांस्कृतिक समावेशी प्रस्तुति नयाँ नेतृत्वप्रति सकारात्मक ऊर्जा प्रवाह गर्नेमात्र होइन, नेपालको सांस्कृतिक विविधता र एकताको सन्देश विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको हो । शपथग्रहणपछि प्रधानमन्त्री बालेनले सोही दिन अपराह्न २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्दै औपचारिक रूपमा कार्यभार सम्हाल्नुहुनेछ ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले झन्डै दुईतिहाइ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो । सोही आधारमा पार्टीले एकल सरकार गठन गर्ने तयारी गरिरहेको छ । स्रोतका अनुसार प्रधानमन्त्री बालेनले शपथकै दिन मन्त्रिपरिषद् विस्तार गर्दै आफ्ना सहकर्मीलाई जिम्मेवारी दिने तयारीसमेत अघि बढाइसक्नुभएको छ ।
नयाँ राजनीतिक अध्यायको उद्घाटनसँगै बालेन नेतृत्वको सरकारप्रति जनअपेक्षा उच्च रहेको छ– सुशासन, पारदर्शी र परिणाममुखी शासनको वाचा अब व्यवहारमा कति रूपान्तरण हुन्छ, त्यो हेर्ने चासो सर्वत्र बढेको छ ।











प्रतिक्रिया